गणेश, सम्पदा र मण्डल शृङ्खलामा वत्सगोपालको अविच्छिन्न अभिव्यक्ति

काठमाडौंको माइतिघर चोकमा निर्मित बृहत् आकारको मौलिक एवम् परम्परागत नेपाली शैलीमा आधारित ‘मण्डल’ को प्रारूप (प्रोटोटाइप डिजाइन) कलाकार वत्सगोपालले नै बनाउनुभएको हो ।

ज्ञानेन्द्र विवश

नेपाली कलाजगत्मा आध्यात्मिक एवम् नेपाली सांस्कृतिक सम्पदालाई आधुनिक शैलीमा अभिव्यक्त गर्दै आउनुभएका सशक्त सर्जक हुनुहुन्छ– कलाकार वत्सगोपाल वैद्य । उहाँको सर्वाधिक प्रिय सिर्जनाको विषय–शृङ्खला ‘भगवान् गणेश’ हो। यसै शृङ्खलामा उहाँले अनेकौं कलासिर्जना गर्नुभएको छ । उहाँको जन्म वि.सं. २००३ सालमा ललितपुरको सौगलमा भएको हो । उहाँका बुबाआमा श्रीकृष्णगोपाल वैद्य र पूर्णमाया वैद्य हुनुहुन्छ।

पाटन हाइस्कुलबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका उहाँलाई विद्यालय जीवनमा चित्र, साहित्य, नाचगान, सङ्गीत भनेपछि अरू केही चाहिँदैनथ्यो । आफ्नो विगत सम्झिँदै वैद्य भन्नुहुन्छ– “मेरा बाजे र बुबा राजवैद्य हुनुहुन्थ्यो। सानोमा मैले पनि औषधि पिँध्ने, पुरिया पार्नेजस्ता काममा सघाउँथँे । मेरा बुबा म पनि कविराज बनेर औषधिमुलोको काम गरोस् भन्ने चाहनुहुन्थ्यो । अकस्मात् बुबाको निधनले हाम्रो परिवारमा आर्थिक सङ्कट आइपर्‍यो । घरमा कमाउने मान्छे नभएपछि खाने र लाउनेको समस्या बढ्न थाल्यो। यिनै दु:खले मलाई जीवन बुझ्न सिकायो।”

विगतका दिनहरू सम्झिँदै उहाँ अगाडि थप्नुहुन्छ– “म सात कक्षामा पढ्दा बेलुकी सुनाकोठी, चापागाउँसम्म पुगेर प्रौढ कक्षामा पढाउन जान्थें। बिहान औषधि बाँड्ने काम गर्थें। तुलसीमेहर चर्खा प्रचारक महागुठीले मलाई यो काम दिएको थियो। पछि मैले ललित विकासमा पनि पढाउने काम गरें। यी काम गरेर घर खर्चमा सघाउँथें। वि.सं. २०२० सालमा एसएलसी उत्तीर्ण गरी भारत सरकारको छात्रवृत्ति पाएर मुम्बईको सर जे. जे. स्कुल अफ आर्टस्‌मा कलाको उच्च शिक्षा हासिल गर्ने मौका पाएँ ।”

कलाकार वत्सगाेपाल वैद्य

 

वि.सं. २०२८ सालमा भारतको मुम्बईबाट कलाशिक्षा हासिल गर्नुहुने चारजना कलाकार शशी शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्यले ‘स्किब–७१’ नामक कला संस्था स्थापना गर्नुभयो। यसै समूहका माध्यमबाट स्किबका कलाकारले कलागतिविधिको तीव्र लहर ल्याउनुभयो। काठमाडौँलगायत पोखरा र दार्जीलिङसम्म उहाँहरूले कलाप्रदर्शनीको आयोजना गर्नुभयो । वास्तवमा आधुनिक नेपाली कलालाई उत्कर्षमा पुर्‍याउनमा ‘स्किब–७१’ को उल्लेखनीय योगदान छ।

आफ्ना चित्ररचनामा कलाकार वैद्य आध्यात्मिक विषय तथा नेपाली सांस्कृतिक सम्पदालाई अत्यन्त सरलीकृत आकृतिमा अङ्कन गर्नुहुन्छ। सबल संयोजन, माधुर्यपूर्ण रङविन्यास तथा मनमोहक ‘टेक्सचर’ लाई उहाँका शैलीगत विशेषता मान्न सकिन्छ। वास्तवमा उहाँका चित्ररचनाहरू नेपाली सांस्कृतिक परम्पराका ‘न्यारेटिभ्स’ नै हुन् भनेमा अत्युक्ति हुँदैन।

उहाँले गणेशका आकृतिलाई विविध भाव र स्वरूपमा प्रस्तुत गर्दै आउनुभएको छ । उहाँका कुनै गणेश मण्डलभित्र आसीन हुन्छन्, कुनै गणेश हिमालको परिवेशमा देखिन्छन्, कुनै गणेश विविध अलङ्करणसहित नृत्यरत् रहन्छन् । विगत केही वर्ष यतादेखि उहाँले ‘सम्पदा शृङ्खला’ मा कलारचना गर्दै आउनुभएको छ । मूलत: उहाँ तेलरङ र एक्रिलिक माध्यममा काम गर्नुहुन्छ। मिश्रित माध्यममा काम गर्न पनि उहाँ उत्तिकै सिपालु हुनुहुन्छ।

उहाँ ‘प्रिन्टमेकिङ’ विधामा पनि निकै दक्ष हुनुहुन्छ। उहाँका नवीनतम् चित्ररचनामा क्यानभासमा एक्रिलिक रङमाथि कागजमा ‘इम्बोस्ड’ गरिएका विविध प्रतीक चिह्न तथा आकृतिहरू टाँसिएको देख्न सकिन्छ । उहाँको ‘दशअवतार’ शृङ्खलाका चित्ररचनाहरू यसै माध्यममा रचित छन्।

उहाँ भन्नुहुन्छ– “मलाई नेपालमा जत्तिको समृद्ध सांस्कृतिक परम्परा अन्यत्र भए जस्तो लाग्दैन। गणेशका आकृतिले मलाई सधैं लोभ्याउँदै आएको छ । गणेशको स्वरूप नै चाखलाग्दो र अद्भूत छ।”

मौलिक र प्राचीन नेपाली परम्परामा आधारित कृतिहरू सिर्जना गर्ने सशक्त सर्जक वत्सगोपाल वैद्य नै हुनुहुन्छ। उहाँ बराबर तन्त्रका लक्षणयुक्त चित्रहरूको सिर्जनामा संलग्न रहँदै आउनुभएको पाँच दशकभन्दा बढी व्यतीत भइसकेको छ । र, यो शैली वैद्यकै हो भन्ने स्पष्ट र स्थापित पहिचान पनि निर्माण भइसकेको छ।

तान्त्रिक आकारहरू त्रिशूल, शङ्ख, माछा, सूर्य, चन्द्र, स्वस्तिक आदिलाई लाक्षणिक तवरले आफ्नो बेग्लै कलाकारी संसार उहाँले खडा गर्नुभएको छ । जहाँ र जहिले उहाँका कला प्रदर्शित भए, त्यहाँ उहाँ ‘गणेश मण्डला मिथक’ का साथ नेपाली सांस्कृतिक सम्पदा लिएर देखापर्नुहुन्छ । उहाँको विशेषता भनौं या चिनारीको मौलिक छवि गणेशको गरिमालाई गौरवका साथ गति दिनु हो । प्रविधि फेरिए पनि समय बदलिए तापनि उहाँका क्यानभास नवीन ढाँचा र ढङ्गका साथै एउटा प्रयोगधर्मी शिल्पीकै पहिचान स्थायी राख्न उहिलेदेखि अहिलेसम्म सक्षम देखिन्छ।

विधिपूर्वक बनाइएको गणेश चित्रको पूजा गरिने परम्परा छ । हाम्रा वैद्य विधिपूर्वक ‘गणेश’ बनाउने कुशल शिल्पी हुँदै हुनुहुन्छ । उहाँले बनाएका गणेशको पूजा गरिनु पनि ठूलो गौरव र सुखद् सौभाग्यको क्षण हो !


