बेथिति वीरगन्ज: ड्युटिमै भेटिए बर्खास्त प्रहरी अधिकृत

अनिल तिवारी

वीरगन्ज महानगरपालिकाद्वारा दुई दिन अघि हटाइएका नगर प्रहरी अधिकृत शुक्रवार पनि डिउटीमा खटेको पाइएको छ। दुई महिना अगाडी मात्र नगर प्रमुख राजेशमान सिंहको ‘माया–कृपा’ले ठाडो नियुक्ति पाएका नगर प्रहरी उपनिरीक्षक लाल प्रसाद लुइँटेल शुक्रवार पनि डिउटी खटेका छन्। वीरगन्ज महानगरपालिकाले गैर कानुनी रूपमा भर्ना गरिएका करिब ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको थियो। त्यसै क्रममा नगर प्रहरी अधिकृत लुइँटेल पनि खारेजीमा परेका हुन। शुक्रवार दिउसो नगर प्रहरीको पोसाकमै डिउटी कक्षमा काम कार्यवाही गरे देखेपछि  आश्चर्य व्यक्त गर्दै एक नगर प्रहरीले भने,‘यो वीरगन्ज महानगरपालिका हो ,यहाँ जे पछि हुन्छ,सेटिगमा खारेजी भएको कर्मचारी हाजिर हुन कुनै अस्वाभाविक होइन।’

वीरगन्ज, मुलुकको प्रमुख प्रवेशद्वार मात्रै होइन, लाइफलाइन र ट्रान्जिट प्वाइन्ट पनि हो। जसले गर्दा मधेस प्रदेशको एक महानगरको रूपमा रहेको वीरगन्ज महानगरलाई मुलुकको आर्थिक राजधानीको रूपमा पनि चिनिने गरिन्छ। तर केही समय यदादेखि वीरगन्जको बेथिति नै उपनाम जस्तो भएको छ। मुख्य रूपमा वीरगन्ज महानगरपालिकामा  हुने गरेका अधिकांश काम कार्यवाहीहरू सेटिगमा हुने गरेकोले केही समय यता देखि युवाहरूले वीरगन्जलाई सामाजिक सञ्जालमा व्यङ्य रूपमा वीरगन्जलाई सेटिङगन्ज भनेर लेख्दै आएका छन्।

दुई महिना अगाडि दैनिक ज्यालादारीमा नियुक्ति भएका नगर प्रहरी अधिकृत लुइँटेलको  घर  भएकाले उनी  महानगरपालिकाकै क्वाटरमा बस्दै आएका छन्। खारेजीमा परेको दुई दिन बितिसक्दा पनि उनले क्वाटर छाडेका छैनन्।नियुक्ति भएको श्रावण महिनामा २२ दिन र भदौमा २६ दिन मात्र लुइँटेलको हाजिरी छ। तर उनी दुई  महिनाको तलब भत्ता पुरा खाएका छन्। जुन दैनिक ज्यालादारी नियमको विपरीत पनि हो। शुक्रवार दिउसो प्रमुख प्रशासकीय अधिकृत कक्ष अगाडि खटेका लुइँटेलले आफ्नो खारेजीको बारेमा अनभिज्ञता व्यक्त गरे। तपाई डिउटीमै हो ? प्रश्न गर्दा उनले अनभिज्ञता जाहेर गर्दै भने, ‘इन्चार्जसँग सोध्नुस्।’

वीरगन्ज महानगरपालिका नगर प्रमुख हरि भुसालले नगर प्रहरी अधिकृत लुइँटेल खारेजीमा परेको स्वीकार गदै भने, ‘उहाँ मेयर साहेबको बाटो मात्र पर्खेको हो, आर्सीवाद पछि लुइँटेलजी घर फर्खिहाल्नु हुन्छ।’

मेयर,उपमेयर र प्रशासकीय अधिकृतको भागबन्डामा गरिएको अवैध नियुक्तिको बारेमा अख्तियार दुरुपयोग आयोगले कार्यवाही अगाडि बढाए पछि लगभग साढे चार सय कर्मचारी खारेजीमा परेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मंगलबार एक सूचना जारी गर्दै कर्मचारीहरूलाई बर्खास्त गरेका हुन। उनले जारी गरेको सूचनामा विभिन्न मिति र पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई आजैको मिति देखि कामकाजमा नलगाउने गरी  बर्खास्त गरिएको जनाइएको छ।

स्थानीय निर्वाचन पछि फेरिएको  मेयर राजेशमान सिंहको नयाँ  नेतृत्वले आर्थिक भारको कारण देखाउँदै पूर्व मेयर विजय सरावगीले गरेका लगभग २ सय कर्मचारीहरूको नियुक्ति खारेज गरेको थियो। तर सङ्घीय र प्रादेशिक चुनाव अगावै रातारात महानगरपालिकाले लगभग तिन सय भन्दा बढी कर्मचारीहरूको नियुक्ति ६०/४०को भागबन्डामा मेयर र उपमेयरका मान्छेहरूको ठाडो नियुक्ति गरिएको थिए।जसलाई लिएर महानगरपालिकाको बोर्ड बैठकमा सदस्यहरूले  व्यापक विरोध गरेका थिए। महानगरपालिकाको आवश्यकता र औचित्य भन्दा पनि गैर कानुनी रूपमा अख्तियारको दुरुपयोग गर्दै कर्मचारी भर्ना गरिएको कारण आन्तरिक राजश्वबाट वार्षिक १८ करोड खर्च भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा उजुरी परेको थियो।

।विभिन्न सञ्चार माध्यमहरूमा समेत महानगरपालिकाले कार्यकर्ता बहाली केन्द्र बनाएको समाचारहरू प्रसारित भएपछि तजबिजी  नियुक्तिलाई लुकाउन प्रमुख प्रशासकीय अधिकृत पौडेलले कर्मचारीहरूलाई विभिन्न वडाहरूमा  डोर समेत  खटाएका थिए।

महानगरपालिकाको सूचनाबाट नगर प्रहरी, दमकल, सरसफाइ, वडा कार्यालय, स्वास्थ्य चौकी, महाशाखा, शाखा, उपशाखा समेत विभिन्न पदमा कार्यरत करिब ४ सय ५० जना कर्मचारी सेवाबाट हटाइएको महानगर स्रोतले जनाएको छ। दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई मात्र मासिक १ करोड ५० लाख तलबमा खर्च हुने गरेको महानगरपालिकाले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link