मारिनु अगाडि प्रहरीकहाँ किन पुग्यो त्यो युवक?

अनिल तिवारी

वीरगन्जको छपकैयामा असोज २ गते  बिहान एक युवाको शव फेला पर्‍यो। उक्त शव दुई दिनसम्म प्रहरीले बेवारिसे बताउँदै आएको थियो। तर पछि प्रहरीलाई शवको पहिचान थाहा भएको र उनीहरूकै उदासीनताका कारण ती युवा मारिएको भएको आरोप लागेको छ। खासमा ती युवा मारिनु अगाडि प्रहरीकहाँ पुगेका थिए तर किन?

वीरगन्ज छपकैयामा फेला परेको उक्त शव अरविन्द कुमार सराफ हो। सराफको मृत्यु हुनु भन्दा पहिला  साथीहरूसँग विवाद परेको थियो। जसका बारेमा नजिकै रहेको छपकैया प्रहरी ‘बिट’ लाई जानकारी थियो। तर समयमै प्रहरीको सक्रियता नदेखिएकोले उनको मृत्यु भएको आफन्तको आरोप छ।

मृतक सराफ कलैया बारा जिल्ला कलैया निवासी थिए। असोज एक गते घरबाट वीरगन्ज आएका सराफ दिनभरि विभिन्न काम गरी साँझ साथीसँग लागुऔषध सेवनमा लागेको बताइन्छ। साँझ वीरगन्ज छपकैयाकै लागुऔषध सेवनकर्ता ‘मौलवी’ नामले चिनिने साथीसँग विवाद बढेको बताइन्छ।

‘मौलवी’ र मृतक सराफको बिच राती करिब ११ बजेतिर पर्सलाई लिएर बढेको विवाद प्रहरी बिटसम्म पुगेको थियो। मौलवीको पर्सलाई नसाको झोकमा सराफले आफ्नो दाबी गरेको कुराको वास्तविकता बुझेर छपकैया बिटका प्रहरीले उक्त पर्स मौलवीलाई जिम्मा लगाएको थियो।

त्यति बेला युवकहरूको अवस्था र उनीहरूको झगडालाई गम्भीरताका साथ  नलिएकाले  सराफको मृत्यु भएको आफन्तजनको आरोप छ। पारिवारिक सूचनाका अनुसार छपकैया प्रहरी बिटमा विवाद चलिरहँदा मृतक सराफ पुरै अचेत अवस्थामा थिए।  “प्रहरीकै अगाडि अचेत अवस्थामा रहेका सराफका बारेमा प्रहरीले कसरी विवाद सल्टायो र मान्छेलाई किन छाडियो ?” आफन्तको प्रश्न छ,  “आफ्नो नियन्त्रणमा किन लिएनन् अथवा घर परिवारका व्यक्तिलाई किन जिम्मा लगाइएन ?” यसले गर्दा प्रहरीको गम्भीर लापरबाहीका कारण उनको मृत्यु भएको आरोप परिवारजनको छ।

राती झगडा मिलाएर पठाएको व्यक्तिलाई नै बिहान प्रहरीले बेवारिसे किन भन्यो ? यो प्रश्नले घटनालाई झन् गम्भीर बनाएको छ। मृतक सराफको पहिचानबारे हिजोसम्म पर्सा प्रहरी बेखबर थियो। कारण–उनीसँगै परिचय खुल्ने कागजात थिएन, जसका कारण प्रहरीलाई तनाव थियो। त्यसपछि प्रहरीले शव पहिचान नभएको भन्दै सूचना पनि जारी गर्‍यो। तर त्यति हुँदासम्म पनि छपकैया प्रहरी बिट मौन किन थियो। प्रहरीको सूचनाले पहिचान सहित धेरै कुरा खोली दियो।

घटनाबारे अहिले अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता खुल्ने पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो। उहाँले बाटोको झगडा सल्टाउने कार्य मात्र प्रहरीले गरेको बताउँदै भन्नुभयो, “कुनै पनि व्यक्तिलाई हिरासतमा राख्न वा थुनछेक गर्दा पक्राउ पुर्जी चाहिन्छ, बाटोको झगडा त्यही मिलाए पछि दुवै जना त्यहाँबाट छुटिएर हिँडे पछि प्रहरीको के लाग्छ र ?”

 

 

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link