मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध

चिनिया कन्सुलरले वितरण गरेको चाइनिज साइकल जलाइयो

अनिल तिवारी

वीरगन्जमा चिनिया दूतावासको विरोधमा प्रदर्शन भएको छ। मधेसीलाई अपहेलित गरेको भन्दै चिनिया दूतावासको विरोध प्रदर्शन भएको हो। वीरगन्जमा चिनियाँ सहयोगको नाममा पुरानो र कमसल साइकल वितरण गरिएको भन्दै राष्ट्रिय विद्यार्थी परिषद्ले विद्यालयमा वितरण गरिएको चाइनिज साइकल जलाएको छ।

शनिवार वीरगन्जको प्रतिमा चौकमा चिनिया दूतावासको विरोधमा प्रदर्शन गर्दै विद्यार्थीहरूले चाइनिज साइकल जलाएका छन्। प्रदर्शनकारीहरूले “चीनको चलाखी अब चल्दैन ,मधेसीलाई अपहेलित गर्न पाइँदैन, मधेसलाई सम्मान चाहिन्छ, “पुरानो साइकल, नयाँ धोका हो, चीन अब हामीलाई मूर्ख नबनाऊ!“ जस्ता नाराहरू लगाउँदै चीनको विरोध गरेका छन्।

विद्यार्थी परिषद्का नेताहरूले चीनले सहयोगको रूपमा मधेस र मधेसीलाई अपमानित गर्न पुरानो र कमसल साइकल वितरण गरेको आरोप लगाएका छन्। विरोध प्रदर्शनमा आएका एक विद्यार्थी नेताले भने, “हामीलाई झूटो, पुरानो दान होइन, सफा नियत चाहिन्छ ,मधेसमा चीनको औपनिवेशिकरण चल्दैन , चीनमा फालिएको साइकल मधेसलाई दिएर सहयोग दिएको हो कि बेइज्जत गरेको हो ?“

प्रदर्शनकारी विद्यार्थीहरूले चिनियाँ हस्तक्षेप अस्वीकार्य भएको भन्दै मधेसलाई दानको नाममा फालिएको सामान होइन, सम्मान चाहिएको स्पष्ट पारे। आक्रोशित प्रदर्शनकारीहरूले वीरगन्जको नरसिंह माध्यमिक विद्यालयमा चिनिया कन्सुलरले एक महिना पहिला वितरण गरेका कमसल चाइनिज साइकलमध्ये केही प्रदर्शन स्थलमै जलाएका थिए।

प्रदर्शनमाको क्रममा स्थानीय बासिन्दा समेतको सहभागी भएका जनाइएको छ।उनीहरूले चिनियाँ सरकारको ‘सहयोग’को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेस विरोधी भएको आरोप लगाए।यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरियो भने कडा चीनको विरोधमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए।

चिनिया दूतावासको कन्सुलरले एक महिना अगाडि वीरगन्जमा वितरण गरेका साइकल पुरानो भएको स्थानीय विद्यार्थीहरूले खुलासा गरेका थिए। चीनको सिएफआरडिले विद्यालयको छात्राहरूलाई वितरण गरेको साइकल पुरानो र कमसल भएको आरोप वीरगन्जका बालिकाहरूको रहेको छ। एक महिना अगाडि मधेसको एक मात्र महानगरपालिकाको रूपमा रहेको वीरगन्ज महानगरपालिकामा सिएफआरडिको माध्यमबाट चाइनिज साइकल वितरण गरिएको थियो।

वीरगन्ज महानगरपालिकाको समन्वयमा वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ स्थित श्री नरसिंह माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयले त्यस विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेको थियो। विद्यालयमा आयोजित साइकल वितरण कार्यक्रममा चाइनिज दूतावासका कन्सुर वांग सिनको विशेष उपस्थिति र दुई सय साइकल वितरण गरिएको थियो।

सन २०२२मै नेपालमा साइकल वितरण गर्ने चीनको योजना रहेको थियो। जसले गर्दा साइकल पुरानै समयमा आयात भएको कारण साइकलहरूमा खिया परेको विद्यालयका एक शिक्षकको भनाइ थियो।

मुख्य रूपमा मधेस प्रदेशमा सक्रियता बढाउन चाइना दूतावास केही समय यता आफ्नो सक्रिय बढाएको छ। जस अन्तर्गत विभिन्न व्यापारको बहाना र मधेसी जनताको सामाजिक तथा शैक्षिक उत्थानका लागी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग शिक्षण सामग्री देखि साइकल वितरण कार्यक्रममा तीव्रता दिइएको छ। मधेस प्रदेश सरकारले विगतमा चलाइएको साइकल वितरण कार्यक्रमको लोकप्रियतालाई मध्यनजर गर्दै चाइना दूतावासले पनि यो प्रदेशको बालबालिकालाई साइकल वितरण कार्यक्रम सुरु गरेको बताइन्छ। तर सुरुमै वितरण गरिएको साइकल पुराना र कमसल भएको आरोप लागेपछि उसका पछिल्ला साइकल वितरण कार्यक्रमहरू ओझेलमा परेका छन्।

विश्लेषकहरू भन्छन्, “चीनले रणनीतिक रूपमा नेपालमा प्रभाव बढाउन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, यदि यी कार्यक्रमहरू सम्मानजनक र वास्तविक विकासका लागि नभए, यसले उल्टै चीन विरोधी भावना बढाउनेछ “।

स्थानीय विद्यार्थी समूहहरूले चिनियाँ सहयोगलाई “फेक डोनेसन“ भन्दै यसको कडा विरोध गरेका छन्। उनीहरूले मधेसलाई वास्तविक विकास चाहिएको बताउँदै सरकारलाई पनि “विदेशी हस्तक्षेपको चासोभन्दा नागरिकको सम्मान र आवश्यकतामा ध्यान दिन” आग्रह गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link