सहकारी सञ्चालकको मनपरी: बचतकर्ताको रकम जोखिममा

रूपन्देहीमा रहेका सहकारीहरू पछिल्लो समय एकपछि अर्को संकटमा फस्दै गएको पाईएको छ। रूपन्देहीको बुटवलमा रहेको शिव शिखर, सुप्रिम,आगन्तुक सहकारीहरूमा हाल बचतकर्ताहरूले रकम निकाल्न नपाएको चरम समस्याको बाहिर आएको छ।

लुम्बिनी प्रदेश सहकारी विकास वोर्डको उपाध्याक्ष टिकाराम पोखरेले प्रदेशमा सञ्चालनमा आएका केही सहकारीहरूमा समस्या देखिएकोले सरकार कानुनी प्रकृया अगाडि बढाएको वताउनु भयो।सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान विषयक एक कार्यक्रममा बोल्दै पोखरेलले सहकारीको मर्म भन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालनहरूको चलखेल गर्दा यस्तो समस्या देखिएको वताउनुभयो।

उहाले बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफुखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सकृयताले मात्र समाधान गर्न सकिने वताउनु भयो।उहाँले भन्नुभयो,” त्यसका लागि हामीहरू गृहकार्यमा छौ, छिटै  देखिने गरी काम गर्ने छौं।”

लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार  भिम प्रसाद तिवारीले  सहकारीमा सुशासन नभएको अनुभव सुनाउँदै आफु आएको दुई महिनामा ५० भन्दा धेरै सहकारीमा प्रत्यक्ष  पुगेर कतिपय सहकारीलाई सुधार गर्न निर्देशन दिएको यद्यपी नमानेमा कानुनी दायरमा ल्याईने खवरदारी गरेको वताउनु भयो। सहकारी मुल्य मान्यता पालना नगरेको, गलत लेखा परिक्षण गरी सहकारी चलाएको जस्ता कारणले  पछिल्लो समय सहकारीमा समस्या देखिएको वताउनु भयो। उहाँले सहकारी उत्पदान मुलक काम गर्नु साटो पैसाको किनबेचमा लागेको सहकारी समस्याग्रत देखीएको वताउनु भयो।

प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा समस्या नभएको दावी गर्दै, कारोबारी सदस्य बनाएका सहकारीहरूमा समस्या रहेको वताउनु भयो। अध्यक्ष नेपाले भन्नुभयो, २”०६४ सालमा बुटवलमा रहेको स्वर्णिम सहकारीमा पनि आर्थिक अपादर्शिता कारण यस्तै समस्या हामीकहाँ आयो। हामीले त्यसको बारेमा अनुगमन गरी नागरिकको पैसा फिर्ता गर्न तर्फ सफल भयौं।” त्यसैले अहिले बजारमा आएको समस्या हल गर्न कुनै काम बाँकी नराख्ने भन्दै सहकारी सञ्चालकलाई यथाशिघ्र समस्या समाधानमा लाग्न उहाँले आग्रह गर्नु भयो।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी संस्थाले कारोबारी सदस्य बनाएका कारण समस्या निम्तिएको जनाउँदै, वित्तिय अनुसाशन पालना नहुँदा, अनुपातमा बचत संकलन गरी ऋण एकल रूपमा वढि गरेकाले सहकारीहरू धरापमा पर्न थालेको वताउनु भयो। सहकारी सञ्चालनका लागि बाहिरी ऋण लिने चलन रहेको र क्षमता भन्दा वढि रकम संकलन गरी उक्त रकम बाहिर लगानी गरेको पैसा नउठेपछि बचतकर्ताहरूलाई फिर्ता गर्न नसकेको रहस्य खुलाउनु भयो।

जिल्ला सहकारी संघ रूपन्देही अध्यक्ष भिम तुलाचनले सहकारीमा सरलीकरण र सहजीकरण नहुदा आर्थिक सुशासन कार्यन्यन नहुदा सहकारीमा बथेति भएको बताउनु भयो।। जसले गर्दा नागरिक पैसा जोखिममा पर्न नदिनको लागि अव आफुहरू चुप लागेर नवस्ने उहाँको भनाई छ।

बुटवल उपमहानगरपालिका अन्तरगत सहकारी शाखा प्रमुख गुनाखर खनालले उपमहानगरमा दर्ता भएका १ सय ३६ वटा सहकारीमा कुनै समस्या नभएको बताउनुभये। प्रमुख खनालले भन्नुभयो, “उपमहानगरमा ६० हजार शेयर सदस्य रहेको र ७ अर्ब ४० करोड लगानी भएको समेत रहेको छ।”  उहाँले कृषि बहुउद्देश्य सहकारी १२ वटा ग्रामिण क्षेत्रमा रहेको जनाउँदै बजार क्षेत्रमा कुनै सहकारी दर्ता नगरेको उल्लेख गर्नु भयो।

तिलोत्तमा सहकारी संघका प्रमुख कृष्ण पाण्डेले तिलोत्तमा नगरभित्र अन्य सहकारीहरूमा कुनै समस्या नभएपनि नगरभित्र रहेको एक कल्पबृक्ष सहकारीमा समस्या रहेको पाइएको वताउनु भयो।

शिव शिखर सहकारीबाट पिडित बनेका यज्ञ सापकोटाले नियमन निकायमाथि आक्रोस पोख्दै सहकारीहरूले यसैगरी नागरिकको पैसा नदिएमा प्रेम प्रसाद आचार्य जस्तै गरी सहकारी कार्यालय अगाडि गएर  धेरैले आत्मदाह गर्न बाध्य हुने दिन आउन सक्ने वताउनु भयो

उहाँले आफुले १० हजार रुपैयाँ समेत निकाल्न महिना दिनदेखि धाउँदा पनि नपाएको भन्दै सो सहकारी एउटा डिपाटर्मेन्ट स्टोर सञ्चालन गरेको र पैसा लिन जानेहरूलाई सामान हात लगाईने गरेको वताउँदै बजार मुल्यभन्दा अत्यधिक कालोबजारी मुल्यमा लादेको आरोप लगाउनु भयो। नेपाल पत्रकार महासंघ रूपन्देहीका सल्लाहकार दिनेश पाण्डेले काठमाडौँ मोडेल नामको बुकलेट शुत्र अनुसार चल्दा केहि सहकारीहरूले नागरिकको पैसा जोखिममा रहेको स्पष्ट पार्नु भयो। उहाले सहकारीहरूमा बेथितीहरू नियन्त्रण गर्न  छिटै कार्यदल गठन गरी समस्याको समाधान गर्न सुझाव दिनुभयो।

लुम्बिनी प्रदेशमा २०७७ को तथ्याङ्ग अनुसार ३हजार ७५५ सहकारीले ४२ अर्व लगानी, ६० अर्व निक्षेप र ६ अर्व सेयर पुँजी रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link