रङ्गीन चित्रहरूसहित ४६० पृष्ठको पुस्तक ‘प्रतिनिधि नेपाली कलाकार’ २०७८ साल लाग्दै गर्दा प्रकाशन भयो। यो पुस्तक लेखनमा मैले निकै समय खर्चिएको छु र दु:ख पनि त्यत्तिकै पाएको छु। सर्वप्रथमत: यो पुस्तक छापिनु नै ठूलो कुरा थियो। झन्डै एक दशकको प्रसव पीडापछि बल्लतल्ल छापियो। २०७० सालमै छापिनुपर्ने लगभग ७०० पृष्ठको यो पुस्तक प्रेसमा पुगेर बेखर बेवारिसे बन्न पुग्यो। पुनर्लेखन गरी लकडाउन–निषेधाज्ञाको त्राहिमाम जीवन र मरणको दोसाँधे समयलाई छिचोल्दै तयार भएर थप ९०० पृष्ठको बन्यो।
यसबीच कति अग्रज कलाकारहरूको निधन भयो। बाँचेकाहरूको लिखित परिचयात्मक विवरणलाई ‘अपडेट’ गर्नुको झमेला पनि झर्को लाग्दै थियो। कतिसम्म भने कति कलाकार आफूले जति काम गरे पनि चिनिएन भनेर चिनाउन मरिहत्ते गर्ने। कति चाहिँ आफूलाई चिनाउनै नचाहने। आवश्यक जानकारी दिन आलटाल गर्ने। आफ्नो र आफूले बनाएको चित्रको तस्बिरसमेत खिच्न र दिनै नचाहने। कति कलाकारहरू भने आवश्यकताभन्दा बढी विवरण दिएर लेखाउन मरिहत्ते गर्ने। कतिपयका चित्र छान्दाछान्दा छापिन लायकै नहुने। कतिका चाहिँ यो राखौं कि त्यो राखौं हुने।
पुस्तकमा वि.सं. १९८४–२०२७ अवधिमा जन्मेका १२५ नेपाली कलाकारहरूका कलागत शैली, विषयवस्तु, माध्यम, कलाप्रदर्शनी, पुरस्कार आदि विवरण र कलाप्रति उहाँहरूका दृष्टिकोण समेटिएका छन्। ९५ वर्षका जेष्ठ कलाकार गोविन्दनारायण ज्यापू हुँदै ५० वर्ष उमेरका विजय सर्ग ज्यापूसमेतलाई पुस्तकमा समेटिएको छ।
पुस्तकमा समसामयिक चित्र तथा मूर्ति विधामा समर्पित कलाकारका अतिरिक्त पौभा, मिथिला र अवधीकलाका साथै छापाकला, ग्राफिककला आदि विविध विधामा लोकप्रिय कलाकारहरूको परिचयात्मक विवरण छ। उपत्यकामा सिर्जनारत् कलाकार मात्र होइन झापादेखि नेपालगञ्ज, धनगढीसम्मका कलाकारहरूको चिनारी चित्रण गरिएको छ। यसले प्रतिनिधि नेपाली कलाकारहरूको चिनारीलाई अरू बढी फराकिलो बनाइदिएको छ। शैली, विषय, माध्यम र प्रविधिका दृष्टिले नेपाली कलामा देखापर्दै आएका विविध स्वरूप तथा परिवर्तनलाई पुस्तकले समेटेको छ। हुन त यो पुस्तक कलाको विश्लेषणयुक्त जीवनी पुस्तक होइन। यो नेपाली कलाकारहरूबारे लिखित सङ्क्षिप्त चिनारीमात्र हो।
प्रत्येक पटक एउटा ‘इमानदार लेखक’ भएर बाँच्नु र ‘विशुद्ध पाठक’ भएर पढ्नुको पृथक दूरी निकै आकासिँदो, अत्यास लाग्दो र आफैंमा अपत्यारिलो पनि छ। लेखक भएर सोच्दा सामग्री जुटाउनु, लेख्नु, छापिएपछि अपार हर्षले हठात् गद्गद् भइरहनु नै आत्मसन्तुष्टिको प्रारम्भिक बिन्दु रहेछ।
दिवङ्गतको कुरा छाडौं, कतिपय जीवितकै जीवनी लेख्नुपर्दा ठूलै अभावको सामना गर्नुपर्छ। वास्तवमा कलालेखन सजिलो छैन। सहज सुविधा केही उपलब्ध छैन। लेखनको रूखो विधामध्येको यो स्वयम् कलाकारहरूकै चासोको विषयअन्तर्गत पर्दैन।
स्मरणीय छ, पाण्डुलिपि तयारीपछि त्यसलाई प्रकाशन गर्नुको पीडा प्रत्येक लेखकले महसुस गरेका छन्। लेख्नु सजिलो होला तर पुस्तकको आकारमा उतार्नु अझै कठिन छ। यसबाहेक प्रकाशनका क्रममा भोग्नुपर्ने अनेक पीडा त नेपाली लेखकहरूको नियति नै हो। आफैंले छापेपछिको तनाव त भनिसाध्य हुँदैन। आफैं प्रकाशक, वितरक, पाठक आदि हुनुपर्छ। त्यसबाट प्राप्त हुने प्रतिफलको हिसाब नगरे हुन्छ। घाटाको घाउले घायलै बनाउँछ तर जब कसैको निगाहमा छापिन्छ वा कुनै प्रतिष्ठित संस्थाबाट छापिन्छ त्यसको कुरै अर्को हुने रहेछ। अर्थात् त्यसबाट पाउनुपर्ने प्रतिफल सबै प्रकाशककै हुने।
प्रसव पीडापछिको हर्षित–हर्षित मुस्कानले पोतिएको मुहार। बधाइ र शुभकामनाका अनेक–अनेक सौगातहरू। यी सँगै कति कटू र मृदु अनुभवहरू। भनिसाध्य हुँदैन, सुख दु:खका बग्रेल्ती बयानहरू। किताब लेख्नुको सकस। किताब निकाल्नु र निस्किनुको हर्ष ! अनि किताब निस्किएपछिको प्रतिक्रियाको प्रभाव र प्रहार !
प्रत्येक पटक एउटा ‘इमानदार लेखक’ भएर बाँच्नु र ‘विशुद्ध पाठक’ भएर पढ्नुको पृथक दूरी निकै आकासिँदो, अत्यास लाग्दो र आफैंमा अपत्यारिलो पनि छ। लेखक भएर सोच्दा सामग्री जुटाउनु, लेख्नु, छापिएपछि अपार हर्षले हठात् गद्गद् भइरहनु नै आत्मसन्तुष्टिको प्रारम्भिक बिन्दु रहेछ।
दिवङ्गतको कुरा छाडौं, कतिपय जीवितकै जीवनी लेख्नुपर्दा ठूलै अभावको सामना गर्नुपर्छ। वास्तवमा कलालेखन सजिलो छैन। सहज सुविधा केही उपलब्ध छैन। लेखनको रूखो विधामध्येको यो स्वयम् कलाकारहरूकै चासोको विषयअन्तर्गत पर्दैन। अरूका लागि पनि झन् खासै रूचिको विधा र विषय यो होइन। यस सन्दर्भमा कलासमीक्षा उर्वर हुनु र कलाकारका कलाकृतिले अन्तर्राष्ट्रिय ख्याति पाउनु कहिले हो कहिले !
यसैबीच प्रतिष्ठानको बजेटअनुसार पुस्तकमा लिखित सामग्रीहरूलाई आधा घटाउनुपर्यो। यसरी घटाउँदा कलाकारको मुख्य परिचयलाई प्राथमिकता राखेर पुनर्लेखनमा हिउँदको चिसो नभनी हिँडियो। चैतको हावाहुरी, वैशाखको गर्मी र झरीसमेत भनिएन। कोरोना कहरलाई पनि टेरिएन। ज्यान जोखिममा पारेर जीवित कलाकारका जीवनवृत्त तयार भयो। हुन त कति कलाकारको घर धाएर पनि हैरान भइएन। कति कलाकारलाई फोन सम्पर्कबाट पनि भेट्न नसकेर कम्ती हरेश खाइएन। कति कलाकारले भेट्नै नचाहेर कम आजित भइएन। छिटो सकिनुपर्ने कामले ढिलाइको अन्तराल तय गरेको पनि पत्तो पाइएन।
अन्तत: जब १२५ कलाकारहरूको जीवनी लिएर पुस्तक छापियो अनि प्रतिक्रियाको प्रहार सुरु भयो। कसैले भने– ‘मेरो परिचय नै अधुरो रहेछ।’ कोही भन्छन्– ‘तस्बिरहरू त्यत्तिका दिएथें तर एउटा मात्रै छापियो नि!’ कसैको प्रतिक्रिया ‘मेरो कामभन्दा फलानोको काम कमजोर छ। मभन्दा ऊ जुनियर हो। मैले जति काम अरूले गरेकै छैन तर मलाई दुई पन्नामै टुङ्ग्याइए छ। मेरो लामो साधना र सिर्जनाको सही मूल्याङ्कन यो होइन। मेरो खास चिनारी नै आएन।’ यस्ता प्रहारका प्रकम्पनअघि पुस्तकमा हौस्याउने शब्दावली पनि छन्। जस्तै– ‘प्रतिनिधि नेपाली कलाकार’ मा लेखकले ललितकलाका विभिन्न विधामा सक्रियरत नेपाली कलाकारहरूको परिचयात्मक वृत्तान्तसहित तिनका कृति एवम् कलाशैलीलाई सचित्र रूपमा समेटेका छन्।
प्रकाशकीय मन्तव्यमा पनि केही मननीय भनाइहरू छन्– “यस पुस्तकको प्रकाशनले हाम्रा कलाकारहरूप्रति सम्मानको भाव जगाउँदै कला अभिलेखन सम्बन्धी कार्यलाई स्थापित गर्न सघाउ पुर्याउने विश्वास प्रतिष्ठानले लिएको छ। समकालीन नेपाली कला र कलाकारहरूबारे बुझ्न चाहने नेपाली भाषी पाठकहरूको जिज्ञासालाई यस पुस्तकले निकै हदसम्म सघाउ पुर्याउने विश्वास लिन सकिन्छ।”
प्रतिष्ठानका कुलपति के. के. कर्माचार्यले भन्नुभएको छ– “प्रतिष्ठानले नेपाली ललितकलाको अभिलेखन कार्यको आवश्यकता र महत्वलाई मनन गर्दै सो कार्यको थालनी गरेको छ। यस किसिमका कार्यले नेपाली कलालेखनको इतिहासको अध्यायमा ठूलो टेवा पुर्याउने मैले विश्वास लिएको छु। यही सिलसिलामा ज्ञानेन्द्र विवशले नेपाली कलाकारहरूका जीवनी र तिनका कलारचनालाई समकालीन समाजमा स्थापित गराउने उद्देश्यले ‘प्रतिनिधि नेपाली कलाकार’ शीर्षकको पुस्तक लेख्नुभएको छ।”
कुलपतिले भने झैं वास्तवमा पुस्तकले जीवित नेपाली कलाकारहरूबारे अभिलेखन गर्नमा मदत पुर्याउने छ। ‘प्रतिनिधि नेपाली कलाकार’ को सचित्र चिनारी समेटिएको र निकै मिहिनेत गरी तयार पारिएको पुस्तकले वर्तमान र भावी पुस्तालाई समेत पर्याप्त जानकारी दिन मदत गर्ने छ।
वरिष्ठ कलाकार शशीविक्रम शाहले भूमिकामा लेख्नुभएको छ– “यो पुस्तक समकालीन नेपाली कलाकारहरूको इतिहास हो। यस पुस्तकमा पहिलेदेखि काम गर्दै आइरहेका तथा हाल काम गर्न छाडिसकेका तर नेपाली कलामा उनीहरूले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै तिनको बारेमा पनि चर्चा गरिएको छ। सम्भवत: एउटै पुस्तकभित्र यति धेरै कलाकारलाई समेटेर लेखिएको आकारका दृष्टिले पनि यो नै पहिलो पुस्तक हो।”
शाह अगाडि लेख्नुहुन्छ– “आजभन्दा पाँच दशकअगाडि नारायणबहादुर सिंहले ‘नेपाली चित्रकार’ शीर्षकको पुस्तक लेखेका थिए। त्यो बेला नेपाली कलाजगत्मा सक्रिय कलाकारहरू निकै सीमित सङ्ख्यामा थिए। आजको तारिखसम्म आइपुग्दा त्यो सङ्ख्या आशातीत रूपमा बढिसकेको छ। यसबीच नेपाली कलाक्षेत्रमा अनेकौं परिवर्तन भइसकेका छन्। अपितु कलाकारहरूका बारे कुनै चिनारी र अभिलेख राख्ने कार्य हुन सकिरहेको थिएन।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता