पाटनका मल्लकालीन नेवार राजा सिद्धिनरसिंह मल्लले मन्दिर, मूर्ति तथा वास्तुकलाका साथै अमूर्त कलातर्फ समेत धेरै रूचि लिए। हरेक वर्ष पाटन दरबार परिसरमा कात्तिक नाच नचाउने तथा शास्त्रीय सङ्गीतमा भजनहरू गाउन लगाउने परम्परा बसाले। चारसय वर्ष पूर्वका कृष्णका भक्त कवि राजाले कृष्णप्रतिको आस्थाबाट प्रेरित भई नेवार भाषामा थुप्रै भक्ति गीतहरू रचना गरे। ती गीतहरूमा प्रयोग गरिएका कतिपय शब्दहरू विभिन्न भाषाबाट आएको देखिएको हुँदा उपत्यका बाहिरका कला, संस्कृति, एवम् भाषाको प्रभाव उनीमा परेको बुझ्न सकिन्छ। उनले धेरै गीति कविता रागमालाको रूपमा लेखे। ती भक्तिगीतहरू विभिन्न ऋतु र पर्व सुहाउँदो रागमा त्यो बेलादेखि अद्यापि गाइने चलन छ।
ती भजनहरूलाई सङ्कलित गरी रागमाला सिर्जना गर्नुका साथै त्यसमा निपुण चित्रकारबाट एउटा विशाल कपडामा सुन्दर रङ्गीन चित्रहरू चित्रण गर्न लगाए। चित्रको तल्लो भागमा रागमालामध्येका ३१ वटा विशेषत: कृष्णलीलामा आधारित गीतहरू लेख्न लगाएका थिए। ती सबै चित्रहरूमा उज्यालो प्राकृतिक रङको प्रयोग गरिएको देखिन्छ। त्यसैले चित्रहरू अहिलेसम्म पनि सुन्दर र उत्तिकै ताजा देखिन्छन्। चित्रहरूमा रातो, पहेँलो र कालो रङ अधिकतम् प्रयोग गरिएका छन्।
हरेक चित्रमा प्रकृतिको मनोरम वातावरणमा फूल तथा रूखसँगै माथिल्लो भागमा हिमाल, पर्वत शृङ्खला, अनेक प्रकारका वनस्पति, तिनकै सेरोफेरोमा निर्धक्क उडिरहेका चराचुरूङ्गी, मध्य भागमा पानीमा पौडिरहेका माछाहरू, अन्य जलचरहरू तथा यस्तै अनेकौँ विषय चित्रण गरिएका छन्। चित्रमा प्रकृतिको सुन्दर मनोरम वातावरणमा विभिन्न भावका नारी र पुरूषको चित्रण गरिएको छ। तिनीहरूबीचको अगाध प्रेम चित्रमा प्रस्तुत भएको छ।
आफू स्वयम् भगवान कृष्णको भक्त भएका राजाले भक्तिको प्यास तथा ज्ञानको खोजमा लालायित भएको भाव ती चित्रहरूले देखाउँछ। चित्रमा मानव शरीरको अङ्ग अत्यन्त सुन्दर र प्रष्ट हुने गरी चित्रण गरिएको छ। अधिकांश चित्रमा महिला र पुरूषको चित्रण रातो र कालो रङको घेराभित्र राखेर गरिएका छन्।
कुनै चित्रमा महिलाहरू मात्र बाजा बजाइरहेका, कृष्ण बाँसुरी बजाइरहेका र गोपिनीहरू रमाएर नाचिरहेका छन्। खोपीभित्र पेय पदार्थ राख्ने भाडाहरू तथा वाद्यवादन प्रस्तुत भएका मानिसहरू पनि छन्। एउटा चित्र सायद बसन्त ऋतुको होला। रूखमा चराहरू रमाइरहेका देखिन्छन्। गोपीहरूको साथमा कृष्ण बाँसुरी बजाएर नाचिरहेको चित्रण गरिएको छ। अर्को चित्रमा गोठालाहरूको साथमा कृष्ण बाँसुरी बजाइरहेका जहाँ गोठालाहरूको साथमा साना–साना बाछाबाछी छन्।
सबै व्यक्तिका आँखा ठूला, नाक लामो र चुच्चो, हात खुट्टा लामो र मुख सानो देखिन्छन्। उक्त चित्रपटका एउटा चित्रमा मात्र आँखा कान दुबैतर्फ देखिने कृष्णको चित्र कोरिएको पाइन्छ। अधिकांश चित्रमा महिला र पुरूषका आधा अनुहार मात्र देखिने छड्के व्यक्तिचित्र कोरिएका छन्। त्यस्तै उनीहरूका खुट्टा पनि छड्के रूपमा कोरिएका छन्। महिलाले जिउमा टम्म मिल्ने गरी आधा भाग हात देखिने लुगा लगाएका छन्। तलको भागमा पेट देखिने गरी जामा लगाएका छन्। कतिपय चित्रहरूमा पारदर्शी जामाभित्र सुरूवाल जस्तो अर्को कपडा लगाइएको देखिन्छ। जसबाट कलाकारको कुशलता राम्ररी मापन गर्न सकिन्छ। पुरूषहरूका टाउकोमा फित्ता लगाइएका छन्। कृष्णले धोती लगाएको, अरू पुरूषहरूले कस्सिएका सुरूवाल र त्यस माथि पातलो जामा लगाएका छन्। कानमा झुम्का हातमा चुरा लगाएका महिलाहरूको कपाल लामो गरी छाडिएका छन्।
यस विशाल एउटा चित्रमा मुकुटधारी महादेवको चित्रण गरिएको छ। उनले गरगहनासहित मुण्डमाला लगाएका छन्। एउटा हातले पार्वती वा सतीदेवीलाई अङ्गालो मारेर अर्को हातले एक पुजारीलाई आशीर्वाद दिइरहेको देखिन्छ। महादेवको बाहन साँढे पनि अगाडि नै चित्रण गरिएको छ। यो चित्रमा पुजारीको साथ सुनका जलपले बनाइएका बुट्टेदार जामा जस्तो पहिरन लगाएका एकजना सायद सिद्धिनरसिंह नै हुन् भन्ने अनुमान गर्न सकिन्छ।
महादेवले आफ्नो अर्धाङ्गिनी सतीदेवीको मृत्युपछि तिनको शवलाई बोकेर ताण्डव नृत्य गरेको कथालाई भावपूर्ण रूपमा रातो रङको घेराभित्र चित्रण गरिएको छ। यस चित्रमा नारी र पुरूष बीचको गहिरो आत्मीय सम्बन्ध राम्रोसँग झल्किएको पाइन्छ। प्रेम र विछोडको मर्म र रोचक ढङ्गले चित्रण गरिएको छ।
यस भागमा चित्रित चित्र सम्भवत: राजा सिद्धिनरसिंह मल्लले आफ्नो व्यक्तिचित्र चित्रण गर्न लगाएको पाइन्छ जो उल्लेखनीय छ। यो चित्र भव्य र सुन्दर छ। विशेष प्रकारका बुट्टाहरूले सजिएको पहिरनमा चित्रण गरिएको राजाको आकृति अति आकर्षक देखिन्छ। उक्त चित्रमा आफू भगवान कृष्णप्रतिको अगाध आस्थामा समर्पित भएको देखाइएको पाइन्छ। तत्कालीन समयको विशेष बुट्टाहरूले सजिएको लुगा लगाएका र बुट्टामा सुनको लेपन गरिएको हुँदा ती चित्रमा सुनौलो रङको चमक अद्यापि देख्न सकिन्छ।
यस विशाल एउटा चित्रमा मुकुटधारी महादेवको चित्रण गरिएको छ। उनले गरगहनासहित मुण्डमाला लगाएका छन्। एउटा हातले पार्वती वा सतीदेवीलाई अङ्गालो मारेर अर्को हातले एक पुजारीलाई आशीर्वाद दिइरहेको देखिन्छ। महादेवको बाहन साँढे पनि अगाडि नै चित्रण गरिएको छ। यो चित्रमा पुजारीको साथ सुनका जलपले बनाइएका बुट्टेदार जामा जस्तो पहिरन लगाएका एकजना सायद सिद्धिनरसिंह नै हुन् भन्ने अनुमान गर्न सकिन्छ।
तत्कालीन समयमा प्रेमको भावभन्दा पनि देवता तथा देवीसँग राजाहरूले आफू शक्तिशाली हुन शक्तिसाधना गर्थे। यी चित्रहरू राजा सिद्धिनरसिंहको भगवान श्रीकृष्णप्रतिको भक्तिभावको एक स्वरूप मान्न सकिन्छ। त्यसैले अधिकांश चित्रमा कृष्णको आकृति नै बढी देखिन्छ। अर्को चित्रमा तीनजना महिला अति मलिन अनुहार लिएर टोलाइरहेका र पुरूष चाहिँ आकाशमा हात थापिरहेको जस्तो देखिन्छ। सो चित्रमा आकाश कालो रङमा साथै चित्रका पात्रहरू पनि कालो घेरामा राखिएका छन्। सायद यो चित्र राग मेघ मल्लारमा गाइने गीतभित्र पर्छ।
चित्रहरूमा प्रयोग गरिएका रङहरू प्राकृतिक तथा खनिज रङ प्रयोग भएको अनुमान गर्न सकिन्छ। प्राकृतिक रङ प्रयोग गरिएको कारण चित्रहरूमा अहिलेसम्म ताजापन नै देखिन्छ। चित्रमा प्राथमिक रङहरूको अधिक प्रयोगका साथै तत्कालीन समयमा लगाएका लुगाहरूको पारदर्शीपन चित्रकलामा उतार्न सक्नुलाई कुशल कलाकारिताको रूपमा लिन सकिन्छ। प्रत्येक चित्रमा ऋतु राग र समयानुसारका भावसंरचनाहरू समेटिएका छन्। यसले चित्रहरूको फरक सुन्दरताको झलक दिन्छ।
चित्र प्रदर्शन गरिएको स्थान नजिकै राखिएको अभिलेखमा सो चित्र मल्लकालीन शैलीको चित्र भनी उल्लेख गरिएको छ। तथापि चित्रको शैली, प्रस्तुति तथा विषयवस्तुको संरचना मल्लकालीन शैलीसँग त्यति मेल खाएको पाउन सकिँदैन। ती चित्रहरू कुन चित्रकारले चित्रण गरेको हो भन्ने कुरा खुल्दैन, किनभने पहिले चित्रकारको नाम लेख्ने चलन थिएन।
कला शैलीमा अन्तर्राष्ट्रिय प्रभाव स्पष्ट झल्किन्छ। विशेषत: १६औँ शताब्दीको राजस्थानी चित्रकलाको शैलीसँग मिल्दोजुल्दो छ। चित्रित पात्रहरूको लुगा र गहना तथा रूखहरूको चित्रण नियालेर हेर्दा नेपालको हावापानी सँग मिल्दो जस्तो देखिँदैन। अत: मल्लकालीन यी चित्रहरूलाई पौभाचित्रको रूपमा लिन सकिँदैन। बरू यी चित्रहरू राजस्थानी शैलीको निकट राखेर हेर्न सकिन्छ। राजस्थानी शैलीका तत्कालीन चित्रहरूमा यस किसिमको स्वरूप देख्न सकिन्छ। यी चित्रका कलाकार विदेशी हुन सक्ने धेरै आधारहरू छन्। यदि यस कृतिका कलाकार नेपाली नै हुन भने ती कलाकारले त्यस बखतको राजस्थानी र मुगल कलाशैली अध्ययन गरेर सिकेको हुनुपर्छ।
यो चित्र हरेक वर्ष जेष्ठ पूर्णिमाका दिन मात्र बाहिर निकालिन्छ। त्यस बखत दिनभर सिद्धिनरसिंह मल्ल रचित गीतहरू राग मिलाएर गाउने प्रचलन अद्यावधि कायमै छ। त्यस चित्रपटलाई दरबार सामुन्नेको डबलीमा मल्ल राजाकै राजसिंहासनको साथमा राखेर प्रदर्शन गरिन्छ। पहिले दर्शन गर्न दुर्लभ यो चित्रकला हाल जनसाधारणले अवलोकन गर्न सकिने गरिएको पाटन सङ्ग्रहालयमा राखिएको सङ्ग्रहालयका प्रमुख सुरेश लाखे बताउनुहुन्छ। उहाँका अनुसार सो चित्रको लम्बाइ १६४ सेन्टिमिटर र चौडाइ १४१ सेन्टिमिटर रहेको छ। पाटन सङ्ग्रहालय स्थापनापूर्व सो चित्र बेरेर राख्ने गरिन्थ्यो। यसप्रकार कपडामा बनाइएको चित्रकलालाई ‘बिलाँपौ’ भन्ने चलन छ। चित्रपट धेरै पुरानो भइसकेकोले ठाउँ–ठाउँमा रङ उप्किसकेको देखिन्छ। यसको संरक्षण अति जरुरी छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता