मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘विदेशी जेहादी’ बाट चन्दा लिएको आरोप

अनिल तिवारी

सप्तरीमा राष्ट्रिय एकता अभियानले जनता सतेचना अभियान चलाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा उक्त अभियानले मधेसमा बढेको जिहादविरूद्ध प्रदर्शन गर्दै जनता सचेतना अभियान सुरू गरेको छ।
शनिबार सप्तरीको राजविराजमा अभियानका अध्यक्ष विनय यादवको अध्यक्षतामा गरिएको प्रदर्शनमा अध्यक्ष उपेन्द्र यादवले चीन र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा जिहादी गतिविधिलाई बढावा दिएको भन्दै चर्को नाराबाजी गर्नुका साथै बुकलेट समेत बाँडेको थियो।
यसैगरी आइतबार राजविराज नगरपालिकाको वडा नम्बर ६ मुसहर टोलमा घरदैलो कार्यक्रम गर्र्दै जनतालाई सचेत गराउने कार्य गरिएको अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहले बताउनुभयो। चुनाव अवधिसम्म आफूहरूले घरदैलो गर्दै बुकलेट बाँड्ने अभियान जारी राख्ने साहको भनाइ थियो। गत चुनावमा उपेन्द्र यादवको तत्कालीन पार्टीको महिला नेत्री रहेकी साह मधेस आन्दोलनको मर्म विपरीत उपेन्द्र यादव सत्तालिप्सामा लागेकाले आफूहरू उनको विरोधमा उत्रिएको बताउँदै भनिन्, उहाँलाई जसरी र जुनरूपमा पनि सत्ता चाहिएको छ, त्यसैले जनमतलाई सचेत गराइ रहेका छौं।’
अभियानले बाँडिरहेको बुुकलेटमा ‘नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको एउटा यस्तो विषय हो, जसले यहाँको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत रूपमा सूक्ष्म सुरक्षा चुनौती सिर्जना गरेको छ,’ ‘भुसको आगो जस्तो सल्किरहेको जिहादका अदृश्य गतिविधि पछिल्लो समयमा सतहमा पनि मुखरीत हुन थालेका छन्’ भनेर उल्लेख गरिएको छ। अभियानद्वारा वितरीत बुकलेटमा विदेशी जेहादी संगठनहरूबाट मुख्यमन्त्री राउतले करोडौं रूपैयाँ चन्दा लिएको आरोप पनि लगाइएको छ।
अभियानका अध्यक्ष विनय यादवले तराई मधेश जेहादीको निशानामा रहेको दाबी गर्नुभयाे। उहाँले भन्नुभयो, ‘उपेन्द्र यादव नेतृत्वको पार्टी जसपाको संरक्षणमा र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा विदेशी जेहादीको गतिविधि बढिरहेको छ।’ त्यसबाट सचेत गराउन हामीले यो अभियान सुरू गरेका हौं।’ जिहादको नाममा नेपाली चेलीहरूको अपहरण भइरहेको बताउँदै गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण भइरहेको अभियानका अध्यक्ष यादवले बताउनुभयाे। उहाँले जिहादविरूद्ध एउटा जागरण आवश्यक रहेको महसुस गर्दै राष्ट्रहित र जनहितमा जागरण अभियान सञ्चालन गरिएको बताउनुभयाे।
राष्ट्रिय अभियानको प्रर्दशनपछि उपेन्द्र यादवका स्थानीय नेता तथा कार्यकर्ताले समाजिक सञ्जालमार्फत मधेसमा साम्प्रदायिकता फैलाउन खोजिएको आरोप लगाउनुभएकाे छ। चुनावको समयमा तपाइहरू धार्मिक सम्प्रदायिकता फैलाउँदै हुनुहुन्छ भन्ने आरोप लागिरहेको छ नि ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष विनय यादवले आफूहरूले सम्प्रदायिता होइन सौहर्दता कायम गर्न खोजेको बताउनुभयाे। उहाँले भन्नुभयाे, हिन्दु भन्दा पनि यहाँका मुस्लिमहरू सजग हुन जरूरी छ, सदियौंदेखि हामी सबै एक भएर बस्दै आएका छौं तर विगत पाँच वर्षमा मुख्यमन्त्री लालबाबुले विदेशी जेहादीहरूलाई भित्र्याएर सम्प्रदायिकता फैलाइरहेकाे छ। जसको ज्वलन्त उदाहरण हो– रौतहटको साधु हत्याकान्ड, कोरोना अगाडि राजविराजमा भएको अन्र्राष्ट्रिय जलसा, महोत्तरीको हिन्दुमुस्लिम सम्प्रदायिक दंगा, यति मात्र होइन राज्यकोषबाट मधेसभरि पाँच वर्ष मदर्सा र मस्जिद बनाउने अभियान चलाइएको छ। इदगाह, कबरगाहको नाममा एैलानी गौचरहरू अतिक्रमण गर्ने काम भएको छ र यो सबै देखाएर अरेबियन मुलुक लगायत पाकिस्तान तथा विभिन्न जेहादीहरूबाट मुख्यमन्त्रीले निकै ठूलाेमात्रामा चन्दा लिनुभएकाे छ।’
विगतमा मधेस आन्दोलनको नाममा मलेठ र गौर घटना घटाउने उपेन्द्र यादवले अहिले सत्ताको लागि मुस्लिम र यादवको जातीय समिकरणबाट बच्न आफूहरूले यो अभियान चलाएको अध्यक्ष बिनय यादवको भनाइ थियो। उहाँले भन्नुभयाे, हिन्दु मात्र होइन हामी मुस्लिमहरूलाई पनि सचेत गराइ रहेका छौं, सत्ताको लागि जे गर्न पनि तयार हुने बहुरूपियाहरूबाट तपाईहरू पनि बच्नुहोस्।’
मुख्यमन्त्री राउतले चुनाव जिते पनि निलम्बनमा पर्ने चर्चा
चुनाव नजिकिदै जाँदा मुख्यमन्त्रीप्रतिको जनमत खस्किँदै गएको छ। मंसिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख) बाट उमेदवार बन्नु भएकाे छ। विपक्षी उम्मेदवारहरूले मुख्यमन्त्रीले गरेकाे भ्रष्टाचार, अनियमितता र साइकल खरिदमा अख्तियारले दर्ता गरेको मुद्दालाई मुख्य रूपमा उठाएका छन्। अघिल्लो पटक मधेस केन्द्रित दलहरूको गठबन्धनबाट निर्वाचन जित्नुभएका राउतलाई यसपटकको चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ। विपक्षीले उठाएका प्रश्न, आफ्नै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितता तथा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत अलपत्र परेका विभिन्न महत्वाकांक्षी योजनाबारे जनताले उठाएका प्रश्नको जवाफ दिन मुख्यमन्त्रीलाई हम्मेहम्मे परिरहेको छ।

सबै उम्मेदवारहरू चुनावमा सञ्चार माध्यमहरूसँग नजिकिई रहेका बेला मुख्यमन्त्री राउतले भने पत्रकारहरूसँग कुरा नै नगर्ने रणनिति बनाएको देखिन्छ। मधेस आन्दोलनको रापतापमा अघिल्लो पटक चुनाव जितेका मुख्यमन्त्री राउतले मधेसी जनतालाई दिएको आश्वासन पूरा गर्न नसकेको भन्दै राउतका निर्वाचन क्षेत्रका जनता उनीप्रति रूष्ट छन्। एमालेसँग जनता समाजवादी पार्टीले गरेको गठबन्धन र मुख्यमन्त्री राउतले पाँच वर्षमा गरेको भ्रष्टाचार तथा निर्वाचन क्षेत्रमा भएको बजेट दुरूपयोगका कारण चुनावी महौल मख्यमन्त्री विपरीत बन्दै गएको छ।
विगतमा मधेसीदलको लागि भोट बैंकको रूपमा रहेको नगवाका राकेश चौरसियाले भन्नुभयाे, ‘मुख्यमन्त्रीका अधिकांश ठूला योजनाहरू अलपत्र परेको र आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई ठेक्का दिएर कमिशन खाएकाले बनेका सडकहरू पनि कतिपय ठाउँमा एक वर्ष नबित्दै भत्किन थालेका छन्।’
एमालेसँग गठबन्धन भए पनि जसपाका नेताहरूले एमालेको भागबन्डामा परेको क्षेत्रमासमेत बागी उम्मेदवारले उठाएको हुँदा गठबन्धनलाई ठगबन्धन भन्न थालिएको छ। एमालेको कुरा छोड्नुस पार्टीकै नेताहरू मुख्मन्त्री नजितुन् भने चाहनामा रहेको जसपाका एक नेताले दाबी गर्नुभयाे। केन्द्रीय अध्यक्ष उपेन्द्र यावदका खास मान्छेको रूपमा चिनिने ती केन्द्रीय सदस्यले मुख्यमन्त्री राउतले जिते पनि निलम्बनमा पर्ने ठोकुवा गर्नुभयो। उहाँले भन्नुभयाे,  ‘केन्द्रीय अध्यक्षको भनसुनले मात्रै साइकल खरिद सम्बन्धी मुद्दाबाट मुख्यमन्त्री जोगिनु भएको हो तर अहिले त्याेसँग अन्य धेरै मुद्दाको छानबिन भइरहेको छ र उहाँले चुनाव जितिहाले पनि निलम्बनमा पर्ने निश्चित छ।’ उहाँ भन्नुहुन्छ, ‘मुख्यमन्त्री कार्यालयबाट योजना तथा साइकल खरिदसम्बन्धी दोस्रो लटको फाइल र छोरी बिमा कार्यक्रमबारे बैकहरूसँग भएको मिलिभगत लगायतका मुद्दाकाे समेत छानबिन भइरहेको छ। निलम्बनबाट जोगिने कुरै छैन।’
पाँच वर्षे कार्यकालमा भएको भ्रष्टाचार र आफूले गरेका प्रतिवद्धता पूरा गर्न नसकेकाले चुनाव जित्न कठिन देखिन्छ। पर्सा जिल्लाको पोखरीको सौन्दर्य वृद्धि गर्ने नाममा आएको बजेट दुरूपयोग भएको छ। त्यस्तै आफ्नै दलको प्रदेश सभासदस्यको निर्माण कम्पनीले अधिकांश ठेक्का पाउनु संयोग मात्र नभएको भन्दै मुख्यमन्त्रीका विपक्षी र स्थानीय सञ्चार माध्यमले उठाएको प्रश्नमा मुख्यमन्त्री मौन बस्नुले विपक्षीहरू चुनावमा झन् आक्रामक बन्दै गएको स्पष्ट हुन्छ।
आफ्नै कार्यकर्ताद्वारा लक्षुमनवामा निर्माण गरिएको तरकारी बजार अलपत्र छ, पर्यटन पूर्वाधारका लागि मुख्य मन्त्री राउतले हालसम्म ७ अर्ब रूपैयाँ खर्च गर्नुभएकाे छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘विदेशी जेहादी’ बाट चन्दा लिएको आरोप
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link