सरकारी अस्पतालप्रति स्थानीयको भरोसा जगाउँदै सुन्दरहरैँचा नगर अस्पताल

ध्रुव भट्टराई/मोरङ

मोरङको सुन्दरहरैँचा नगरपालिका घर भएकी ६५ वर्षीय राधा भण्डारी अहिले नियमित चेकजाँचका लागि सुन्दरहरैँचा नगर अस्पताल पुग्नुहुन्छ। भण्डारीमा लामो समयदेखि श्वासप्रश्वासको समस्या छ।

सदरमुकाम विराटनगरलगायतका ठूला सबै अस्पताल चहारिसकेकी उहाँलाई अहिले घर÷आँगनको यो अस्पतालको सेवा मन परेको छ। घरबाट आधा घन्टामा पुग्न सकिने अनि दुई घन्टामा सबै चेकजाँच गरेर फर्किन सकिने भएकाले उहाँ नियमित जाँचका लागि नगर अस्पताल पुग्नुहुन्छ।

कुनै समय प्राथमिक स्वास्थ्यचौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो एक वर्षमा यो नगर अस्पताल अन्य सम्पन्न अस्पतालझैं बनेको छ। यहाँ सबै रोगको नियमित परीक्षण हुने भएकाले आफ्नो परिवार नै यहाँ आएर उपचार गराउन थालेको भण्डारी बताउनुहुन्छ।

‘ठूला अस्पताल जाँदा दिनभर लाग्छ। दिनभर समय खर्चेर गयो अनि शुल्क पनि महँगो र अनावश्यक परीक्षणको झन्झट पनि बेहोरियो,’ उहाँले भन्नुभयो, ‘तर नगर अस्पतालमा स्तरीय र नियमित परीक्षण हुँदा धेरै सहज भएको छ।’

उहाँले विराटनगरको कोशी अस्पताल, नोबल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि गोठगाँउमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजको अस्पतालसम्म पुगेर उपचार गराउनुभयो। तर अहिले नगर अस्पतालले दिएको सेवामा उहाँ सन्तुष्ट हुनुहुन्छ।

नगर अस्पतालमा ओपीडीलगायत ल्याब रिपोर्टसमेत समयमै आउने भएकोले आफू ढुक्क भएको भण्डारीको भनाइ छ। ‘कति शुल्क लाग्यो त?’ भन्ने प्रश्नमा उहाँको जवाफ थियो, ‘एक रुपैयाँ पनि तिरेकी छैन।’

नगरपालिकाका वडावडामा जेष्ठ नागरिकदेखि सबै नागरिकको स्वास्थ्य बिमा गरिएको र बिमाको कार्ड देखाएपछि परीक्षणदेखि औषधिसम्म निशुःल्क पाइने गरेको भण्डारीले खुसी हुँदै सुनाउनुभयो।

स्थानीय बिष्णुप्रसाद खड्का पनि औषधिको लाइनमा भेटिनुभयो। उहाँमा नशाको समस्या देखिएपछि गत सोमबार नगर अस्पतालमा जँचाउन आउनुभएको थियो।

‘छोराले जँचाउन ल्याएको थियो। अस्ति केही रिपोर्ट आउन बाँकी थियो। आज सबै देखाएँ। डाक्टरले औषधि लेखिदिनुभएको छ। खरिद गर्न लाइनमा बसेको हुँ,’ खड्काले भन्नुभयो, ‘अन्य ठूला अस्पतालभन्दा यो धेरै राम्रो छ। सेवा छिटो छ र औषधि पनि सस्तो छ। परीक्षण गर्न पनि छिटै पालो आउँछ।’

भण्डारीझैँ विष्णुप्रसाद यसअघि बिरामी हुँदा ठूला अस्पतालमा उपचारका लागि जानुहुन्थ्यो। तर नगर अस्पतालको सेवा देखेर यता आउन थालेको उहाँको भनाइ छ। ‘नगरपालिकाले चलाएको अस्पताल सबैले राम्रो छ भने, अनि आएको। साँच्चै राम्रो सेवा र सुविधा पाएँ,’ उहाँले भन्नुभयो, ‘यहाँका स्थानीयलाई त सबै निःशुल्क रहेछ। बिमा पनि गरेको रहेछ। हामीजस्ता वृद्धवृद्धालाई धेरै राम्रो सेवा र राहत दिएको पाएँ।’

भण्डारी र खड्का प्रतिनिधिमूलक भनाइले सरकारी अस्पतालप्रति भरोसा घट्दै गएको अवस्थामा सुन्दरहरैँचा नगर अस्पतालले भने सेवाग्राहीको मन जित्दै गएको प्रस्ट हुन्छ।

‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइलाई चिर्दै सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै नगरपालिकाद्वारा सञ्चालित यो अस्पतालले भौतिक पूर्वाधार सम्पन्न नभए तापनि उपचारमा विज्ञ चिकित्सकको टोलीसहित छिटो, छरितो रुपमा सेवा प्रदान गरी सेवाग्राहीको मन जित्न सफल भएको छ। नगरपालिका र सञ्चालक समितिको अग्रसरता र प्राविधिकको सहयोगमा सेवाग्राहीलाई उच्चस्तरको सेवा प्रदान गर्न अस्पताल सक्षम भएको हो।

१५ शय्याको अस्पतालमा दिनहुँ करिब ४ सयभन्दा बढी सेवाग्राही आउने गरेको नगर अस्पताल प्रशासनले जनाएको छ।

नगरपालिकाले सबै नगरवासीलाई आधारभूत स्वास्थ्य उपचार सहज रुपमा उपलब्ध गराउन १५ शय्याको नगर अस्पताल एक वर्ष अघिबाट सेवा सुरु गरेको थियो।

हाल एक जना मेडिकल अधिकृत, ७ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियनले सेवा दिँदै आइरहेका छन्।

एकजना मेडिकल अधिकृत थप गरिने अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसूति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध हुने गरेको छ। हालैबाट अस्पतालमा विराट आँखा अस्पतालको सहकार्यमा आँखा उपचारको सेवा पनि सुरु गरिएको छ।

नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले अस्पताललाई भौतिक पूर्वाधार सम्पन्न बनाई उच्चस्तरको सेवा प्रदान गर्न नगरपालिकाले पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रविधिमैत्री सेवालाई चुस्त बनाउँदै लैजाने बताउनुभयो। ‘अब नगरवासीले उपचारमा चर्को शुल्क तिरेर निजी अस्पताल जानुपर्ने बाध्यता हट्नेछ,’ नगरपालिका प्रमुख गुरागाईंले भन्नुभयो, ‘सोही योजनसहित हामी लागेका छौँ।’

नगर अस्पतालले स्थानीयलाई सहज रुपमा सेवा दिन बिहान ७ बजेदेखि नै ओपीडी सेवा सञ्चालनमा ल्याएको छ। बिहानैदेखि सेवा सुरु हुन थालेपछि स्थानीयको आर्कषण पनि बढेको नगरपालिकाले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
सरकारी अस्पतालप्रति स्थानीयको भरोसा जगाउँदै सुन्दरहरैँचा नगर अस्पताल
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link