प्रयोगविहीन छोटी–भन्सार

ध्रुव भट्टराई/मोरङ

मोरङ जिल्लामा रहेका ९ वटा छोटी–भन्सार कार्यालय प्रयोगमा नआउँदा गौचरणमा परिणत भएका छन्। लामो समयदेखि कार्यालय बन्द रहेपछि स्थानीयले कतिपय छोटी भन्सार कार्यालयलाई गाई गोठका रूपमा प्रयोग गर्न थालेका छन्।
सरकारले केही छोटी भन्सार कार्यालय प्रयोगमा ल्याउन नयाँ भवनसमेत बनाएको थियो तर ती भवन पनि प्रयोगमा आउँन सकेका छैनन्।
रानी भन्सार कार्यालयका अनुसार जिल्लामा ९ वटा छोटी भन्सारमध्ये डाइनिया, मायागन्ज छोटी भन्सार सञ्चालनमा छन्। तीनमा पनि एक जना नायवसुब्बा स्तरका कर्मचारी र कार्यालय सहयोगीको भरमा चलेका छन्। डाइनिया छोटी भन्सार कार्यालयबाट नगन्य रूपमा राजस्व असुली हुने गरेको छ। डाइनिया छोटी भन्सार कार्यालय सञ्चालनमा रहे पनि राजस्व असुलीमा यसको योगदान शून्यको अवस्थामा रहेको रानी भन्सार कार्यालयको तथ्याङकले देखाएको छ।
जिल्लामा तत्कालीन बुधनगर गाविसको मधुमल्ला, मझारेको तरिगामा, बरडंगाको चुनिबारी र महादेवा गाविसको चौकीघाटमा छोटी भन्सार रहेका थिए।
सशस्त्र द्वन्द्वकालको समयमा ती छोटी भन्सार कार्यालयहरू असुरक्षाका कारण देखाउँदै २०५३/०५४ देखि बन्द भएका थिए। हालसम्म सरकारले बन्द छोटी भन्सार कार्यालय खुलाउन चासो देखाएको छैन्। जसका कारण कतिपय कार्यालयहरूका भवन भत्कन लागेका छन्। भवन नभएकाहरूको जग्गा अतिक्रमण भएको छ।
छोटी भन्सार कार्यालयका भौतिक संरचना रेखदेखमा कसैले चासो नदिएका कारण स्थानीयले भने ती कार्यालयलाई गाई गोठका रूपमा प्रयोग गर्दै आएका छन्। सरकारले राणकालीन समयमै अवैध ओसारपसार नियन्त्रण गर्न छोटी भन्सार कार्यालय स्थापना गरेको थियो तर बन्द भएका छोटी भन्सार कार्यालय सञ्चालनमा चासो नदिँदा लाखौं रुपैयाँ राजस्वसमेत खेर गइरहेको छ।
रानी भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुगंनाले १० वर्षे माओवादी द्वन्द्वकालमा बन्द भएका सात छोटी भन्सार अझै सञ्चालनमा आउन नसकेको बताए। ‘सञ्चालनमा रहेका भनिएका कार्यालय हाम्रो अभिलेखमा खुलेका देखिन्छन् तर ती सक्रिय अवस्थामा छैनन्’ गौतमले भने– ‘खोलिएका कार्यालयमा कर्मचारी दरबन्दी समेत छैन, यहींबाट कर्मचारी आलोपालो मिलाएर कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।’

३० करोडको भवन दुई वर्षदेखि बन्द
भन्सारसम्बन्धी कार्य वि.सं. १९७२ सम्म रंगेलीको छोटी भन्सारबाट गरिन्थ्यो। रंगेलीमा सदरमुकाम रहेसम्म फारविसगञ्जबाट रङेली बीच सोझै माल वस्तु निकासी पैठारी हुने गरेको थियो। सो छोटी भन्सार कार्यालय पुन: सञ्चालन गर्ने उद्देश्यले दुई वर्ष अघि कार्यालय परिसर पछाडि ३० करोडको लागतमा दुई तले नयाँ भवन बनाइएको छ तर हालसम्म प्रयोगमा आएको छैन। उक्त कार्यालयमा लामो समयदेखि कर्मचारी नबसेकाले स्थानीयले छोटी भन्सार कार्यालयलाई गाई गोठका रूपमा प्रयोग गर्दै आएको स्थानीय जुपर मण्डलले बताए।
मोरङमा राणाकालीन समयमै अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो। द्वन्द्वन्कालीन समयमा मधुमल्ला छोटी भन्सार र तरिगामा छोटी भन्सार कार्यालयका भवनमा बम विस्फोट गराएर ध्वस्त बनाइएको थियो। तीनको पुनर्निर्माण गरिएको छैन।
गत वर्ष मोरङको डाइनिया छोटी भन्सार सञ्चालनमा आएको छ। योसँगै तत्कालीन सोराभाग गाविसमा रहेको मायागन्ज छोटी भन्सार चालु अवस्थामा छ तर सो छोटी भन्सार पनि कार्यालय सहयोगीको भरमा चलेको छ। खुलेआम अवैध ओसारपसार हुने क्रम भइरहे पनि अवैध क्रियाकलापलाई रोक्न नसकिएको मायागन्ज छोटी भन्सारका कार्यालय सहयोगी नारायण चौधरीले बताए।
चौधरीका अनुसार मायागन्ज छोटी भन्सारका कार्यालय आसपासको क्षेत्रबाट दिउँसोको समयमा गाई गोरु तस्करी हुने गरे पनि आफूहरूले नियन्त्रण गर्न नसकेको बताए।
भन्सार विभागले छोटी भन्सारबाट प्रतिव्यक्ति वा फारम १५ हजारभन्दा बढीका सामान पास गर्न नपाउने नियम बनाएको छ। जसका कारण सञ्चालनमा रहेका मध्ये डाइनिया छोटी भन्सारबाट गएको आर्थिक वर्षमा ८ लाख २० हजार राजस्व सङ्कलन भएको छ। जिल्लामा यसबाहेक विराटनगरको रानीमा मुख्य भन्सार कार्यालय रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
प्रयोगविहीन छोटी–भन्सार
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link