एक किलो मासुमा एक भोटः पर्सामा आचारसंहिताको व्यापक उल्लङ्घन

अनिल तिवारी

निर्वाचन आयोगको अनुगमन फितलो भएकोले  पर्सामा आचारसंहिताको व्यापक उलङ्घन भएको आरोप लागेको छ । स्थानीयको आरोप अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा जसपाका कार्यकर्ताले .छातामा भोट माग्दै घरघरमा मासु वितरण गरेका छन । मुख्यमन्त्री लालबाबु राउत र प्रदीप यादवलाई भोट माग्दै नगवा स्थित डबरी टोलमा एक किलोको दरले मासु बाँड्दै हिँडेको भिडियो तथा फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
निर्वाचन आचार संहिता अनुगमन समितिले आचार संहित उल्लङ्घनका घटनामा चासो नदेखाएको कारण मौन अवधिमा मतदातालाई प्रभावित पार्न केही राजनीतिक दलका उम्मेदवार रातको समयमा मतदाताको घरदैलोमा पुगेको भिडियो समेत सार्वजनिक भएका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता विपरितका कामकारवाहीलाई जिल्ला स्थित निर्वाचन कार्यालय र अनुगमन समितिले समेत वास्ता गरेको छैन। पर्सा निर्वाचन क्षेत्र नं. १ बाट जसपाको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादव शुक्रबार राती १० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ को नगवा स्थित एक घरबाट निस्केको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रदीप नेपाल प्रहरीको आफ्ना सुरक्षा गार्ड सहित मतदाताको घर घरमा पुगेको देखिएको छ। 
सामाजिक सञ्जालमा आएको भिडियोमा सुरक्षागार्ड सहित प्रवेश गरेको देखिन्छ । घरको मूल गेटमा पुगेपछि सुरक्षागार्डलाई गेटमा राखेर प्रदीप घरभित्र छिरेको देखिन्छ। 

यस सम्बन्धमा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले सामाजिक सञ्जालमा आएको भिडियो आफूले हेरेको बताउनुभयो। उहाँले यस विषयमा जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतले नै कारवाही गर्न सक्ने भएकोले उजुरीकर्तालाई उतै सम्पर्क राख्न भन्नुभएको बुझिएको छ ।
निर्वाचन आयोगले तोकेको मौन अवधिमा कुनै पनि राजनीतिक दलका उमेदवारले प्रचारप्रसार गर्न नपाउने भनिएता पनि जिल्ला स्थित निर्वाचन अनुगमन समितिले प्रभावकारी अनुगमन गर्न नसक्दा आचारसंहिता उल्लङ्घनका घटना बढेको बताइएको छ ।
मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले यस सम्बन्धमा भन्नुभयो “सामाजिक सञ्जालमा आएको विषयलाई आयोगको केन्द्रीय कार्यालयबाट अनुगमन भइरहेको छ।” मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी परेका निवेदनलाई मात्र छानविन दायरामा ल्याइएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो।
एमालेका उम्मेदवार जालिम मियाको छोरा पक्राउ
नेपाली सेनाले गस्तीको क्रममा एमाले दबङ उम्मेदवार जालिम मियाको छारोलाई चेकजाँचको क्रममा पक्राउ गरेको छ। मियाको माहिलो छोरालाई  नक्कली मतपत्र सहित पक्राउ गरेको हो । जालिम मियाको  छोरा सहिर मियालाई शनिबार दिउसो गाडीमा प्रचार प्रसारका सामग्री लिएर हिँडेको अवस्थामा नक्कली मतपत्र र स्वस्तिक छाप सहित पक्राउ गरिएको जनाइएको छ । सहिर मियासँगै गाडीका चालक सुरज साहलाइ पनि सेनाले नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागी पर्सा प्रहरीलाई बुझाएको छ।
शनिबार दिउँसो कालिकामाइ गाँउपालिका वडा नम्बर १ मुडलीमा सवारी साधन चेकजाँचका क्रममा बा १४ च ४७४८ नम्बरको हाइलेक्स गाडी रोकेर सेनाले चेकजाँच गर्दा गाडी भित्रबाट नक्कली मतपत्र ५९८ थान र स्वास्तीक छाप ४ थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।
मौन अवधीको समयमा चुनाव प्रचार प्रसारका लागि कुनै पनि गतिविधी गर्न नपाइने भएपनि गाडीमा मतपत्र र स्वास्तिक छाप बोकेर हिँडेको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको गिरीले बताउनुभयो ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link