विद्यालय बन्द गरेर सद्‌भाव र्‍याली

अनिल तिवारी

मलंगवाको  अवस्था तनावपूर्ण बन्दै गएपछि वीरगन्जमा सद्‌भाव र्‍याली निकालिएको छ । मलंगवाको घट्नाको विरोधमा हिन्दुवादी सङ्गठनहरूले शुक्रवार विरोध प्रदर्शन गरी शनिवार वीरगन्ज बन्द गरेपछि अवस्थालाई सामान्य बनाउन सद्‌भाव र्‍याली निकालेको हो । वीरगन्जको अवस्थालाई साम्प्रदायिक बनाउन खोज्ने केही तत्त्वहरू सक्रिय भएको भन्दै वीरगन्ज महानगरपालिकाले सोमबार सूचना जारी गर्दै  सोमबार हुने सद्‌भाव र्‍यालीमा सहभागी हुन अनुरोध गरेको थियो ।

वीरगन्ज महानगरपालिकाद्वारा जारी गरिएको सूचनामा महानगरपालिकाका सबै कर्मचारी तथा विद्यालयका सबै शिक्षकहरूलाई र्‍यालीमा अनिवार्य रुपमा उपस्थित हुन  उल्लेख गरिएको थियो । जसमा विद्यालय बन्द गरेर सबै शिक्षक शिक्षिकाहरू पुगेका थिए । केही हप्ता अगाडि पेशागत अधिकारको लागि पुगेका शिक्षकहरूलाई अविलम्ब कार्यवाही गर्ने महानगरले नै विद्यालय बन्द गरेर र्‍यालीमा सहभागी गराउने कतिको उचित भएको भन्दै एक शिक्षिकाले प्रतिप्रश्न गर्दै भन्नु भयो ‘स्थानीय निकायमा जनप्रतिनिधिहरूको तजबिजै कानुन छ, केहिले मेयर साहेब विद्यालय बन्द गर्नेलाई कार्यवाही गर्ने सूचना जारी गर्नहुन्छ ,कहिले विद्यालय बन्द गरेर जुलुसका आऊ आदेश जारी गर्नुहुन्छ ।’
वीरगन्जको आदर्शनगर स्थित स्विमिङपुलबाट सुरु भएको र्‍याली  बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय कार्यालय पर्सा पुगेपछि  कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले सामाजिक सद्‌भाव कायम गरेर समाजलाई द्वन्द्वबाट बचाउन अनुरोध गर्नुभयो । धार्मिक सहिष्णुताको सद्‌भाव जागृत गरेर जातीय, धार्मिक र अन्य कारण समाजलाई तोड्नेबाट सतर्क हुन आमनगरवासीलाई सुझाव दिनु भयो । यहाँकै जनताको मतबाट दुई पटक सांसदमा निर्वाचित हुँदासम्म कहिल्यै पनि धार्मिक विभेद नभएको बताउँदै सांसद यादवले पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत भइरहेका उच्छृंखल गतिविधिको भर्त्सना गर्नुभयो ।
नेकपा एमाले पर्साका संयोजक डा. बिशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधि प्रति चिन्ता व्यक्त गर्नु भयो । समुदायलाई उक्साहटमा ल्याएर सद्‌भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेहरूलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न उहाँले प्रशासनको ध्यानाकर्षण समेत गराउनु भयो ।
सोही अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्‌भाव बिगार्ने तत्त्वलाई कारबाही गर्नुपर्ने जिकिर गर्नुभयो । साथै उनले गृह मन्त्रालयमा विज्ञप्ति पठाएर सुरक्षा निकायलाई परिपत्र गर्ने आश्वासन  दिनुभएको थियो ।
र्‍यालीमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बाल गोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशी कपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगन्ज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टी वीरगन्ज महानगरका अध्यक्ष मनोज चौधरी लगायत विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link