चित्रकलामा स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केपको भूमिका अत्यन्त ठूलो हुन्छ। सामान्यत: कलाको परिभाषाभित्र रहेर हेर्दा यसमा यिनको भूमिका गौंण देखिन्छ तर कलामा यसको शिल्पदक्षता र मौलिक सौन्दर्यको उपस्थिति अनिवार्य हुनका लागि कुनै पनि विधाका कलाकारमा स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केप गर्न सक्ने हैसियत वा क्षमता हुनु अति आवश्यक हुन्छ। त्यसमध्ये पनि स्टिललाइफको अध्ययन त झन् बढी आवश्यक हुन्छ।
झट्ट हेर्दा आधुनिक कलारचनामा यिनको केही भूमिका देखिँदैन। यद्यपि कुनै पनि कलाको जग भन्नु नै स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केपमा सबल दक्षता हुनु हो। त्यही दक्षताबाट नै कलामा आफ्नो अलग्गै कलाशैली देखाउन सकिन्छ। अन्यथा कलाले सही अर्थ वा कलाको वास्तविक परिभाषा दिन सक्दैन। जसरी एउटा घरका निम्ति बलियो जग हुन जति आवश्यक हुन्छ त्यसरी नै कलामा प्रभावशाली सिर्जना प्रस्तुत गर्न जगकै जत्तिको काम स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केपबाट सम्भव हुन सक्छ। त्यसैले चित्रकलाको आधारस्तम्भ नै स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केप हो।
नेपाली कलामा स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केप विधामा पृथक पहिचान बनाइसकेका अनेकौं कलाकारहरू छन्। प्राय: कलाकारहरू यी तीनवटै विधामा दक्ष भएकै कारण सिर्जनात्मक कलाको फाँटमा हिमाली दृश्य, देवीदेवता, मठमन्दिर, फूल, चरा, जनजीवन आदि विविध शृङ्खलाहरूमा कलाकर्म गरी स्थापित भएका छन्। यसका साथै कतिपय कलाकारहरू ‘पोट्रेट’ मै पोख्त छन्। कोही ‘ल्याण्डस्केप’ मा आफ्नो नाम, दाम र कामले प्रसिद्ध छन्। यस आलेखमा स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केप के हो र कलामा यसको भूमिका के हुन्छ भन्ने विषय–सन्दर्भमाथि केही सङ्क्षिप्त जानकारी दिने कोसिस गरिन्छ।
स्टिललाइफ: कलामा हात बसाउने प्रारम्भिक ‘कखरा’ वा ‘सारेगम’ नै ‘स्टिललाइफ स्टडी’ हो। यसमा पारङ्गत नभई कलामा मिठास पस्किन सकिँदैन। ‘स्टिललाइफ’ मा स्याउ, सुन्तला, गिलास, फूल, फूलदानी आदि जस्ता नि:स्प्राण वा निर्जीव वस्तुको चित्रण गरिन्छ। एकप्रकारले मृत वस्तुहरूको स्वरूप दर्शाउन ‘स्टिललाइफ पेन्टिङ’ को प्रयोग हुन थालेको हो। कला सिकाइको प्रारम्भिक चरणको काम नै यही हो। यसबाट कलाकारमा छायाँ र प्रकाश तथा ज्यामितीय आयामहरूका विविध पक्षमा रेखा कोर्न तथा रङ भर्न सक्ने क्षमताको विकास हुन्छ।
कैयौं महिनासम्मको निरन्तरको अभ्यासपश्चात् कलामा पनि नयाँपन स्थापित हुनुका साथै कलारचनाको प्राथमिक चरणको शिक्षा पर्याप्त हुन सक्छ। फलत: कला पारखीहरूले कलात्मक सुन्दरताको स्वाद पनि चाख्न पाउँछन्। यसमा बलियो ‘ड्रइङ’, ‘लाइट एण्ड सेड’ र ‘कलर’ को अहम् भूमिका हुन्छ।
पोट्रेट: कुनै व्यक्तिलाई कलाकारको सामुन्ने ‘मोडेल’ को रूपमा राखी उसको अनुहार (प्राय: अर्धकद्) क्यानभासमा उतार्ने कार्य नै ‘पोट्रेट’, ‘व्यक्तिचित्र’ वा ‘मुहारचित्र’ हो। चित्रकलाका अनेक विधाहरूमध्ये ‘पोट्रेट’ चुनौतीपूर्ण विधा हो। यसमा मोडेल बस्ने व्यक्तिको ‘क्यारेक्टर’ हुबहु आउनै पर्छ। वास्तवमा ‘पोट्रेट’ बनाउन जान्नेलाई सक्षम कलाकार मानिन्छ। ‘स्टिललाइफ’ मा जस्तै यसमा पनि सबल ‘ड्रइङ’ वा ‘स्केच’, ‘लाइट एण्ड सेड’ र ‘कलर’ को सर्वोपरि भूमिका हुन्छ।
