जनता समाजवादी पार्टी राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव मुख्यमन्त्री लालबाबु राउत गद्दी लगायतका नेताहरूलाई यसको चुनावी लडाइ ढुङ्गाको चिउरा चपाए झै बन्दै गएको छ। पहिलो मधेस आन्दोलन पछि विराटनगरलाई राजनैतिक कार्यक्षेत्र बनाउनु भएका यादव दोश्रो संविधानसभाको चुनाव नराम्रोसँग हार्नुभयो। संविधानको घोषणा पछि भएको ६ महिने मधेस आन्दोलन पछि रेणु यादवको सहयोगमा सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभयो। तर यसपालिको निर्वाचनचाहिँ अध्यक्ष उपेन्द्र यादवका लागि ढुङ्गाको चिउरा चपाए झै छ।
अध्यक्ष उपेन्द्र यादव र उहाँको टिमको काम गर्ने शैली हेर्नका लागि पर्सा जिल्लाको तिलावे पुलको किनारमा सहिद पार्क हेरे हुन्छ। यसको निर्माण योजना अधुरै छ। निर्माणाधीन पार्कमा स्थापना गरिएका सहिदहरूको आँखा छोपिएको कपडा उद्घाटन पछि हटाउने हो। मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा निर्माण हुने उक्त योजना अधुरो र अपुरो छ। जसलाई सहिदको सम्मान भन्दा पनि अपमान गरिएको जन गुनासो छ।
मधेस आन्दोलनमा अग्रणी भूमिका निभाएको वीरगन्ज महानगरपालिका वार्ड नम्बर १६ को नगवा र इनर्वा मधेसी दलको लागी सबै भन्दा ठुलो भोट बैक भएको वार्ड हो। मुख्यमन्त्रीको आफ्नै निर्वाचन क्षेत्रमा रहेको उक्त वडामा पनि जसपालाई ठेलो विरोध बेहोर्नु परेको छ। मतदाताको चर्को विरोध पछि इनर्वामा मुख्यमन्त्रीलाई इज्जत जोगाउन शुक्रबार हम्मे हम्मे परेको थियो। नगवा र इनर्वा दुबै गाउँबाट मुख्यमन्त्री लगायत जसपाका उम्मेदवारहरू लखेटिएको छन्। विकास भन्दा पनि मुख्यमन्त्रीले भ्रष्टाचारलाई प्राथमिकता दिएको भन्दै व्यापक विरोध खेप्नु परेको छ। उनले ल्याएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यकरणका आधा दर्जन भन्दा बढी योजनाहरू अलपत्र परेका छन्।
मधेस आन्दोलनको रापतापमा चुनाव जित्नुभएका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव राजधानीमुखी बनेका कारण यसपालिको चुनाव गाह्रो भएको हो। बितेको पाँच वर्षमा अधिकांश समय उपेन्द्र यादव र उहाँका नेताहरू सरकारमा सहभागी भएपनि राष्ट्रिय अध्यक्षको क्षेत्रको भौतिक विकासको अवस्था जर्जर रहेको छ। तीलाठी कोइलारी गाउँपालिका वडा नम्बर ५ का बर्साइनका अरुण साह यादव हार्ने निश्चित रहेको दाबी गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ,‘विकासको त कुरै छोडनुस्, पाँच वर्षमा क्षेत्रमा कतिपटक आउनु भयो उहाँलाई नै थाहा होला।‘
यादव आफू निर्वाचित जिल्लाको त कुरै छाडौं क्षेत्र नं. २ का लागि विगत ५ वर्षमा केही पनि नगरेका आरोप स्थानीय तिलाठीका मतदाताहरूको छ। सप्तरी क्षेत्र नं. २ पिछडिएको क्षेत्र भएकाले स्थानीय जनताले पछिल्लो निर्वाचनमा “अध्यक्ष यादव राष्ट्रिय नेता भएकोले केही गर्लान् की ? ” भन्ने ठुलो आशामा मत दिएका थिए। तर जुन गोरु आए पनि उखान जस्तै नेता यादवको पनि ५ वर्ष बितेको छ। बितेको चुनावमा यादवले विकास गर्ने ठुलै आश्वासन बाँड्नु भएको थियो। तर अवस्था जर्जर छ।
पछिल्ला निर्वाचनमा प्रचार प्रसारका लागि पनि हिँडादा दशकौँ देखी विकास नभएको सप्तरी क्षेत्र नं. २ अन्तरगतका हनुमान नगरदेखि इनरुवा, भगवानपुर, कोइलाडी बरसाइन, कट्टि, सकरपुरा र बेलही हुँदै कुनौली भन्सार सम्मको बाटोमा भएका पुलहरू भत्किएको छ। सीमाबाट जिल्लाको सदर मुकाम राजबिराज जोडने ६० फिट चौडा सडक मर्मत सम्भार तथा पुनर्निर्माण नहुँदा १०–१२ फिट चौडाइमा सीमित भएको अवस्था छ।
यस क्षेत्रका जनतालाई यिनै बाटो घाटो निर्माण लगायत विभिन्न विकासका आश्वासन दिएका यादवको पार्टी सडक तथा भौतिक विकास मन्त्रालय ५ वर्षको अधिकांश समय आफ्नो भागबन्डामा लिदैँ आएको थियो। स्थानीय जनता भन्छन्, “कुन मुखले पुन: मत माग्न आउने हुन ? लाज भए घरदैलोमा नआउलान्। लाजै पचाएका भए आउलान्,” भन्ने भाषा प्रयोग गर्न थालेका छन्।
बाढी आउँदा खेतीबारी र घर बगाउने खतरा कायमै छ भने कतिपय गाउँटोलमा कुनै आपतकालीन घट्ना जस्तै आगलागी र कोही बिरामी परे समयमा सहज तरिकाले एम्बुलेन्स र वारुणयन्त्र समेत पुग्न नसक्ने अवस्था रहेको तिलाठी कोइलाडी गाउपालिका वडा नं. ५ का पूर्व जनप्रतिनिधि ८० वर्षीय सहदेव साहको भनाइ छ। त्यसै गरी सप्तरी जिल्ला सदरमुकाम राजविराज देखी तोपा, मनसापुर, इनरुवा हुँदै हनुमाननगर जाने मुख्य बाटोको अवस्था ४० वर्ष अघिको अवस्थामा परिवर्तन नभएको जतात्यतै खाल्डाखुल्डी छ। जुन बाटो दैनिक सैयो सवारी साधनलाई आउने जाने विकल्प नभएको बाटो हो। सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित भएर गए पछि अध्यक्ष यादव पछिल्लो ५ वर्षमा साढे ३ वर्ष आफै उपप्रधानमन्त्री हुनुभयो भने उहाँकै पार्टीकी नेतृ सप्तरी जिल्ला निवासी रेणु यादव ५ वर्ष नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुभयो । तर पनि आफू निर्वाचित क्षेत्रमा शून्य विकास गर्नुभयो भने जिल्ला सदरमुकाम स्थित रहेको एक मात्र रङ्गशाला गौचरणमा परिणत भएको भए पनि कसैको ध्यानाकर्षण नभएको स्थानीय मनोज यादव बताउनु हुन्छ।
सप्तरी जिल्लाबाट जसपाका अध्यक्ष सहित रेणु यादव र मृगेन्द्र सिंह यादव सरकारमा सहभागी भए पनि जिल्ला तथा निर्वाचित क्षेत्रका लागी खासै केही नगरेको आरोप स्थानीयहरूको छ।
सप्तरी क्षेत्र नं. २ मा अध्यक्ष यादवसँगै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र सत्ताधारी गठबन्धनको तर्फबाट लोकतान्त्रीक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर चुनावी मैदानमा उत्रिनुभएको छ।
तस्बिरः सप्तरीको एउटा धराप पुल
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
- किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
- वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
- मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
- नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता