उमेरले असी उकालो पुगिसक्दा पनि कलाकार शारदा चित्रकारलाई कलाकै चिन्ता र चासो छ। कलाकै धपेडी र ध्याउन्नमा उहाँका वर्तमान दिनहरू व्यतीत भइरहेछन्। काठमाडौंको तँलाछेँ टोलमा वि.सं. १९९७ सालमा जन्मनुभएकी कलाकार शारदा चित्रकार पहिलो महिला उपकुलपति र कलाक्षेत्रमा पहिलो महिला प्राज्ञसमेत हुनुहुन्छ। नेपाली चित्रकला र लोककलाको विकास एवम् तिनको संरक्षण एवम् संवर्द्धन कार्यमा उहाँको योगदान रहँदै आएको छ। यसका साथै नेपाली महिला कलाकारहरूको उत्थानमा पनि उहाँले काम गर्दै आइरहनुभएको छ।
नेपालका सुप्रसिद्ध कलाकार मास्टर तेजबहादुर चित्रकार र मनकेशरी चित्रकारका सुपुत्री हुनुहुन्छ कलाकार शारदाले बाल्यकालीन अवस्थादेखि नै चित्रकलाकै वातावरण पाउनुभयो। बुबाले त्यो बेला घरमा चित्रकलाकै नि:शुल्क कक्षा लिनुहुन्थ्यो। बिहानदेखि बेलुकासमम्म उहाँको घरमा …
