सुर्खेत । बाल्यकालमै परिवारका सदस्यसँग मजदुरीका लागि कालापहाड जानु नेपालीको बाध्यता हो । त्यही बाध्यताको कसीमा कसिएका धेरै मध्येका एक चन्द्र बहादुर शेर्पा हुन् । बालक अवस्थामा आमासँग भारत गएका उनी अहिले ५५ वर्षका भए । आजसम्म पनि नत उनको जन्मदर्ता छ, नत नागरिकता नै । नेपाली नागरिक भएर जन्म लिए पनि अहिलेसम्म उनी अनागरिक जस्तै बनेका छन् । सानैमा बुबा गुमाएका चन्द्रबहादुर आमासँग कालापहाड गएका थिए ।
कालापहाड पुग्दा आमाले अर्कैसँग बिहे गरेपछि उनी बिचल्लीमा परे । उनको कालापहाडमै काम गर्न पुगेका पश्चिम दैलेखका सरुने सुजी लगायतसँग भेट हुन पुग्यो । उनीहरूले सँगै काम लगाए । चन्द्र बहादुर हर्कदै गए । अन्तः पश्चिम दैलेखका गगने र उनका साथीहरू घर फर्किनुपर्ने भयो । कालापहाडमा चन्द्रबहादुर एक्लै थिए । बिरानो त्यो भूमिमा उनको बुवा आमा कोही थिएनन् । आफन्तहरू हुने कुरै थिएन ।
सरुने सुजीको टोली फर्किने भएपछि लामो समयसँगै काम गरेका र आमा बुबा जे भनेपनि उनै सरुने सुजी र उहाँको टोली थियो । सरुने सुजी र उनको सबै टोली नै घर फर्किने कुराले चन्द्रबहादुरलाई एक्लो हुने चिन्ताले पिरोलिरहेको थियो । चन्द्रबहादुरलाई सरुने सुजीले आफैसँग घर लैजाने निधो गरे । सरुनेसँगै नेपाल फर्केका चन्द्रबहादुरले अहिलेसम्म नागरिकता बनाउन सकेका छैनन् । उमेरले ५५ वर्ष पुगे पनि अहिलेसम्म उनी अनागरिक भएर बसेका छन् ।
परिवारै अनागरिक सरह बाँच्नुपरेको गगनी विक बताउँछिन् । श्रीमानको नागरिकता र बालबच्चाको जन्मदर्ता बनाउन वर्षौ देखि धेरै प्रयास गर्यौ । न श्रीमानको नागरिकता बन्यो न त बालबच्चाको जन्मदर्ता नै’, गहभरी आँसु पार्दै उहाँले भनिन्, ‘जन्मदर्ता नहुँदा बालबच्चाको नाम स्कुलमा लेखिँदैन । बालबच्चाले पढ्न नपाएको पीडा सम्झिँदा मन भक्कानिन्छ ।’
ठाटीकाँध गाउँपालिका– ३ भुवाखाडामा बसोबास गर्ने उनीसँग जन्मदर्ता नै छैन । श्रीमती गगनी विकको भने माइतबाट बनाएको नागरिकता छ । तर, चन्द्रबहादुरको नागरिकता नहुँदा विवाह दर्ता समेत हुन सकेको छैन । जसका कारण उनीहरूका छ सन्तानकाे न जन्मदर्ता बनेको छ न त नागरिकता नै बनेका छन् ।
परिवारै अनागरिक सरह बाँच्नुपरेको गगनी विक बताउँछिन् । श्रीमानको नागरिकता र बालबच्चाको जन्मदर्ता बनाउन वर्षौ देखि धेरै प्रयास गर्यौ । न श्रीमानको नागरिकता बन्यो न त बालबच्चाको जन्मदर्ता नै’, गहभरी आँसु पार्दै उहाँले भनिन्, ‘जन्मदर्ता नहुँदा बालबच्चाको नाम स्कुलमा लेखिँदैन । बालबच्चाले पढ्न नपाएको पीडा सम्झिँदा मन भक्कानिन्छ ।’
उनीहरूको परिवारले जन्मदर्ता तथा नागरिकता पाउन ३५ वर्षदेखि संघर्ष गरिरहेका छन् । तर पनि नागरिकता पाउन सकेका छैनन् । वर्षौँदेखि वडादेखि पालिकासम्म पटकपटक धाउँदा पनि आफ्नो पीडा कसैले नसुनेको उनको परिवारको गुनासो छ । नागरिकता र जन्मदर्ता बनाउन विभिन्न बहानामा वडा कार्यालय नै बाधक बनेको गगनीले बताइन् ।
बालबालिका शिक्षाबाट बञ्चित
शेर्पा दम्पती र उनका सन्तान नागरिकता र जन्म दर्ता मात्र नभएर उनीहरूका सन्तान शिक्षाबाट समेट बञ्चित हुँदै आएका छन् । दुई छोरी पवित्रा र दीपाको विवाह भइसकेको छ । तर, उनीहरूले पनि विवाह दर्ता बनाउन सकेका छैनन् । अर्की छोरी दुधा १३ वर्षको पुगिन् । १६ वर्षीय छोरा जीवन, १२ वर्षीय राजन र १० वर्षीय सुनीलले पनि न जन्मदर्ता बनाउन पाएका छन् नत पढ्नै पाएका छन् । उनीहरूको जन्मदर्ता नहुँदा शिक्षाबाटसमेत बञ्चित हुँदै आएका छन् ।
आफ्नो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता र विवाह दर्तासमेत बनाउन नसकेको भन्दै गहभरी आँसु झार्दै गगनीले भक्कानिदै आफ्ना बेदना पोखिन् । गहभरीका आशुलाई एक छेउ लगाउदै गगनीले आफ्ना सन्तानको पठनपाठनमा पनि उस्तै समस्या भएको बताइन् । यतिका वर्ष अनागरिक भयौँ सरकार अब नागरिकता माग्न कहाँ जाऊँ ? गगनीको प्रश्न थियो ।
नागरिकता दिलाइदिनका लागि स्थानीय सरकार र आफुले निर्वाचित गराएर पठाएका नेताहरूसमक्ष नपुगेका होइनन् । सबै सामु जति हारगुहार गर्दा पनि कसैले चासो नदिएको उनको दुखेसो छ । छिमेकीका सन्तान उच्च शिक्षा पढ्न जाँदै गर्दा आफ्ना सन्तानले पढ्न नपाउँदाको पीडाले रातदिन सताउने गरेको गगनीले बताइन् । ‘नागरिकता नहुँदा रोजगारी समेत कसैले दिँदैन । परिवारको छाक टार्नै हम्मेहम्मे परिरहेको छ’, उनले भनिन्।
यो दम्पतीका सन्तान सरकारी विद्यालयमा पढ्न न्यूनतम सेवासुविधाबाट समेत बञ्चित हुँदै आएका छन् । घरनजिकै जन आधारभुत विद्यालयमा औपचारिक भर्ना नभए पनि सबैले कक्षा ५ सम्म पढेको कान्छी छोरी दुधाले बताइन् । ‘आफूभन्दा सानाहरू माथिल्लो कक्षामा जाँदा आफू उहीँ कक्षामा बसेर पढ्नुपर्दा जेठी र माइली दिदीले पढाइ छोड्नुभयो’, उनले भनिन् ।
शेर्पाको जन्मघर कहाँ हो भनेर नखुलेको ठाटीकाँध– ३ वडाध्यक्ष भरतबहादुर बम बताउँछन् । उनका अनुसार बुबाआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा समस्या भइरहेको छ । यो परिवारलाई जन्मदर्ता, नागरिकता दिलाउन आफूले जिल्ला प्रशासन कार्यालय धाइरहेको वडा अध्यक्ष बमले बताए । जिल्ला प्रशासन कार्यालयमा जाँदा कर्मचारीले बाटोमा हिँड्ने जो कोहीलाई नागरिकता दिन नसकिने जवाफ दिने गरेकोसमेत उनले बताए ।
यी बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारले चन्द्रबहादुरलाई नागरिकता दिएर सन्तानको पनि जन्मदर्ता बनाउनुपर्ने जन आधारभुत विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्रबहादुर शाही बताउनुहुन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी