परम्परागत कलाकारितामा जिन्दगी बिताउनुभएका अग्रज कलाकार प्रेममान चित्रकार विगत एक दशकदेखि ओछ्यान पर्नुभयो। त्यसयता उहाँ घरबाट आक्लझुक्कल मात्र निस्किनुभयो। श्वासप्रश्वासमा समस्या भएपछि सिलिण्डरमा सङ्ग्रह गरिएको अक्सिजनको प्रयोग गर्न थाल्नुभयो। त्यसपछि उहाँको दैनिकीमा ठूलो आघात पुग्यो। तथापि खानेमुखलाई जुँगाले कहाँ छेक्न सक्छ र ? ओछ्यान परेका बेला घरिघरि उठेर भए पनि उहाँले चित्रहरू बनाइरहनुभयो। तिनलाई फेसबुकमा अद्यावधिक गर्दै आफ्नो सक्रिय कलाकर्मको परिचय दिन छाड्नुभएन तर दुर्भाग्य ! ओछ्यानको आराम र औषधिले पनि उहाँको रोग निको भएन। वि.सं. २०७७ साल साउन महिनाको आखिरी दिन उहाँले सदाका लागि यस धराधामबाट बिदा लिनुभयो। पौभाकलामा उहाँको अवसानले अपूरणीय क्षति हुन गयो। यो क्षति पूरा हुन अझ धेरै वर्ष लाग्ने छ।
शास्त्रीय शैलीका सिद्धहस्त कलाकार पुस्ताका सन्तानका रूपमा वि.सं. २००१ सालमा काठमाडौंस्थित भीमसेनस्थानमा उहाँको जन्म भएको थियो। प्रख्यात कलाकार बाजे बखतमान चित्रकार बुबा पृथ्वीमानका छोरा उहाँले पनि चित्रकलाको परम्परागत धारलाई नै मलजल गरेर हुर्काउँदै आउनुभयो। यसरी पुख्र्यौली रक्तनातासँगै चित्रकलाको रङमा घोलिएर हुर्किनुभएका उहाँ परम्परागत पौभा चित्रकला बनाउने प्रतिनिधि चित्रकारका अगुवा सर्जकसमेत हुनुहुन्थ्यो। त्यस्तै नेपाल परम्परागत कलाकार संघको अध्यक्षको जिम्मेवारीलाई पनि उहाँले पूरा गर्नुभएको थियो।
आफूहरू वंशानुगत चित्रकार भएको हुँदा आफ्नो जन्मजात पेसालाई छोडेर अन्यत्र लाग्नु आफ्नै जातिको नाश गर्नुजस्तै हुने उहाँको धारणा थियो। यसले गर्दा परम्परागत महत्वका कतिपय कला तथा संस्कृतिहरू हराउँदै गइरहेका छन्। बरु पश्चिमी प्रभाव भित्रिरहेको बताउँदै उहाँ यसलाई विकृतिको नमुना हो भन्नुहुन्थ्यो।
वास्तवमा प्रेममानलाई धेरै पढाएर मास्टर बनाउने पृथ्वीमानको ठूलो इच्छा थियो। टोलका अरू पढे–लेखेकाहरू ‘मास्टर’ भएका र तिनलाई सबैले ‘नमस्कार’ गर्दा मास्टरबाहेक अरू ठूला मान्छे हुँदैनन् भन्ने परम्परावादी भ्रम सायद परम्परागत कलाका चित्रकारलाई पनि लागेको थियो तर त्यस्तो सम्मान र इज्जतभन्दा ठूलो काम यही चित्रकला मात्रै हो भन्ने प्रेममानलाई त्यतिबेला लाग्थ्यो।
त्यसो त त्यो समयमा चित्रकारलाई कसैले मान्छे नै नगन्ने जमाना थियो। कलाको सम्मान तथा कलाकारको योगदानकै कदर गरिँदैन थियो। यस्तो स्थितिमा आफ्नो प्यारो छोरालाई यस्तो दु:खी व्यवसायमा लगाउन कुन बाबुआमा तयार हुन सक्थे होला र ? त्यसैले आफ्नो समयका प्रख्यात कलाकार भएर पनि पृथ्वीमानले आफ्नै छोरालाई चित्रकारिताबाट टाढै राख्न चाहेका थिए तर बुबाको इच्छा पूरा हुन सकेन। बुबाको सपना एकातिर, छोराको अर्कोतिर। अन्तत: अझ सशक्त किसिमले उहाँ बुबाकै बाटो लाग्नुभयो।
शास्त्रीय विधिपूर्वक पौभाकलाको थालनी उहाँको बाजे बखतमान र ठूलो बुबा माणिकमानले गर्नुभएको थियो तर त्यतिबेला उहाँहरूले गर्ने पौभाकलाको विधि केही फरक थियो। उहाँका अनुसार पौभा लेख्नु अगाडि उहाँहरूको विधिमा अलि कमी थियो। उहाँहरू सामान्य पूजा गरेर मात्र काम गर्नुहुन्थ्यो। पौभाकलाको सिर्जनामा आफूले शास्त्र अध्ययन गरी, देवीदेवताको मन्त्र पढी, एकाध घण्टा ध्यान–आराधना गरेर मात्र चित्र लेखनको सुरुआत गर्ने गरेको बानी थियो।
आफ्नो हातलाई मञ्जुश्रीको रूप मानेर मण्डला बनाइ त्यसमा पूजा गरी ठूल्ठूला पौभा लेख्दा रङहरू पनि विधिअनुसार पूजामा राखेर आफूले गर्ने गरेको कलाकार प्रेममान बताउनुहुन्थ्यो। त्यसबेला उहाँसँग जिज्ञासाहरू थुप्रै हुन्थे। एकपटक पौभाकलाको दीक्षा लिएको थाहा पाएपछि उहाँको ठूलोबुबाले पौभाकला बनाउन शास्त्रीय विधि पूरा गर्नुपर्ने तथ्य प्रकाश पार्नुभएको सम्झना पनि उहाँसँग ताजै थियो।
अन्तत: आफूले वि.सं. २०३० सालदेखि शास्त्रीय विधिअनुसार काम गर्न थालेको उहाँको भनाइ थियो। एउटा सन्दर्भ यहाँ स्मरणीय हुन्छ। सर्वप्रथम ‘बुद्धमहायान’ शीर्षकको पौभाचित्र बनाएर नेपाल ललितकला संस्थामा उहाँले भाग लिनुभएको थियो। उहाँ भन्नुहुन्थ्यो– ‘त्यही प्रदर्शनीमा मेरो बुबा पृथ्वीमानले पनि भाग लिनुभएको रहेछ। त्यो मलाई थाहा भएन। मैले दोस्रो र बुबाले पहिलो पुरस्कार प्राप्त भएको घोषणा हुँदा बुबा तीन छक्क पर्नुभयो। म पनि अचम्ममा परें। यस सुखद संयोगले मलाई यसै क्षेत्रमा अरू सक्रिय भई काम गर्ने उत्साह जाग्यो।”
त्यसपछि पौभाकलाको महत्वबोध मात्र भएन यसको संरक्षण, सम्बद्र्धनको जिम्मेवारी पनि आफूमाथि थपिएको महसुस उहाँलाई भयो। उहाँ यसको शास्त्रीय महत्वको खोजी, अध्ययन, अनुसन्धानतिर पनि लाग्नुभयो। उहाँका अनुसार पौभाकला शिल्पीले पूजाविधि पूरा गर्नुपर्ने, ध्यान, समाधि बस्नुपर्ने आदि कार्य गर्नुपर्छ। विधिपूर्वक नियममा बसी साधनामा डुबेपछि कलासिर्जनाले सार्थकता हासिल गर्न सक्छ।
१२ वर्षको उमेरमा आमाको देहान्तपछि प्रेममानले घरै माया मारेर हिँड्नुभयो। उहाँमा त्यसताका विरक्ति र हीनताबोधको पिरलोभन्दा बढी काम गर्ने धून र त्यसबाट बुबाको कठोर मन पगाल्ने सङ्कल्प थियो। त्यतिबेलै उहाँले दृश्यचित्र रचनामा प्रशस्त काम गर्नुभयो। चित्रकला बनाउने उपयुक्त ठाउँको खोजीमा उहाँले धेरै ठाउँ चहार्नुभयो। चित्रहरू पनि धेरै बनाउनुभयो। त्यसपछि परम्परागत शैलीलाई नै पछ्याएर उहाँ हिँड्नुभयो। आफूले त्यसमा नयाँपन र सैद्धान्तिक नियममा आधारित भई काम गर्न थालेको उहाँ बताउनुहुन्थ्यो। प्राचीन शिलालेख खोज्ने, अध्ययन गर्ने काममा पनि उहाँले केही वर्ष बिताउनुभएको थियो।
पौभाचित्रको बजार आज राम्रै हुँदै आए पनि यसको मौलिकता बचाउनेतिर ध्यान कमै गएको उहाँको अनुभव थियो। आधुनिक समयको प्रभावले कलाक्षेत्रलाई पनि अलग्ग राखेको छैन। हिजोआज पौभा सिर्जनाको शिल्प–विन्यास र नियमानुसार काम हुन छाडेको उहाँको ठहर थियो। बढ्दो व्यावसायीकरणले गर्दा परम्परागत सीपको ठाउँमा बनावटी विकृतिपूर्ण काम हुन थालेको दाबी उहाँ गर्नुहुन्थ्यो। आजका नयाँ पिँढीले यसमा सचेत हुनुपर्ने आग्रह उहाँ गरिरहनु हुन्थ्यो।
प्रेममान भन्नुहुन्थ्यो– ‘पौभारचना शास्त्रीय नियम बमोजिम हुनुपर्छ तर आज यस्तो नभइरहेकाले यसको बजार राम्रो छैन। अचेलका पौभाचित्रमा मुद्रा, देवताका आसन, वर्ण, हातको स्थिति तथा दायाँ–बायाँ हुने अरू देवमुद्रा आदि सबैमा शास्त्रीय विधि प्रयोग भएका छैनन्। परम्परागत नियम तथा सांस्कृतिक मान्यतालाई कम महत्व दिई ठग्ने प्रवृत्तिप्रति गुनासो गर्दै मौलिकता बचाउने कार्यमा एकमत हुनुपर्छ। यसो भएमा सुदूर भविष्यसम्म यो कलाले उच्च स्थान पाइरहन्छ।’
शास्त्रीय विधिसम्मत् एउटा पौभाचित्र निर्माण गर्न उहाँले वर्षौंको समय लगाउनुभयो। गहिरो मेहनत र निरन्तर साधना गरिरहनुपर्ने भएकाले चित्र बनाउन धेरै समय दिनुपर्ने उहाँको धारणा थियो। अचेल थोरै समयमै धेरै चित्र तयार गरिने हुँदा परम्परागत शैली हराउँदै गएको उहाँको अनुभव थियो। भोलिका पुस्ताले पौभाचित्रको मौलिक स्वरूप हेर्न कहाँ जाने भनी प्रश्न र चिन्ता गर्दै प्रेममान ‘यस्तै हो भने परम्परागत चित्रको कुनै अस्तित्व रहन सक्दैन’ भन्दै चिन्ता प्रकट गर्नुहुन्थ्यो।
जुनसुकै मानिसलाई पनि आनन्द दिने र सरल माध्यमले बुझाउने कला नै ‘चित्रकला’ हो भन्नुहुने प्रेममान त्यसमा शिल्प, सौन्दर्य, परम्परागत मान्यतासहित यथार्थ भाव अभिव्यक्त हुनुपर्ने बताउनुहुन्थ्यो। आज पौभाचित्रमा मात्र होइन अरू चित्रकला, मूर्तिकलाको पनि सिर्जना र त्यसको बजार खस्किरहेको छ। अझै पनि कलाप्रति रुचि जगाउन नसकिएको कुरा उहाँ गर्नुहुन्थ्यो। यसले गर्दा कलाकार, शिल्पकारहरू अन्य पेसातिर आकर्षित हुँदै गएको चिन्ता उहाँलाई थियो।
छ दशक अघिदेखि प्रेममान परम्परागत कलासाधना र सिर्जनामा एकोहोरिएर लाग्दै आउनुभयो। उहाँको अर्को तीतो सत्य यस्तो थियो– कलाको रचनादेखि त्यसको बजारको खोजी, बिक्री प्रबन्ध एवम् सुरक्षा व्यवस्था आदि सबै आपैmँले ब्यहोर्नुपर्छ। अर्को कुरा राजनीतिक प्रभावले यो स्वतन्त्र कलाक्षेत्रलाई पनि क्रमश: धमिल्याइ रहेछ।
वि.सं. २०३५ र २०४० सालमा भएको राष्ट्रिय कलाप्रदर्शनीमा प्रथम पुरस्कार पाउनुभएका कलाकारले त्यसभन्दा अगाडिका दुई वर्ष क्रमश: दोस्रो र तेस्रो पुरस्कार प्राप्त गर्नुभएको थियो। परम्परागत कलाक्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै २०५१ सालको ‘इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार’ बाट उहाँ सम्मानित हुनुभएको थियो। त्यस्तै ‘श्रेष्ठ एवार्ड’, ‘नरोत्तमदास–इन्दिरादेवी कला पुरस्कार’, ‘चन्द्र–अमर सिरपा’, ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ आदिसमेत उहाँले पाउनुभएको थियो।
(सबै तस्बिरहरू लेखक स्वयम्।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता