समातिएको फर्जी मतपत्रका मालिक को?  

अनिल तिवारी

भारतबाट अवैध रुपमा भित्र्याइएको १५ हजार थान नमूना मतपत्र सहित पर्साको जानकीटोला नाकाबाट एक भारतीय पक्राउ परेपछि उक्त मतपत्र कसले मगाएको भनेर आरोपप्रत्यारोप सुरु भएको छ। ती नमूना मतपत्र सहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै मंगलबार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिले बताउनुभयो।
नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको गिरीले बताउनुभयो।
प्रनाउ गिरिले भन्नुभयो, ‘ कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केही खुल्न सकेको छैन , अनुसन्धान जारी छ।’

भारतीय सीमासँग जोडिएको पर्साको क्षेत्र नम्बर ४ का अधिकांश बुथलाई सुरक्षा समितिले संवेदनशील भएको भन्दै सुरक्षा व्यवस्थालाई कडा बनाइएको पर्साको प्रहरी प्रमुख रमेश बस्नेतले बताउनु भयो ।
अवैध रुपमा भित्रियाइएको मतपत्र सहित पक्राउ परेका भारतीय नागरिक अहमदलाई कुन ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतसँग समन्वय भइरहेको पनि गिरिले जानकारी दिनुभयो।

कांग्रेसको चुनाव चिन्ह रूख बाहेक अन्य सबै दलको चुनाव चिन्ह रहेकाले ती मतपत्रहरू पर्सा क्षेत्र नम्बर ४ का नेकपा एमाले र जसपाका उम्मेदवारहरूले मगाएको हुन सक्ने नेपाली कांग्रेसका युवा नेता राकेश यादवको आरोप छ  । यादव भन्नुहुन्छ, ‘ एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार जालीम मियाँ र जसपाका प्रदेशसभा सदस्य उम्मेदवार सिंहासन साह कलवारले नै चुनावमा धाँधली गर्न भारतबाट फर्जी मतपत्र मगाएका हुन सक्छ ।’ मंसिर ४ गते हुने चुनावमा पर्सा क्षेत्र नम्बर ४ बाट एमाले जसपाको गठबन्धन हार्ने निश्चत भएको कारण उनीहरूले चुनावमा धाँधली गर्ने उद्देश्यले त्यति ठुलो संख्यामा मतपत्र मगाएको युवा नेता यादवको आरोप छ ।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link