‘पोट्रेट’ मा कलाकारको एकाग्रता अति नै जरुरी हुन्छ। कलारचनामा पनि राम्रै दख्खल चाहिन्छ। किनभने ‘पोट्रेट’ रचना ‘लाइभ’ बनाइन्छ। ‘कलर’, ‘स्केच’ र ‘इफेक्ट’ को सम्बन्धलाई पनि त्यत्तिकै कुशलताका साथ जोड्न सक्नुपर्छ। ‘मोडल’ बसेको व्यक्तिको जीवन्त चित्र बनाउन सकिएन भने त्यो ‘पोट्रेट’ नै हुँदैन ‘पोट्रेट’ को महत्त्व नै रहँदैन।
जलरङ, तेलरङ, एक्रेलिक, पेष्टल, चारकोल, पेन एण्ड इन्क, पेन्सिल आदि विभिन्न माध्यमबाट ‘पोट्रेट’ बनाइन्छ। हामीकहाँ ‘पोट्रेट’ अर्थात् ‘मुहारचित्र’ बनाउने काम सौखिन व्यक्तिहरूले मात्र गरेको पाइन्छ। व्यक्तिगत रूचि र रहरले बनाउने कुरा यौटा भयो तर एउटै वा यही विधामा लागेर नाम र दाम कमाउने कलाकार पनि धेरै छैनन्। मागअनुसार मात्रै कलाकारहरूले ‘मुहारचित्र’ बनाउने गरिएको पाइन्छ।
ल्याण्डस्केप: आँखा अगाडिको दृश्यरूपलाई कागज वा क्यानभासमा उतार्ने कलाकारिता ‘ल्याण्डस्केप’ अर्थात् दृश्यचित्र हो। यसमा सर्वप्रथम आफूले बनाउने स्थान वा प्राकृतिक परिवेशको चयन महŒवपूर्ण हुन्छ। त्यसका लागि एउटा कुशल चित्रकारले प्रकृतिको सही पहिचान गर्न सक्नुपर्छ। त्यसपछि त्यसलाई आफ्नो क्यानभासमा कलात्मक सौन्दर्यले भरिपूर्ण आकर्षक चित्ररचना तयार पारिन्छ। यसरी ‘अन दि स्पट’ चित्रमा प्रकृतिको वास्तविक रङका ताजा झलक प्रत्यक्ष देखेर मन्त्रमुग्ध हुन सकिन्छ। वास्तवमा प्रकृतिकै सुगन्ध कलामा आस्वादन गराउन सक्नु कलाकारको खुबीको कुरा हो।
हुन त, पाश्चात्य कलाको सिद्धान्तअनुसार पनि दृश्यचित्र बनाउने चित्रकारहरूले प्रकृतिको नजिक पुगेर प्रकृतिको गहिरो अध्ययन गर्नु जरुरी हुन्छ। भनिरहनु पर्दैन कलामा जति पनि रङका प्रकारहरू छन् ती सबै प्रकृतिमै हुन्छन्। प्रकृति नै रङको भण्डार हो।
ल्याण्डस्केपका लागि स्थानको छनौटपश्चात् विषयवस्तुलाई कसरी प्रस्तुत गर्ने ? जस्तै ‘भर्टिकल’ वा ‘होराइजेन्टल’ अर्थात् ठाडो वा तेर्सो कुन रूपमा राखेर बनाउने भन्ने कुरा पनि मुख्य हुन्छ। त्यसैगरी चित्रको केन्द्रमा कुन वस्तुलाई राखेर दर्शकका आँखालाई त्यसमा केन्द्रित गरी क्रमश: अन्य दृश्यतिर आँखा र मन घुमाइरहन सकिन्छ भन्ने कुरामा अत्यन्त सचेत रही चित्रसिर्जना गरिन्छ। प्रकृतिको रङलाई आत्मसात् गरी पारङ्गत बनिसकेपछि कलाकारहरूले परिकल्पनाका आधारमा र आफ्नो शिल्प–दक्षताका कारण जस्तोसुकै विषयवस्तुलाई पनि सजिलै बनाउन सक्छन्।
प्रकृतिमा छरिएका दृश्य र सुन्दरताहरू तथा रङका अनेक स्वरूपहरूलाई कलाकारले कुनै पनि माध्यमबाट तिनलाई क्यानभासमा एकीकृत गरी सुन्दर अनि सन्तुलित संयोजन गर्न सक्छन्। जुन चित्रले प्रकृतिको विराट सौन्दर्यसँग प्रत्येक कलापारखीलाई साक्षात्कार गराउँछन्। यस्ता चित्रमा लयात्मक गति, समानुपातिक अनुपात र सन्तुलित संरचना तथा सुरताल मिलाएर संयोजन गरिएको हुन्छ। यसरी सिर्जना गरिएका दृश्यचित्रमा कलात्मक पक्षका साथै सौन्दर्यको मिठास सबैले अनुभूति गर्न सक्छन्। वास्तवमा कुनै पनि दर्शकलाई प्रथमत: सुन्दरताको अनुभूति सम्प्रेषण गराउन सक्नु उत्कृष्ट कलाकारिता हो। दृश्यचित्रले त्यस किसिमको भावबोध गराउन सक्नु दृश्यचित्र रचनाको खास विशेषता पनि हो। प्राय: जलरङ र एक्रेलिक रङको माध्यमबाट दृश्यचित्रहरू रचना गर्ने गरिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता