जनगणनाका विविध आयामः महिला घरमूली बढे, कस्तो छ अन्य अवस्था ?

जनगणना २०७८

तारा वाग्ले

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २०७८, २५ कात्तिकदेखि ९ मंसिर सम्म संकलन गरेको जनगाणना सार्वजानिक गर्दै  नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८  पुगेको जनाएको  छ। गत वर्ष माघमै सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार भने नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार प्रारम्भिक तथ्यांकमाभन्दा करिब २८ हजार  जनसंख्या घटेको देखिन्छ।

महिलाको जनसंख्या ७ लाखले बढि

तथ्यांक अनुसार नेपालको कुल जनसंख्या मध्ये महिलाको जनसंख्या पुरुषको भन्दा वढि छ। राष्ट्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८को विस्तृत विवरण सार्वजानिक गर्दै  २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो। महिलाको भन्दा पुरुषको संख्या करिब ७ लाख कम रहेको  तथ्यांकमा उल्लेख छ। जस अनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) रहेको  उल्लेख छ। प्रतिवेदनमा लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ। गत २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.६ थियो।

महिला घरमूली बढ्दै

नेपालमा घरमूली रहेर परिवार चलाउने महिलाको संख्या बढ्दो छ। ३१.५५ प्रतिशतमा महिलाले परिवारको आर्थिक व्यवहार आफ्नो काँधमा लिएर कुशलतापूर्वक घर चलाउने गरेको तथ्यांक सार्वजानिक भएको छ।  शुक्रबार सार्वजानिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार  कुल ६६ लाख ६६ हजार ९३७ घरपरिवार मध्ये  ३१.५५ प्रतिशत परिवार  महिलाले चलाएका छन्। यो संख्या २०६८ को जनगणना भन्दा ५.८२ प्रतिशतले बढि हो। एक दशक अघि अर्थात  २०६८ को जनगणनामा २५ दशमलव ७३ प्रतिशत घरमा मात्र महिला घरमूली थिए।

तथ्यांक विभागका अनुसार जनगणना गर्दा कम्तिमा १० वर्ष उमेर पुगेको र परिवारको व्यवहार चलाउने भूमिका निर्वाह गरिरहेको आधारमा घरमूली मानिएको थियो। जसअनुसार ४५ लाख ६३ हजार ६५९ परिवार अर्थात् ६८.४५ प्रतिशत घर पुरुषले चलाउँछन् भने २१ लाख ३ हजार २७८ परिवार महिलाले चलाएका छन्। महिला अधिकारकर्मी तथा समाजशास्त्री मिना पौडेलको विचारमा महिला घरमूलीको तथ्याङ्क मात्रै नभइ सांस्कृतिक, सामाजिक र कानुनी दृष्टिले घरमूलीको परिभाषित गरिनुपर्छ। जनगणनाको प्रतिवेदनमा समाज परिवर्तन भइरहेको र सामाजिक सूचक परिवर्तन भइरहेको भए पनि कानुनीरूपमा परिभाषा प्रस्ट नभएको उहाँको तर्क छ।

हलाले घरव्यवहार चलाउनेहरुमा  पहाडी क्षेत्रका महिला अगाडी छन्। पहाडमा ३४ दशमलव ५७ प्रतिशत, तराईमा २९ दशमलव ३८ र हिमालमा २७ दशमलव ३० प्रतिशत घरमुली महिला छन्। त्यस्तै प्रदेशगतरुपमा हेर्दा  सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३४.५७ प्रतिशत घर महिलाले चलाएका छन् भने  सबभन्दा थोरै मधेस प्रदेशमा २१ दशमलव ७ प्रतिशत घरमा मात्र महिला घरमुली हरेका छन्।

जग्गामा महिलाको स्वामित्व बढ्यो

जनगणनाको पछिल्लो प्रतिवेदन अनुसार घर तथा जग्गामा महिलाको स्वमित्व पनि बढ्दो छ। कुल घरपरिवारमध्ये घर वा जग्गा माथिको स्वामित्व भएको महिलाहरूको सङ्ख्या २३.८ प्रतिशत पुगेको छ। २०६८ को जनगणना भन्दा यो १.१ प्रतिशतले बढी हो। प्रतिवेदन अनुसार  घर र जग्गा दुबै महिला सदस्यको स्वामित्वमा हुनेहरूको सङ्ख्या ११.८ प्रतिशत छ। केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०५८ सालमा नेपालका कुल परिवारमध्ये करिब १२ प्रतिशतले घर वा जग्गा महिलाको नाममा राखेका थिए। त्यस्तै २०६८ सालमा सो संख्या बढेर झन्डै २० प्रतिशत पुगेको थियो।

सरकारले करिव १४ वर्ष अघि महिलाका नाममा घरजग्गा नामसारी गर्दा कर छुट दिने व्यवस्था गरे यता अचल सम्पत्तिमा महिलाको स्वामित्व बढेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार हालसम्म २५ लाखभन्दा बढी महिलाले  कर छुटको सुविधा लिइसकेका छन्। सरकारले ग्रामीण क्षेत्रका महिलालाई ३० र सहरी क्षेत्रका महिलालाई २५ प्रतिशत दस्तुर छुट दिने गरेको छ। त्यस्तै एकल महिलाले भने थप १० प्रतिशत छुट पाउँछन्।

कर छुट नीति भएको कारण महिलाको नाममा घर जग्गा दर्ता गर्ने क्रम बढेपनि  सम्पत्तिको बेचबिखनमा भने पुरूष नै निर्णायक रहने गरको सरकारी अधिकारीहरू वताउँछन्। अधिकांश महिलाहरू पनि आफ्नै नाममा रहेको घर र जग्गाको समेत वास्तविक मालिक बन्न नसकेको  गुनासो गर्ने गर्छन्।   कानुनी रूपमा घर वा जग्गाको स्वामित्व पाएपनि धेरै्रजसो महिलाहरुले  त्यसप्रति आफ्नो स्वैच्छिक अधिकार भने अझैपनि पाउन नसकेको महिला अधिकारकर्मीहरू बताउँछन्।

तीन लाख बढि महिला विदेशमा

जनगाणनाको प्रतिवेदन अनुसार  तीन लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा  रहेका छन्। जवकी विदेश रहने पुरुषको संख्या १७ लाख ९९ हजार ६७५ जना (८२.२ प्रतिशत) रहेको छ। जनगणनामा करिब २२ लाख नागरिक विदेशमा रहेको देखिएको छ।  १५ लाख ५५ हजार ९६१ परिवारका कोही न कोही सदस्य विदेशमा रहेको देखिएको छ।

विदेशिनेको संख्या पनि एक दशक अघि भन्दा झण्डै ३ लाखले बढि हो।  २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए।

तराइमा बस्नेको जनसंख्या बढि

जनगणना अनुसार तराइमा बस्नेको संख्या बढि छ। भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६  लाख ३४ हजार ६ जना), पहाडमा ४०.३१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ। त्यस्तै प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ। जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं (२० लाख ४१ हजार ५८७ जना) र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ (५ हजार ६५८ जना) हो।

जनघनत्व बढ्यो

एक दशकमा नेपालको जनघनत्व पनि बढ्को छ। जनगणनाको नतिजाअनुसार जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जनाप्रतिवर्ग किलोमिटर रहेको छ।  जुन २०६८ सालको जनगणनामा जनघनत्व १८० वर्ग कि.मि. मात्र थियो। भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ। सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रतिवर्ग किलोमिटर) र सबै भन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ।

परिवारको संख्या बढ्यो

यसपटकको जनगणनामा परिवारको संख्या पनि बढेको देखिएको छ। जनगणना २०७८ अनुसार देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७  छन्। २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ रहेको थियो। तथ्यांक अनुसार व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन्। प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ। २०६८ सालमा ४.८८ जना रहेको थियो।

भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन्। परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तारा वाग्ले का अन्य पोस्टहरु:
जनगणनाका विविध आयामः महिला घरमूली बढे, कस्तो छ अन्य अवस्था ?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link