ओलीको ‘फेक–पुराण’ सुनाउन २४ विद्यालय बन्द

ओलीको भाषण सुनाउन २४ वटा विद्यालयहरू मङ्गलवार बन्द गरिए । बन्द गरिएका  दुई वटा माध्यमिक, ४ निम्न माध्यमिक र १८ प्राथमिक विद्यालयमा १० हजार छात्र–छात्राहरू पढ्छन्।

अनिल तिवारी

भनिन्छ ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’, बोल्नु भनेको कला हो । तर माइक र मञ्च पाएपछि पूर्व प्रधानमन्त्री केपी ओलीको आम जनमानसलाई मन्त्रमुग्ध बनाउने गजबको कला छ । तर उहाँले गर्ने  भाषणमा यथार्थ भन्दा ‘ ख्याली पुलाव ’ (सपनामा पुलाव पकाउने र कल्पनाको संसारमा रमाउने) खालको हुने सर्वविदित  छ । पदमा गएपछि, भाँती पुर्‍याएर बोल्नु त्यति सजिलो  पनि छैन,विपक्षमा बसेपछि ‘फेक–पुराण’ जति सुनाए हुन्छ  । राजनीतिक नेता भएपछि नबोली सुखै छैन, केपी ओलीले  ‘पोखरा हुँदै म्याग्दी र बेनीसम्म रेल पुर्‍याउने कुरा देखि घर घरमा ग्यासको पाइपलाइन,नेपाली झन्डावाहक जहाज लगायतका भाषणले गजबको टिआरपी पाएकै हो ।
मङ्गलवार अख्तियारबाट डामिएर अदालतबाट दण्डित भएका चर्चित ठेकेदार एवम् पूर्व निलम्बित सांसद हरिनारायण रौनियारलाई एमालेले स्वागत गर्दै पोखरीयामा आएका सबै कमरेडहरूलाई ‘फेक–पुराण सुनाएर मन्त्रमुग्ध बनाउनुभयो । पोखरियावासीलाई स्मार्ट सिटी  सपना बाँड्दै ओलीले वीरगन्जमा भारतले निर्माण गरेको संयुक्त भन्सार कार्यालय (आइसिपि) देखि हुलाकी सडक लगायत सबै विकास आफूले गरेको गाथा सुनाउनुभयो। केपी ओलीले त्यस अवसरमा शिक्षाको क्षेत्रमा आफूले आमूल परिवर्तनको कथा वाचन गर्दै गर्दा उहाँकै पार्टीका नगरपालिका प्रमुखले ओलीकै भाषण सुनाउन दिनभर  २४ वटा विद्यालय बन्द गरेको थाहा नै पाउनु भएन ।
एमाले पोखरीया नगर कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश र विशाल आमसभालाई सफल बनाउन नगर प्रमुख प्रद्युम्न चौहानको निर्देशनमा नगरपालिकामा रहेको सबै २४ विद्यालयलाई मङ्गलवार  बन्द रहे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्व कालमा शिक्षामा आमूल परिवर्तन भएको बताउँदै उनले सबै बालबालिकाहरूलाई राम्रो शिक्षा दिन सुझाव समेत दिए । पूर्व प्रधानमन्त्री ओलीले सबै अभिभावकहरूलाई छोरा–छोरीमा कुनै विभेद नराखी पढाउन बोलिरहँदा मञ्च पछाडि बसेका कतिपय युवाहरूले विद्यालय बन्द गराएर  आमसभा कार्यक्रम गरिएको प्रति गुनासो नै व्यक्त गरे । पोखरिया नगरपालिका वार्ड नम्बर ७ का एमडी आलमले स्थानीय सरकारले  पार्टीको कार्यक्रमको लागी नगरपालिका भरीको विद्यालय बन्द गराएको विरोध व्यक्त गर्दै भन्नुभयो, “एमालेकै स्थानीय सरकार भएकोले कार्यक्रम सफल बनाउन विद्यालयहरू बन्द गरिएका हुन,जुन धेरै निन्दनीय कार्यहरू हुन,यस्तो कार्य एमाले जस्तो ठुलो पार्टीबाट सुहाउँदैन ।”
नगरपालिका शिक्षा समितिको आदेशमा नगरपालिकामा रहेका २४वटा विद्यालयहरू मङ्गलवार बन्द रहे । कार्यक्रम आयोजना स्थल रहेको पोखरिया उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालयलगायत दुई वटा माध्यमिक, ४ निम्न माध्यमिक र १८ प्राथमिक विद्यालयमा लगभग १० हजार छात्र–छात्राहरू अध्ययनरत छन् । शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर प्रमुखकै आदेशमा नगरपालिकाले सबै विद्यालय बन्द गराएको शिक्षा प्रमुख विजय झाले बनाउनु भयो । छठ पर्वको लगतै विद्यार्थीहरूको उपस्थिति न्यून हुने भएकोले नगरप्रमुख रौनियारले  बिदामा मिलान हुने गरी मङ्गलवार सम्म छुटिगर्न दिएको आदेश अनुसार नै पालिकाभित्रका सबै विद्यालयहरू बन्द गरिएको शिक्षा प्रमुख झाले बताउनु भयो ।
उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियाका पूर्व प्रधानाध्यापक ब्यास महतोले विद्यालय परिसरमा दलका कार्यक्रम गर्ने क्रम केही वर्षदेखि बन्द भए पनि स्थानीय सरकारको कारण यो नजिर बसेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आउने दिनमा सबै दलले विद्यालय प्राङ्गणमै कार्यक्रम गर्न माग गरे बाध्य भएर पढाई बन्द गर्नुपर्ने हुन्छ ।’
विद्यालयहरू स्थानीय सरकारको मातहतमा भएकोले पनि पार्टीबाट चुनिएमा जनप्रतिनिधिहरूको आदेश अनुसार चल्नु पर्ने आफूहरूको बाध्यता भएको  शिक्षक दीपेन्द्र प्रसाद रौनियारले बताउनु भयो ।उनले भने,‘एमालेको कार्यक्रम हो,स्थानीय सरकारमा एमाले छ ,सरकारको आदेश अनुसार नै विद्यालयहरू बन्द गरिए हुन ,यसमा के बेठिक छ र ?’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
ओलीको ‘फेक–पुराण’ सुनाउन २४ विद्यालय बन्द
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link