सुर्खेत । दिउँसो परेको पानीले खुलेको खुल्ला आकाश । वरिपरि हरियाली वातावरणको बीचमा भकुण्डो आकारको मनै लोभ्याउने बिजारे ताल । मौसम सफा भएको दिन वरपरको वातावरणमा प्रकृतिका मनमोहक दृश्य देख्न पाइन्छ । बसन्त ऋतुमा मनलाई चङ्गा झै उडाएर सुन्दर रमणीय ठाउँसम्म पुर्याउँछ । यहाँको पाटनले जो कोहीको मन पनि लोभ्याउँछ ।
गुन्यु चोलीमा सजिएकी युवती साँझ विहान घाँस दाउरा काट्न जाँदा र फर्किंदा लागेको लस्करले पाटनलाई झनै मनमोहक बनाउँछ । त्यही पाटनकाबीचमा एउटा आर्कषक, सुन्दर भकुण्डो आकारको बिजारे ताल छ । यहाँ आन्तरिक पर्यटक मनमोहक दृश्य हेर्नलाई दैनिकजसो पुग्छन् । कोही वर्षौदेखि आफ्ना हितैषी मित्रसँग भेटिँदाका अन्तर हृदयका गुम्सिएका कुरा फुकाउन पाटनमा बसेर मस्तले गफिन्छन् । गाई चराउने गोठाला केटाकेटीहरु विभिन्न खेल खेलेर पाटनमा रमाउँछन् । महिला पुरुष एकान्त ठाउँमा आफ्ना बेदना दुःख गाउन कानमा औँला राख्दै मधुर लयमा विगतलाई स्परण गर्दै ठाडी भाका गाउँछन् । बिजारे क्षेत्र, छ नै त्यस्तो । यसले जो कोहीलाई मोहनी लगाई छाड्छ ।
दैलेखको ठाटीकाँध गाउँपालिका २मा अवस्थित बिजारेचौर पर्यटकीय सम्भावना भएको क्षेत्र भएपनि प्रचारप्रसार र पूर्वाधार निर्माणमा स्थानीय तहको चासो नभएकोले ओझेलमा परेको गुनासो स्थानीय वासिन्दाको छ । एक स्थानीयले भने, पर्यटकीय सम्भावना भएपनि यस तर्फ स्थानीय सरकारको चासो छैन । यहाँ पर्यटक प्रवद्र्धन गर्न सकिने सम्भावना प्रशस्त भएपनि अहिले गुमनाम अवस्थामा छ ।
यहाँ वैशाख र जेठ महिनामा काफल र एैँसेलु टिप्न जानेको घुइँचो लाग्छ । वसन्त ऋतुमा कोइली र न्याहुलाको सुमधुर आवाजले रनवन नै घन्किएको हुन्छ । चराचुरुङ्गीको चिरविर गुञ्जिँदा र रुख विरुवामा नयाँ पालुवा पलाउँदा बिजारे पाटन क्षेत्र झनै मनोहारी देखिन्छ । चौरमा बसेको युवा युवती र यहाँ घुम्न आएका आन्तरिक पर्यटकलाई कोईलीको मिठो स्वरले मन्त्रमुग्ध बनाउँछ । यहाँ पसेपछि अन्त कतै जान मन लाग्दैन । यहीँ बसेर चराका मीठा आवाज सुनिरहुँ जस्तो लाग्छ । वर्षात र हिउँदमा उठेका कुहिरोसँग लुकामारी खेल्न मन व्यस्त हुन्छ ।
देशमा संघीय सरकार गठन भएर बिजारे क्षेत्रसम्म जाने सडक पुगेपछि यहाँ मानिसको बसोबास र बस्ती पनि बढ्न थालेको छ । पहिले फाट्टफुट्ट रुपमा देखिने घरको संख्या अहिले धेरै पुगिसकेका छन् । स्थानीय जित बहादुर विष्टले बताउनु भयो, यहाँ पश्चिम दैलेखका अधिकांश विद्यालयबाट शैक्षिक भ्रमण र वनभोज खान आउने गरेका छन् । यहाँ जाडो मौसममा भन्दा गर्मी मौसममा वनभोज खान धेरै मानिस आउँछन् । विष्टले भन्नुभयोे, ‘गर्मियाममा घामले तातेका जिउलाई शीतल बनाउन यहाँ आउँछन् । यहाँ चिसो हावा सररर…. चल्ने भएकाले पनि गर्मियाममा धेरै पर्यटक आउँछन् ।’ बिजारे पाटन नजिकै धौलापडा गुफा, ठुला छहरा र थुल्छडी झरना भएकाले पनि यस क्षेत्रलाई पश्चिम दैलेखको महत्वपूर्ण र रमणीय स्थान मानिन्छ ।
जहाँ वार्षिक मेला लाग्छ
समुन्द्र सतहदेखि करिब २३ सय मिटर उचाइमा रहेको बिजारे पाटनमा वर्षको एकपटक मेला लाग्ने गर्दछ । हरितालिका तीजको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ । हरितालिका तीजको अवसर पारेर चामुण्डा र आठविस नगरपालिकाका नारी र चेलीहरु तीजमा नाच्न यहाँ आउँछन् ।
ठाटीकाँध गाउँपालिका पुर्व अध्यक्ष धीरबहादुर शाहीले बताउनु भयो, प्रचार प्रसारको कमीका कारण र ओझेलमा पर्दै गएको पर्यटकीय स्थल हो भनि पर्यटन मन्त्रालयको पार्ट २ कार्यक्रम अन्र्तगत यहाँ सडकको ट्रयाक खुलेपछि अहिले ठाटीकाँध बजारबाट यहाँ पुग्न सहज भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई बिजारे पाटन पुग्नका लागि असजिलो नहोस् भन्नाका लागि सडक स्तरोन्नती गर्न अहिले ठाटीकाँध बजारबाट काम सुरु भइसकेको जानकारी ठाटीकाँध गाउँपालिकाका सव इन्जिनियर लवराज सिजापतिले दिनुभयो । सिजापतिका अनुसार, ठाटीकाँधबाट बिजारे पाटन हुँदै धमकोटसम्मको सडक स्तरोन्तीको काम शुरु भइसकेको छ । यस योजनाको लागि संघ र पालिकाको साझेदारीमा १ करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । यो कामको स्टिमेट रकम १ करोड ३५ लाख २४ हजारको रहेपनि ५९ लाख ८१ हजारमा काम सम्पन्न गरिने सम्झौता भएको छ ।
पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको बिजारे पाटनमा स्थानीय पालिकाकाले बस्ति विकास गर्ने योजना बनाएको बताए पनि अहिलेसम्म बस्ति बसाउने योजनाको प्लानिंग हुन सकेको छैन ।
दैलेख जिल्लामा थुल्छडी र व्दारी झरना यस क्षेत्रका गहना मानिन्छन् । व्दारी झरना क्षेत्र नं १ को सदरमुकामबाट ७ कोश टाढा पर्छ । थुल्छडी झरना चाहिँ बिजारे पाटनबाट डेढ किलोमिटर परको खाँेचमा रहेको छ । पाटनबाट करिब तीन घण्टा पैदल यात्रा गरेमा ठाटीकाँध ३ मा रहेको मदान तालमा पनि पुग्न सकिन्छ । यहाँबाट नाघे गुफा, व्याउली लेख, तीनचुलीको अग्लो शीर जस्ता अग्ला डाडाहरुको दृश्यावलोकन गरेर आनन्द लिन पाईन्छ ।
बिजारे पाटनबाट बर्दियाको राजापुर, बझाङको अपि सैपाल हिमाल, जाजरकोट जिल्लाका केही हिमाल, सुर्खेत माथिका लेक लगायत टाढाका अन्य हिमालहरु देख्न सकिने जानकारी स्थानीय प्रेम रामजालीले दिए । ठाटीकाँध २ र ३ र ५ नम्बर वडामा राष्ट्रिय चरा डाँफे मुनाल, मयुर, बाघ, रतुवा, घोरल लगायतका विभिन्न प्रजातिका बन्यजन्तु र चराचुङ्गीको वासस्थान छ । पछिल्लो समय यी ठाउँमा भएका चराचुरुङ्गी र जनावरको चोरीसिकारी बढ्दै गए पनि नियमन निकाय बेखबर रहेको गुनासो स्थानीय वासिन्दाको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी