रङ्गपट (क्यानभास) मा ‘सत्यम् शिवम् सुन्दरम्’ अर्थात् शिव पुराणका पौराणिक मिथकहरूलाई उतारिएको छ। चित्रले आध्यात्मिक भावनाका साथै आधुनिकतासँग पनि उत्तिकै सुमधुर सम्बन्धको अपेक्षा राख्छ। कलाकार सुरेशकुमार द्य:लाको भदौ ६ गतेदेखि १७ गतेसम्म नेपाल कला परिषद्मा जारी रहने कलाप्रदर्शनीमा यी कुराको अनुभव कलापारखी दर्शकले सहजै गर्न सक्छन्। कलाले शीर्षकअनुसारको मर्म र भावनालाई प्रतिविम्बित गर्छन्। यसअघि चारकोल माध्यममा ‘पोट्रेट’ रचनामा कलाकार द्य:ला परिचित हुनुहुन्छ। विभिन्न जातीय अनुहार र विशिष्ठ व्यक्तिहरूको ‘पोट्रेट’ प्रदर्शनीसमेत उहाँले गरिसक्नुभएको छ। आफ्ना बुबा कलाकार बाबुराजा द्य:ला ‘बारा’ लाई कला गुरू मान्नुहुने कलाकारले यसपटकको कलाकर्ममा पृथक पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ।
दुई दशक लामो कलासाधना र अध्ययनबाट आफूले भगवान् शिवका बहुआयामिक पक्षमा आधारित यस किसिमको कलाकृति सिर्जना गरेको कलाकार सुरेशकुमार द्य:ला बताउनुहुन्छ। शिवभक्त कलाकारको शिवप्रतिको आकर्षण सानै उमेरदेखि थियो। शिवका अनेक कथा, किंवदन्तीका साथै शिवका अनेकौं रूपहरूबाट आफू सानैमा प्रभावित हुँदै आएको उहाँ बताउनुहुन्छ। विगतका तिनै प्रभावबाट आफूले शिव पुराणको गम्भीर अध्ययन गरी चित्ररचना गरेको बताउँदै उहाँ भन्नुहुन्छ– “मेरा यी चित्रमा रङ, चरित्र र संरचनाको संयोजन छ। मेरा यी चित्रहरू ‘सत्यम् शिवम् सुन्दरम्’ को एक महाकाव्य हुन् र मानव जीवनको यही तीन मूल्य हुन्। जुन मूल्य सत्य हो, त्यही शिव हो र त्यही सुन्दर हो।”
भगवान् शिवको सरलता जति छ गहिराइ पनि त्यत्तिकै छ। यति विशाल नाम, कामका भगवान्को लीला पनि भनिसाध्य छैन। बुझ्न र बुझेर त्यसलाई आत्मसात् गर्न पनि त्यत्तिकै कठिन छ। यस्तो कठिनतम् कार्यमासमेत रङहरूका माध्यमबाट शिवप्रतिको हार्दिक आस्थालाई उजागर गर्न कलाकारले शिव पुराण सबै पुराणमा सर्वाधिक महत्वपूर्ण तथा सबभन्दा बढी पढिने पुराण मानिन्छ। शिव पुराणमा भगवान् शिवको विविध रूप, अवतार, ज्योतिर्लिङ्ग, भक्त र भक्तिका विशद् वर्णन छ। शिवको कल्याणकारी स्वरूपको विवेचना, रहस्य, महिमा उपासना आदि विस्तृत वर्णन शिव पुराणमा गरिएको छ। शिवको महिमा, लीला र कथाका अतिरिक्त अनेकौं रोचक आख्यानहरू कलामा संयोजित छन्। भगवान् शिवको भव्यतम् विराट व्यक्तित्वमाथि अध्ययन गर्नु र त्यसमा डुबेर कलासाधनामा पृथक कलाकर्म गर्नु अर्को विराट काम हो। वास्तवमा बहुरूपी शिवका विविध पाटा र पौराणिक प्रसङ्गहरूलाई कलात्मक स्वरूपमा चित्रण गर्नु सामान्य काम होइन।

कलाकार सुरेशकुमार द्य:ला
कलाको सुन्दरता, मधुरता र हार्दिकताको मिलनले जसरी हाम्रा आँखा र मनलाई शीतलता प्रदान गर्छन् शिवपुराणको मर्म र भावार्थ पनि अन्तत: त्यही हो। जीवन, प्रेम, परिवार, प्रकृति र परिवेशका अनेकौं मायाममता, दु:खसुखका हर्ष र विष्मातहरू। भगवान्ले पनि यीबाट मुक्ति पाएका छैनन्। तिनै मिथकीय कथा, किंवदन्तीहरूलाई चित्रात्मक आयाममा दर्शकमाझ पस्किएर सुरेशकुमार द्य:ला एकातिर कलाकारका रूपमा अलग्ग चिनिनुभएको छ भने अर्कोतिर कलालाई सरल रूपमा व्याख्या गर्ने लेखक पनि बन्नुभएको छ। चित्रप्रदर्शनी र चित्रपुस्तकको प्रकाशनका दुई पाटाले उहाँलाई एक ऊर्जाशील सचेत र समर्पित कलाकर्मीका रूपमा स्थापित गराएको छ।
शिवपुराण आफैंमा विशाल जीवनदर्शनको भण्डार हो, यसमाथि कलाकारले गरेको वर्षौंको अध्ययनले सिर्जित कलाकृतिबारे यो छोटो बसाइमा धेरै बोल्न सकिन्न। प्रत्येक चित्रको गहिराइमा पुगेर त्यसको अर्थ र अभिप्रायका साथै रहस्य खोल्नु, विचार विश्लेषण गर्नु पो गर्नुहुन्छ। तथापि कलाकारको लामो साधनामा एकसरो हेराइको प्रभावले खास कुरा बताउन सकिँदैन। प्रत्येक चित्रका कथा, रङ र विषय, शैलीका थुप्रै भाव हुन्छन्।
शिवको रूप सबैभन्दा सुन्दर मात्र छैन कि सबैभन्दा विरूप पनि छ। सबभन्दा बढी योगी तपस्वी र सबैभन्दा बढी गृहस्थ पनि शिव नै हुन्। अनुशासित र अनुशासन तोड्ने तथा महानर्तक र पूर्णत: स्थिर पनि शिव नै हुन्। यस संसारमा देवता, दानव, राक्षससहित हरेक प्राणी शिवकै उपासना गर्छन्।
वास्तवमा बोली, व्यवहार, हेराइ र बुझाइका साथ समग्रमा “सत्यम् शिवम् सुन्दरम्” को बास भएमा नै जीवन र जगत्को उन्नति–प्रगतिले फड्को मार्न सक्छ। धर्मकर्म, संस्कार, संस्कृतिप्रति मर्दै गइरहेको मानवीय मनलाई यस किसिमका कलाकृतिले केही न केही प्रेरणा र प्रभाव अवश्य पार्न सक्छ। यसरी सनातनदेखि विकसित हाम्रा आस्था–आराधनाका देवाधिदेवप्रतिको यति सुन्दर, यति भव्य र यति सिर्जनशील कलाकर्म हेर्न पाउनु हाम्रा लागि अहोभाग्य हो। यसका लागि कलाकार सुरेशकुमार द्य:ला बधाइ र धन्यवादका पात्र हुनुहुन्छ।
प्रदर्शनी उद्घाटन समारोहमा वरिष्ठ कलाकार तथा कलालेखक मदन चित्रकारले भन्नुभए जस्तै वास्तवमा सुरेशकुमार द्य:लाका चित्रहरूले कला र कथाको उत्कृष्ट प्रस्तुति प्रदर्शन गरेको छ। यी काम एक साधकको सुन्दर सिर्जनाका दस्तावेज हुन्। शिव पुराणका कैयौं घटनालाई चित्रात्मक रूपमा तिनको व्याख्यासहित प्रस्तुत गरी कलाकारले हामीलाई पनि एक भिन्न कलास्वादको अनुभूति गराउन सफल रहेको र यस किसिमको कामलाई आफूले हृदयदेखि नै तारिफ गर्ने कलाकार मदन चित्रकार बताउनुहुन्छ।
संवेदना र सौन्दर्यका साथै पौराणिक पात्र, घटना र ती सन्दर्भका शाश्वत पक्षहरूलाई कलाकारी शिल्प–दक्षताले आकार दिनु सामान्य कुरा होइन। अनि “सत्यम् शिवम् सुन्दरम्” का भावनाले ओतप्रोत गराउनु कलाकारी खुबीकै कुरा हो। हाम्रा प्रत्येक धर्मग्रन्थहरू अन्धविश्वास र भ्रमले मात्रै भरिएका छैनन्; वस्तुत: तिनमा निहित दर्शनका कैयौं पृष्ठहरू हाम्रा लागि मार्गदर्शक पनि हुन्। तीबाट हामीले पनि सकारात्मक विचार, व्यवहार, बोली र कामहरू गर्न सक्नुपर्छ।
शिवपुराण आफैंमा विशाल जीवनदर्शनको भण्डार हो, यसमाथि कलाकारले गरेको वर्षौंको अध्ययनले सिर्जित कलाकृतिबारे यो छोटो बसाइमा धेरै बोल्न सकिन्न। प्रत्येक चित्रको गहिराइमा पुगेर त्यसको अर्थ र अभिप्रायका साथै रहस्य खोल्नु, विचार विश्लेषण गर्नु पो गर्नुहुन्छ। तथापि कलाकारको लामो साधनामा एकसरो हेराइको प्रभावले खास कुरा बताउन सकिँदैन। प्रत्येक चित्रका कथा, रङ र विषय, शैलीका थुप्रै भाव हुन्छन्।
चित्रकलासँगै चित्रकथाको विवरणसमेत रहेको र त्यसलाई पुस्तकमा प्रकाशन गरिएकाले यसको महत्व अझ बढ्न गएको छ। रोचक र चाखलाग्दो वर्णन र विवरणका साथ कला र कथाको संयोजन गरिएको छ। केही पोस्टर रङ र अधिकांश चित्र एक्रिलिक माध्यमबाट तयार पारिएका छन्। दुई दर्जन चित्रकृतिहरूमा शिव ताण्डव नृत्य, समुद्र मन्थन, शिव–पार्वती विवाह, शिव–पार्वती नृत्य, गणेश र शिवको युद्ध, देवीदुर्गाको उत्पत्ति, जालन्धर र शिवको युद्ध, अर्धनारीश्वर, त्रिपुर दहन, गङ्गाको पृथ्वीमा अवतरण, कृष्ण र शिवको युद्ध, चन्द्रले शिवलाई शीतलता दिएको, देवी दुर्गाको उत्पत्तिलगायत शीर्षकका चित्र छन्।
मूलत: हिन्दू धर्म र संस्कृतिसँग सम्बन्धित पौराणिक पुस्तक बृहत् र विशाल हुनाले बुझाइमा कठिनाइ र जटिलता अवश्य आउँछ। तै पनि पुस्तकमा धार्मिक ग्रन्थका महत्वपूर्ण घटना तथा महिमालाई छोटो, सरल र सहज तरिकाबाट चित्र र कथा नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित गरिएको छ। यसले पाठकलाई पृथक स्वादको अनुभूति गराउँछ। अन्तत: कलाका माध्यमबाट हामीलाई पनि आध्यात्मिक मार्गतिर डोर्याउनु ठूलो कुरा हो।
(तस्बिर: लेखक)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता
