वीरगञ्जमहानगरका दुबै प्रतिस्पर्धीको भर कांग्रेस

अनिल तिवारी

‘एक तरफ कुआ, दुसरा तरफ खाही’ यो भोजपुरी उखान आर्थिक महानगरी वीरगञ्जको चुनावमा धेरैको थेगो बनेको छ। वितृष्णा हुने गरी चुनाव अगाडि भएको दलीय टुटफुट,  पार्टी प्रवेश र गठबन्धनको नाटकपछि एकजना पनि राम्रो उम्मेदवार नपरेकाले होला अहिले यहाँका हरेक चियापसल र पान दोकानमा यही उखान प्रयोग गरिन्छ।

चुनावको मुखमा दल चहार्दै हिँडेका दलबदलुहरू र आफ्ना उम्मेदवार नभएकाले नवप्रवेशीलाई नै उम्मेदवार बनाएका दलहरूका कारण  राजनीतिमा अलिकति पनि नैतिकता बाँकी नरहेको  यहाँका बुद्धिजीवीहरू बताउँछन्। ठाकुर राम बहुमुखी क्याम्पसका प्रध्यापक ललन द्विवेदीको भनाइमा आस्था र सिद्धान्तका कुरा नेता र दल दुबैमा ह्रास भएको छ। उहाँ भन्नुहुन्छ- ‘स्थानीय निकायमा विकास, समृद्धिको प्रतिपर्धा भन्दा पनि जसरी हुन्छ चुनाव जित्ने होड छ, जुन लोकतन्त्रको लागस राम्रो सूचक होइन।’ यतिबेला चुनावी प्रचार प्रसार उत्कर्षमा छ,  उम्मेदवारहरूलाई भ्याई नभ्याई छ। मेयर, उपमेयरदेखि वडा अध्यक्ष र सदस्यहरू घर दैलोमा व्यस्त छन्। यसक्रममा निर्वाचन आचारसंहिताको व्यापक उलङ्घन भएको छ। कसैले प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेका छन् त कसैले भारतीय सवारी साधनको प्रयोग ।  राजनीतिक दलहरू सकेसम्म धेरै उलङ्घन गर्ने होडमा देखिन्छन्,  निर्वाचन आयोग त झन् आँखा चिम्लिएर बसेझैं देखिन्छ । फलत: चर्को डिजे र भोजपुरी गीतको धुनमा बनाइएको प्रचार प्रसारले महानगरवासी आजित भएका छन्।

अधिवक्ता एंव पत्रकार रामनारायण कुर्मी सामाजिक सञ्जालमा ध्वनि प्रदूषणको बिरोध गर्दै लेख्नुहुन्छ-  ‘चर्को आवाजमा लाउड स्पीकर बजाउँदै भोट माग्ने उम्मेदवारलाई मत नदिने मेरो बवचार।’ उहाँको स्टाटसमा प्रतिक्रिया दिदै प्रदीप साह लेख्नुहुन्छ- ‘चर्को लाउड स्पीकर बजाएर भोट माग्ने काम गलत भइरहेको छ,  सिडिओ ले यसलाई तुरुन्तै रोक्नु पर्छ ’।

यता पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले ध्वनि प्रदूषण गरेका दल वा उमेदवार विरुद्ध कसैले लिखित जाहेरी दिए प्रहरीले तुरुन्तै मुद्दा चलाइ दिने बताए।
वीरगञ्जमा अहिले एक लाख २४ हजार ६४७ मतदाता छन्। अघिल्लो चुनावमा संघीय समाजवादी फोरमबाट चुनाव लडेका सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी हुनुभएको थियो। त्यतिबेलाको राष्ट्रिय जनता पार्टिबाट चुनाव लडेका राजेशमानले १२ हजार १६५ मत पाउनुभएको थियो।
चुनावी सरगर्मी बढेसँगै  मुख्यत जसपाका नेता राजेशमान सिंह र निवर्तमान मेयर विजयकुमार सरावगीको बीचको चुनावी जोड घटाउ बढेको छ। यतिबेला राजेशमानका सारथी मधेश आन्दोलनका प्रभावशाली नेता जसपाका प्रदीप यादव बन्नुभएको छ। यसअघि २०७४ को निर्वाचनमा यादवकै सहयोगमा सरावगीको विजययात्रा सहज भएको थियो।  राजेशमानको साथमा यतिबेला नेपाली कांग्रेसका अजय द्विवेदी पनि हुनुहुन्छ जो अघिल्लो चुनावमा १७ हजार १९७ मत पाएर दोस्रो हुनुभएको थियो। यो मत राजेशमानका लागि निर्णायक हुने अपेक्षा जसपाको छ, भने बिजय सरावगी पनि कांग्रेसी मतलाई आफ्नो पक्षमा पार्न सबै प्रयोगमा लागेका छन्।
परिणम स्वरूप निर्वाचनमा दुबै प्रतिस्पर्धीको  भर  कांग्रेस बनेको छ। सत्ताधारी गठबन्धनको तर्फबाट राजपाको भागबन्डामा परेको वीरगञ्ज महानगरमा कांग्रेसी नेताहरूलाई समेट्नमा राजपाको चुनावी रणनीति केन्द्रित छ र सहभागिता देखिए पनि कांग्रेसीजनको अत्मीयता  राजपासँग खासै  छैन। विगतका चुनावमा आफ्नैसँग आन्तर्घातको खेलमा खप्पिस रहेका कांग्रेसीजन प्रति पनि पूर्व मेयर विजय सरावगी त्यत्ति नै आशावादी भएको एमालेका कार्यकर्ता बताउँछन्। चुनावको अन्तिम समयमा साम, दाम सबै प्रयोगको लागि सरावगीले १६ करोडको बजेट पहिला नै छुट्याइसकेको चर्चा छ।


आचारसंहिताको व्यापक उलङ्घन भएको छ। कसैले प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेका छन् त कसैले भारतीय सवारी साधनको प्रयोग ।  राजनीतिक दलहरू सकेसम्म धेरै उलङ्घन गर्ने होडमा देखिन्छन्,  निर्वाचन आयोग त झन् आँखा चिम्लिएर बसेझैं देखिन्छ । फलत: चर्को डिजे र भोजपुरी गीतको धुनमा बनाइएको प्रचार प्रसारले महानगरवासी आजित भएका छन्।


स्थानीय चुनाव अगावै सम्पन्न भएको नेपाली कांग्रेसको जिल्ला सभापतिको चुनावमा देखिएको संस्थापन र इतर पक्षबीचको फाटो मिलाउन अझै सकिएको छैन। नेका जिल्ला समितिको विस्तार, उपमेयर उम्मेदवारीदेखि जिल्लाभरिको टिकट वितरणमा संस्थापन पक्षले इतरपक्षलाई भित्तैसम्म पुर्याएको कारणले पनि मेयर सरावगीलाई बल पुर्याएको छ। वीरगञ्ज महानगरपालिकामा उपमेयरसहित प्रतिपक्षमा रहेको कांग्रेसको खासै प्रतिद्वन्द्वी भूमिका देखिएन। विगतका साढे चार वर्ष मेयर सरावगीको ‘मिलिजुली बसौं, बाँडिचुडी विकास गरौ’ नीतिलाई कांग्रेसले मलजल गर्दै आएको छ।

नेपाली कांग्रेसका नेतासँग आफ्नो कुरा भइरहेको बताउनुहुन्छ मेयर सरावगी। सरावगी भन्नुहुन्छ- ‘वीरगञ्जको भविष्यको कुरा छ, म त यो चुनावसम्म मात्रै हो, गुन्डाराज भयो भने त्यसले आउने चुनावान कांग्रेसलाई बिताउने छ ’। सरावगी स्वास्थ्य,  शिक्षा,  रोजगारी,  पर्यटन विकासलगायतका मुद्दा पूरा गर्न बाँकी नै रहेकोले चुनावी परिणाम आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन्। सरावगीलाई राजनीतिका धाकड खेलाडी पूर्वमेयर बिमल श्रीवास्तवको पनि साथ छ। श्रीवास्तव लोसपाको तर्फबाट क्षेत्र नम्बर २ का सांसद हुनुहुन्छ।
शनिबार वीरगञ्जमा गठबन्धनले पाँचै दलका  वडा अध्यक्षहरूलाई  साझा उम्मेदवार राजेशमान सिंह र ईम्तीयाज आलमलाई जिताउन संकल्प गराएको छ। गठबन्धन आबद्ध दलहरू एक अर्का प्रति ईमान्दार नरहेको अरोपलाई चिर्न गठबन्धनले वडा अध्यक्षहरूलाई मित्रवत प्रतिस्पर्धा गर्दै मेयर र उपमेयरमा साझा उम्मेदवारलाई जिताउने संकल्प गराएको छ। मेयर र  उपमेयरमा  गठबन्धनको साझा उम्मेदवारलाई मत माग्ने प्रतिबद्धता गराइएको नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताउनु भयो।

वडा अध्यक्षहरूलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गठबन्धनका कारण एमालेको हैकम प्रवृत्तिले घुँडा टेकेको र बहुमतको सरकारसहित प्रदेशको सरकारबाट पनि हात धुनु परेको बताउनु भयो। नेता रमेश रिजालले भन्नु भयो- ‘तपाईहरूलाई पार्टीले उमेदवार बनाएको हो,  त्यही पार्टीको केन्द्रीय समितिले गठबन्धनलाई जिताउने निर्णय गरेको छ ,  दायाँबायाँ नगर्नुहोला।’ ‘कांग्रेस बेइमान हो भन्ने आरोप नलागोस्’- उनको भनाइ थियो।
सङ्घीय सांसद प्रदीप यादवले यो लडाईं विजय सरावगी र राजेशमान सिंह तथा ईम्तीयाज आलमको नभई अधिनायकवाद, शान्ति र संविधान बीचको लडाईं भएको बताउनु भयो। ‘गठबन्धन हार्नु भनेको शान्ति र संविधान पक्षधरहरू हार्नु हो’ सांसद यादवको तर्क छ।
पर्सा कांग्रेसलाई केन्द्रले कुनै पनि हालतमा गठबन्धनको उम्मेदवारलाई जिताएर पठाउन निर्देश दिएका कारण राजेशमानलाई शत प्रतिशत सहयोग हुने आशामा राजपा छ। नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री गठबन्धनका दुबै मेयर र उपमेयरका उम्मेदवारको विजय निश्चित भएको दाबी गर्छन्। उनले पार्टी भित्र जति अन्तरद्वन्द्व भएपनि आफूहरूले मिलाइरहेको बताउँदै भन्छन्, ‘सबै वडाअध्यक्षका उम्मेदवारलाई मेयर र उपमेयरमा राजेशमानसिंह र इम्तियाज आलमलाई भोट दिन निर्देश गरिसकैका छौं, धेरै मतको अन्तर छ, दुइ चार प्रतिशत यताउति गए पनि खासै फरक पर्दैन।’ आउने समयमा सबै कांग्रेसी नेताहरू राजेशमान सहितका गठबन्धनका उम्मेदवारलाई जिताउन वडा वडामा लाग्ने सभापति सिंहले बताए । पार्टीको अन्तरिक विवाद उत्कर्षमा भए पनि आफूहरूले गठबन्धनकै उम्मेदवारलाई सहयोग गरिरहेको पूर्व सभापति अजय द्विवेदी दावी गर्नुहुन्छ। राजेशमानसिंहलाई जिताउन गठबन्धनको सबै कार्यक्रममा आफू गएको द्विवेदीले बताउँदै भने- गठबन्धनलाई अन्तरर्घातको कुरा मात्र हल्ला हो, हामी सबै चुनावमा होमिएका छौ’।

तस्बिरः आचारस‌ंहिता विपरीतका प्रचार सामाग्री हटाउँदै प्रहरी।  

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
वीरगञ्जमहानगरका दुबै प्रतिस्पर्धीको भर कांग्रेस
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link