उमेरले असी उकालो पुगिसक्दा पनि कलाकार शारदा चित्रकारलाई कलाकै चिन्ता र चासो छ। कलाकै धपेडी र ध्याउन्नमा उहाँका वर्तमान दिनहरू व्यतीत भइरहेछन्। काठमाडौंको तँलाछेँ टोलमा वि.सं. १९९७ सालमा जन्मनुभएकी कलाकार शारदा चित्रकार पहिलो महिला उपकुलपति र कलाक्षेत्रमा पहिलो महिला प्राज्ञसमेत हुनुहुन्छ। नेपाली चित्रकला र लोककलाको विकास एवम् तिनको संरक्षण एवम् संवर्द्धन कार्यमा उहाँको योगदान रहँदै आएको छ। यसका साथै नेपाली महिला कलाकारहरूको उत्थानमा पनि उहाँले काम गर्दै आइरहनुभएको छ।
नेपालका सुप्रसिद्ध कलाकार मास्टर तेजबहादुर चित्रकार र मनकेशरी चित्रकारका सुपुत्री हुनुहुन्छ कलाकार शारदाले बाल्यकालीन अवस्थादेखि नै चित्रकलाकै वातावरण पाउनुभयो। बुबाले त्यो बेला घरमा चित्रकलाकै नि:शुल्क कक्षा लिनुहुन्थ्यो। बिहानदेखि बेलुकासमम्म उहाँको घरमा कला सिक्न आउनेहरूको भीड लाग्थ्यो। यसरी चित्रकलालाई आफूले थाहा पाएदेखि देख्ने, हेर्ने र बुझ्ने अवसर पाएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार त्यसबखत चित्रकार जातिले धर्म, संस्कृति र संस्कारजन्य चित्रकारिता गर्नुपर्ने परम्परागत जिम्मेवारी एकातिर थियो। अर्कोतिर त्यसमा आधुनिक शैली र शिल्प संयोजन गरी चित्ररचना गर्ने गरिन्थ्यो। उहाँका बुबाले घरमा ‘पोट्रेट र स्टिल लाइफ’ गर्न सिकाउनुहुन्थ्यो। घरबाहिर ‘ल्यान्डस्केप’ का लागि लैजानुहुन्थ्यो। चित्रकलामा यी तीन विषय आधारभूत कला शिक्षा हुने बताउँदै कलाकार शारदा यसमा पोख्त भएपछि मात्र आफ्नै शैलीमा कला सिर्जना गर्न सकिने बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ– “म तेह्र वर्षकी थिएँ। मीनपचासको बिदामा हाम्रो घर अगाडिको घरमा रहेको पाँचमुखे सँझ्या:लाई मैले दुरुस्तै उतारेकी थिएँ। एसएलसी उत्तीर्ण भएपछि पद्मकन्या कलेजमा भर्ना भएँ। चित्रकलाप्रति रूचिका कारण समय मिलाएर जुद्धकला पाठशालामा पनि चित्रकलाको अध्ययन गर्न जान्थेँ। मलाई पोट्रेट बनाउन धेरै मन पथ्र्यो। त्यो बेलाको एउटा घटना याद छ, रूसका तत्कालीन राष्ट्रपति ख्रुस्चेभको नेपाल भ्रमणका स्वागतद्वारहरू सजाउन बुबालाई चित्र बनाउने धेरै काम आएको थियो। बुबाको काममा म पनि सघाउँथेँ। मैले पनि बुबासँग त्यसबेला धेरै चित्रहरू बनाएकी थिएँ।”
जनक शिक्षा सामग्री केन्द्रमा ‘आर्टिस्ट’ पदबाट आफूले जागिरे जीवन सुरू गरेको उहाँ बताउनुहुन्छ। त्यहाँ पाठ्यपुस्तकका लागि ‘कभर आर्ट’ तथा ‘इलस्ट्रेसन’ बनाउने काम उहाँले गर्नुभयो। वि.सं. २०२३ सालमा आयोजित राष्ट्रिय कलाप्रदर्शनीमा आफूले बनाएको आफ्नै बज्यैको पोट्रेट चित्रका लागि दुई सय रूपियाँ नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरेको कुरा उहाँ अझै सम्झिनुहुन्छ। त्यसले पनि ती प्रारम्भिक दिनमा आफूलाई चित्रकलामै लाग्न प्रेरित गरेको उहाँ बताउनुहुन्छ। त्यसो त, बुबाले पनि चित्रकला आफूलाई सिकाउने र आफूले गरेका कामको तारिफ गर्ने हुँदा यो क्षेत्रमा लाग्दै आएको अनुभव उहाँ सुनाउनुहुन्छ।
उहाँ भन्नुहुन्छ– “घरदेखि बाहिर गई ल्यान्डस्केप पेन्टिङ गर्न म आमालाई साथमा लिएर जाने गर्थें। त्यो बेला स्थलगत रूपमा बनाएका कतिपय चित्रहरू अझै पनि मसँग सुरक्षित छन्। मेरो विवाह चार्टर एकाउन्टेन्ट कोमल चित्रकारसँग भयो। विवाहपछि श्रीमान्को साथ र सहयोगले मैले आधुनिक र परम्परागत शैलीमा धेरै काम गरेँ। उहाँको साथ विदेश होस् अथवा स्वदेशमै चित्रकलाका सामानहरू साथमै लिएर गई ‘अन द स्पट’ प्रशस्तै चित्रहरू बनाएकी छु। श्रीमान्को पनि गत वर्ष निधन भएपछि एक्लो जीवनमा आफूलाई भुल्याउनका लागि पनि चित्रकलामै रमाउने कोसिस गरिरहेकी छु। आफ्नो स्वास्थ्यले साथ दिएसम्म आफूले जानेको सीप सार्वजनिक गरी सन्तुष्टि लिँदै छु।”
कलाकार शारदा चित्रकारको अगुवाइमा २०६२ सालमा एउटा महत्वपूर्ण कलाप्रदर्शनीको आयोजना भएको थियो । प्रदर्शनीमा नेवार लोककलाको परम्परा, सीप र कौशल झल्किने कलाकृतिहरू राखिएका थिए । उहाँको विचारमा आधुनिक कलाको आधारभूमि नै लोककला भएको हुँदा यसको संरक्षण, संवर्द्धन कार्यमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।
नेवार लोककलाको संरक्षण र संवर्द्धन कार्यमा कलाकार शारदा चित्रकार सक्रियताका साथ लागिरहनुभएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लोककला विभागमा नियुक्त हुँदा उहाँले नेवार कलालगायत अन्य जातीय पहिचानको चिनारी दिने लोककलाको प्रबर्द्धन कार्यमा गहकिलो काम गर्नुभयो। सो कार्यकाल सकिएपछि उहाँले प्रतिष्ठानको उपकुलपति पदको थप जिम्मेवारी पाउनुभयो। उहाँले ‘पौराणिक नेवार लोककला पुँज्या:’ शीर्षकको पुस्तक पनि लेख्नुभएको छ। चित्रकार जातिले हाम्रो समाजमा के कस्ता किसिमका चित्रकला गर्छन् अनि तिनको आवश्यकता र महत्व बोध गराउने कार्यमा यस पुस्तकले ठूलो मदत गर्छ।
कलाकार शारदा चित्रकार भन्नुहुन्छ– “गाईजात्रा, नागपञ्चमी, दशैँतिहार लगायत अन्य जात्रापर्व, संस्कारजन्य कर्महरू आदि कार्यका लागि चित्रकार जातिले बनाएका चित्रहरू नै चाहिन्छ। जस्तै नागको चित्र, लक्ष्मीको चित्र आदि। परम्परागत यी चित्र काठको ब्लक (थासा) बाट छपाइ उपत्यकाका घरघरमा पुग्थे। तिनमा नेपाली लोक परम्परा र संस्कृति झल्किएका हुन्थे। तिनको आवश्यकता पूर्तिका लागि चित्रकार समुदाय निकै व्यस्त रहन्थ्यो। अब त्यो समय रहेन। अहिले विदेशबाट आयातीत कमसल र मौलिकताविहीन छापा चित्र प्रयोग गर्ने गरिन्छ। यो हाम्रो मौलिक कला परम्पराप्रति ठूलो अतिक्रमण हो। त्यसले गर्दा पनि परम्परागत कलासँगै पुख्र्याैली पेशा वा व्यवसाय नै सङ्कटमा पुगेको छ।”
उहाँका अनुसार कुनै समयमा चित्रकार समुदायका मानिसले चित्र नबनाई कुनै पनि धार्मिक तथा सामाजिक संस्कार पूर्ण हुँदैनथ्यो। बदलिँदो समयको क्रमसँगै यो प्रचलन हराउँदै गइरहेको देख्दा उहाँलाई दु:ख लाग्छ। भन्नुहुन्छ– “यसले गर्दा यस पेसाबाट जीवनयापन गर्नेहरूको पेसा नै धरापमा परेको छ। साथै जातीय पहिचान र नेवार लोककलाको परम्परासमेत सङ्कटमा पुगेको छ। यसले मलाई धेरै चिन्तित बनाएको छ। मैले घरमै केही चित्रकार महिलाहरूलाई भेला गराइ उक्त सीपको विकास गर्ने ध्येयले प्रशिक्षण कार्यसमेत गरेँ। यसबाट धेरै महिलाहरू लाभान्वित पनि भए तर त्यसलाई निरन्तरता दिन सकिएन। तै पनि त्यसले परम्परागत सीप विकासमा केही न केही टेवा पुर्याउन अवश्य सकेको थियो भन्ने मलाई लाग्छ।”
कलाकार शारदा चित्रकारको अगुवाइमा २०६२ सालमा एउटा महत्वपूर्ण कलाप्रदर्शनीको आयोजना भएको थियो। प्रदर्शनीमा नेवार लोककलाको परम्परा, सीप र कौशल झल्किने कलाकृतिहरू राखिएका थिए। उहाँको विचारमा आधुनिक कलाको आधारभूमि नै लोककला भएको हुँदा यसको संरक्षण, संवर्द्धन कार्यमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ।
त्यसो त उहाँ आफूलाई ‘प्रभाववादी कलाकार’ भन्न रुचाउनुहुन्छ। प्रदर्शनीको हत्तारमा लाग्नुभन्दा आफ्नो कलाकर्ममा पाको सीप देखाउने कार्यमा उहाँ जोड दिनुहुन्छ। उहाँको पहिलो एकल कलाप्रदर्शनी पनि निकै ढिलो अर्थात् २०५९ सालमा मात्रै भएको थियो। उहाँ जलरङका माध्यमबाट बढी काम गर्नुहुन्छ। प्राकृतिक परिवेश, सामाजिक जनजीवन, ‘स्टिल–लाइफ’ आदि उहाँका चित्ररचनाका विषयवस्तु रहँदै आएका छन्। खासगरी दृश्यचित्रलाई जलरङका माध्यमबाट उहाँले तेलरङमा पनि काम गर्नुभएको छ।
उहाँका अनुसार जलरङका चित्रहरू छिटो सुक्ने, एक–दुई ‘स्ट्रोक’ मै सरल तरिकाबाट प्रभाव आउने, कम समयमा, कम रङबाट उत्कृष्ट चित्रसिर्जना गर्न सकिन्छ। आफूले बुङ्गद्य: (रातो मत्स्येन्द्रनाथ) रथजात्राको अनेकौँ चित्र बनाएको बताउनुहुन्छ। विशेषत: मत्स्येन्द्रनाथको बाह्रबर्से जात्रामा बुङ्गद्य:लाई विशाल रथमा रथारोहण गराई थुप्रै लावालस्कर जात्रालुका साथै परम्परागत बाजागाजाका साथ लगिने दृश्यको प्रशस्त रेखाचित्र र जलरङ चित्र बनाएको उहाँ स्मरण गर्नुहुन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता