पर्सा ४: व्यक्तिको चरित्र र भ्रष्टाचार मुख्य चुनावी मुद्दा

अनिल तिवारी

पर्सा जिल्लाको पश्चिमी सीमावर्ती  निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। प्रतिनिधि सभामा सत्ताधारी र प्रतिपक्षी गठबन्धनको तर्फबाट मात्र  उम्मेदवारी परेकाले पनि चुनावी  ध्रुविकरण दुई पक्षीय  बन्दै गएको हो। सत्ताधारी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मधेस प्रदेश इन्चार्ज रमेश रिजाल उम्मेदवारी दिनुभएको छ। उहाँको प्रतिद्वन्द्वी जसपा-एमालेको गठबन्धनबाट जालिम मिया चुनावी मैदानमा हुनुहुन्छ।

प्रतिनिधि सभाका दुबै प्रतिस्पर्धी उम्मेदवार एउटै गाउँपालिका जागरनाथपुरका  निवासी  हुनुहुन्छ। यस क्षेत्रमा पटक पटक सांसद बनेका रमेश रिजालसँग अपराध जगतका बाहुबलीको रुपमा स्थापित जालिम मियाको भिडन्त पहिलो पटक हुन लागेकाले पनि चुनावी मुद्दा दलगत, सिद्धान्त, विकास भन्दा पनि  उम्मेदवारको चरित्र र भ्रष्टाचारमा केन्द्रित भएको देखिएको छ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएका रमेश रिजाल अधिकांश जिल्लाको सदरमुकाम वीरगन्ज वा राजधानीमा बढी वस्ने भएकाले समयमा जनसेवा दिन नसकेको चुनावी आरोप मिया पक्षको  छ।

एमालेको तर्फबाट उम्मेदवार बनेका जालिम मिया पञ्चायत कालदेखि बाहुबली र आपराधिक चरित्रको व्यक्ति भएको आरोप लाग्दै आएको छ। बन फडानी गरेको आरोपमा जालिम मिया पञ्चायत व्यवस्था र २०४६ सालको पहिलो जनआन्दोलन पछि पनि जेल सजाय काटी सकेका नेता हुनुहुन्छ। पञ्चायत व्यवस्था देखि स्थानीय तहमा राम्रो पकड राख्दै आएका जालिम मियामाथि पर्सामा आपराधिक गतिविधि सञ्चालनको आरोप लाग्दै आएको छ। बिहारदेखि दिल्लीसम्मका भारतीय सञ्चार माध्यमहरूले त जालिम मिया भारतीय सीमा क्षेत्रमा सक्रिय पाकिस्तानी जासुस तथा पाकिस्तानी गुप्तचर संस्था आइ एस आइको एजेन्ट भएको आरोप लगाउँदै आएका छन्। कारोनाको समयमा त जालिम मियाले कोरोना संक्रमित विदेशीहरूलाई भारतमा प्रवेश गराएको भन्दै भारतीय सञ्चार माध्यमहरूले ठूलै हल्लाखल्ला गरेका थिए।

प्रजातन्त्रपछि सुरुमा नेपाली कांग्रेस प्रवेश गर्नुभएका जालिम मिया रमेश रिजालकै कार्यशैलीको विरोध गर्दै नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो। पर्सा प्रहरीले जालिम मियाको छोराले गरेको बलात्कार मुद्दा दर्ता गर्दा माओवादीका तत्कालीन गृह मन्त्री बादलले सहयोग नगरेको विरोधमा स्थानीय चुनाव अघि एमालेमा प्रवेश गर्नुभएको थियो।

तर पहिलो जनआन्दोलन पछि यस क्षेत्रबाट रमेश रिजालले प्राप्त गरेको हरेक विजयमा जालिम मियाको साथ सहयोग रहँदै आएको  थियो। त्यसैले पनि जालिम र रमेश रिजालको भिडन्तलाई रोचक बनाएको छ।

यस अघि जनगरनाथपुर गाउँपालिका अध्यक्ष भएको पाँच वर्षे अवधिमा करोडौ भ्रष्टाचार गरेको भन्दै जालिम मियाविरुद्ध अख्तियारमा १४ वटा भन्दा बढी उजुरी माथि छानबिन चलि रहेकोले पनि भ्रष्टाचार मुख्य मुद्दा बनेको स्थानीय सहरुप राउतको भनाइ छ।

पर्सा क्षेत्र नम्बर ४को क बाट एमालेको तर्फबाट जयप्रकाश थारु  प्रदेश सभामा उम्मेदवार हुनुहुन्छ। सत्ताधारी गठबन्धनबाट थारुको विपक्ष प्रदेश सभा सदस्य शंकर चौधरीको उम्मेदवारी छ।तर एक महिना अघि टिकट पाउनैको लागि जसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका बिरेन्द्र यादव बागी उम्मेदवार बन्नुभएको छन्। जसले गर्दा प्रदेश सभा सदस्यमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ।क्षेत्र नम्बर ४को ख बाट सत्ताधारी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको तर्फबाट शेख चाँदताराले उम्मेदवारी दिनुभएको छ। उहाँको प्रतिपक्षमा जसपाको तर्फबाट प्रदेश सभा सदस्य सिंगासनसाह कलवार कडा टक्कर दिइरहनु भएको छन्।हालै सम्पन्न भएको स्थानिय चुनावमा दोश्रो पटक छिपहरमाई गाउपालिकाको  अध्यक्षमा एमालेको तर्फबाट बिजयी भएका मनोज गुप्ताको बाजे प्रह्रलाद साह बागी उम्मेदवार बन्नुभएको छ। दुवै तर्फ देखिएको दुई बागी उम्मेदवारका भूमिकाले पनि प्रतिनिधि सभाका प्रतिपर्धीहरुलाई ठुलै घक्का दिने देखिन्छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
पर्सा ४: व्यक्तिको चरित्र र भ्रष्टाचार मुख्य चुनावी मुद्दा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link