सीमा नजिक अररियामा पत्रकार विमलको गोली हानी हत्या

अनिल तिवारी

नेपालको सिमाना नजिकै भारतको बिहारमा  एक युवा पत्रकारको हत्या गरिएको छ । अपराधीहरूले शुक्रबार दैनिक जागरणका स्थानीय संवाददाताको हत्या गरेका हुन । बिहारको अररिया रानीगञ्ज बस्ने पत्रकार विमल मण्डललाई बिहान घरमै पुगेर अपराधहरूले  गोली हानेका हुन। मण्डल घरमै सुतिरहेको अवस्थामा ‘ विमल भैया, विमल भैया’ भन्दै डाकेर घरबाट बाहिर निस्कने क्रममा अपराधीहरूले छातीमा गोली हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गोली लागे पछि मण्डललाई छरछिमेकी सहयोगमा विमलकी पत्नीले अस्पताल पुर्‍याउनु भएको थियो। तर अस्पताल पुग्नु अघिनै विमलको मृत्यु भएको छ ।

पाँच वर्ष अगाडि विमल मण्डलको सरपञ्च दाजुको पनि हत्या भएको थियो र विमल त्यसको एक मात्र साक्षी भएको विहार पुलिसले जनाएको छ। विमलको दाजुको हत्याको सुनवाइ भइरहेको र अर्को साता विमलको बयान लिने योजना थियो। लामो समयदेखि विमललाई  बयान नदिन धम्काइएको पनि समाचारहरूमा जनाइएको छ। 

बिहारमा पत्रकार माथि आक्रमणको घटनाले चिन्तित बनाएको दैनिक जागरण मुजफ्फरपुरका पत्रकार अमरेन्द्र तिवारीले बताउनु भयो । उहाँले आइएनएस् स्वतन्त्र समाचारलाई भन्नुभयो, ‘विगतको एक वर्षमा क्रमबद्ध रूपमा पत्रकारहरू अपराधीहरूको तारो बन्दै गएका छन्।  सीतामढीका अजय विद्रोहीको हत्या, छपराको महराजगञ्ज र बैशाली लगायतका ठाउँमा पत्रकार माथिको आक्रमणको घटनाले  स्वतन्त्र पत्रकारितालाई ठुलो चुनौती उत्पन्न गरेको छ ।’ मण्डलको हत्याको पत्रकारहरूका विभिन्न संघ सङ्गठनहरूले विरोध गर्दै अपराधीहरूलाई अविलम्ब कार्यवाही गर्न माग गरेका छन् । मिडिया फार बोर्डर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारीले एक विज्ञप्ति जारी गरी पीडित परिवारको सुरक्षा, २५ लाख क्षतिपुर्ती र मृतक मण्डलका सन्तानलाई सरकारी खर्चमा अध्ययन अध्यापनको व्यवस्था मिलाउन बिहार सरकारसँग माग गरको छन । विगत एक वर्षमा बिहारमा पत्रकार माथिको आक्रमणको क्रमले सञ्चार जगतलाई चिन्तित बनाएको छ ।आधा दर्जन भन्दा बढी पत्रकारहरू अपराधीहरूको तारो बनेको  दैनिक जागरण मुजफ्फरपुरका  पत्रकार एवम् मिडिया फर बोर्डर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारी आइएनएस् स्वतन्त्र समाचारलाई बताउनु भयो । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
सीमा नजिक अररियामा पत्रकार विमलको गोली हानी हत्या
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link