बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ एकैः महासचिव एन्टोनियो गुटेरेस

चन्द्रकान्त खनाल/रूपन्देही

गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ एकै खालको भएको बताउनु भएको छ। उहाँले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभएको छ ।

उहाँले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गर्नुभएको छ । गुटेरेसले विश्व सम्पदा सूचीमा सूचीकृत अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।”

बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उहाँले खुसी व्यक्त गर्दै उहाँले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गर्नुभयो । उहाँले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गर्नुभयो । “शान्ति र मानवता अपरिहर्य विषय हुन्, मानवीयता मर्न दिनु हुन्न”, उहाँले भन्नुभयो, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ मिल्दोजुल्दो छ । यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ ।”

त्यस्तै, महासचिव गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गर्नुभएको थियो । यसअघि उहाँले शान्तिदीपमा दीप प्रज्ज्वलन गर्नुभयो । शान्तिदीपबाट मायादेवी मन्दिरसम्म उहाँ पैदल जानुभएको थियो । उहाँले वृक्षरोपणसमेत गर्नुभएको छ ।

महासचिव गुटेरेस लुम्बिनी विकास कोषको स्वागत समारोहमा सहभागी हुनुभयो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्ति दीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए ।

यसैगरी, महासचिव गुटेरेसले विकास कोषमा राखिएको अतिथि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ । महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धधनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराइएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link