आफ्ना चित्ररचनामा कलाकार वैद्य आध्यात्मिक विषय तथा नेपाली सांस्कृतिक सम्पदालाई अत्यन्त सरलीकृत आकृतिमा अङ्कन गर्नुहुन्छ । सबल संयोजन, माधुर्यपूर्ण रङविन्यास तथा मनमोहक ‘टेक्सचर’ लाई उहाँका शैलीगत विशेषता मान्न सकिन्छ । वास्तवमा उहाँका चित्ररचनाहरू नेपाली सांस्कृतिक परम्पराका ‘न्यारेटिभ्स’ नै हुन् भनेमा अत्युक्ति हुँदैन ।


आफ्नै धुन र ध्याउन्नमा धपेटिँदै उहाँले आफ्नो क्षेत्रमा प्रसिद्धि कमाइ सक्नुभएको छ । प्रशस्त प्रशंसा पाउनुभएको छ । देशबाहिरसम्म उहाँका कलाको ठूलो सम्मान छ । उहाँको नामप्रति श्रद्धा छ । एकोहोरो काम अनि कामप्रतिकै अनुरागले उहाँलाई यी सबै उपलब्धि प्राप्त भएका हुन् । यद्यपि उहाँमा कति पनि घमण्डीपन छैन । बरु उस्तै नरम मिजास अनि हृदयको हार्दिकता छ । कलामा प्रयोग भएका शीतल रङहरूको संयोजन र आध्यात्मिक दर्शनका विम्ब एवम् व्यवहार उहाँसँगको चिनाजानमै झल्किन्छ।

वत्सगोपालमा चरम महत्वाकाङ्क्षा छैन । कलाकारले सरल हुन सक्नुपर्छ र इमान्दारिताको बाटो छोड्नु हुँँदैन तर धेरै व्यावसायिक हुनु हुँदैन भन्ने मान्यता उहाँमा छ । कलाकार वैद्यले लामो समय सरकारी सेवामा रही सूचना विभागको वरिष्ठ कला अधिकृत पदबाट वि.सं. २०५८ सालमा उहाँ सेवा निवृत्त हुनुभयो।

वि.सं. २०२७ सालमा उहाँको पहिलो एकल कलाप्रदर्शनी नाफा ग्यालरी, काठमाडौंमा सम्पन्न भएको थियो । त्यसपछि क्रमश: जे. आर्ट ग्यालरीमा वि.सं. २०४६, २०४८ र २०५० सालमा भएका थिए । वि.सं. २०३८ सालमा बङ्गलादेशको ढाकामा आयोजित ‘पहिलो दक्षिण एसियाली कलाप्रदर्शनी’ मा वैद्यले ‘स्वर्णपदक’ प्राप्त गर्नुभएको थियो । सम्भवत: अन्तर्राष्ट्रिय स्तरको कलाप्रदर्शनीमा ‘स्वर्णपदक’ प्राप्त गरी नेपालको गौरव बढाउने पहिलो नेपाली कलाकार वैद्य नै हुनुहुन्छ।

सिर्जना कन्टेम्पोररी आर्ट ग्यालरी तथा सिर्जना कलेज अफ फाइन आर्टस्को स्थापनामा कलाकार वैद्यको पनि सक्रियता रहेको छ । वि.सं. २०७२–०७६ सालसम्म उहाँले सिर्जना कलेज अफ फाइन आर्टस्को सञ्चालक समितिका अध्यक्षको जिम्मेवारी बहन गर्नुभएको थियो।

काठमाडौंको माइतिघर चोकमा निर्मित बृहत् आकारको मौलिक एवम् परम्परागत नेपाली शैलीमा आधारित ‘मण्डल’ को प्रारूप (प्रोटोटाइप डिजाइन) कलाकार वत्सगोपालले नै बनाउनुभएको हो।

वत्सगोपाल वैद्यले हालसम्म पाउनुभएका प्रमुख पुरस्कार तथा सम्मान यसप्रकार रहेका छन्– प्रथम पुरस्कार, राष्ट्रिय कलाप्रदर्शनी (वि.सं. २०२७); वीरेन्द्र राष्ट्रिय कलापदक (वि.सं. २०३४); गोरखा दक्षिणबाहु चौथा (वि.सं. २०५०); राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०६२); अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ (वि.सं. २०७८)।
(सबै तस्बिर लेखक स्वयम्)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
गणेश, सम्पदा र मण्डल शृङ्खलामा वत्सगोपालको अविच्छिन्न अभिव्यक्ति
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link