विराटनगरमा प्रदेशस्तरीय मुटु रोग उपचार केन्द्र सञ्चालन हुने

छ महिना भित्र सञ्चालन आउने दाबी 

ध्रुव भट्टराई/मोरङ

मुटु रोगको सहज उपचारका लागि कोसी प्रदेश सरकारले प्रादेशिक स्तरीय मुटु रोग उपचार केन्द्र सञ्चालन गर्ने भएको छ ।

प्रदेशमा सर्वसुलभ स्तरमा मुटु रोगको उपचार केन्द्र नहुँदा कोसी प्रदेशका नागरिक काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्यका लागि  प्रदेश सरकारले सरकारी स्तरको मुटु रोग उपचार केन्द्र खोल्ने तयारी गरेको हो ।

विराटनगरमा रहेको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रलाई प्रादेशिक स्तरको मुटु रोग अस्पतालमा रूपान्तरण गरी सबै प्रकारका मुटु रोग सम्बन्धी उपचारार्थ अस्पताल स्थापना गर्ने लागिएको कोसी प्रदेश सरकारले जनाएको छ ।

जसका लागि सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा रहेका दुई वटा भवन मध्ये एउटा भवनलाई प्रयोग गरी १ सय बेडको अस्पताल बनाउन लागिएको हो ।

केदार कार्की नेतृत्वको सरकारले मुटु रोगको अस्पतालका लागि पहिलो चरणमा ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन रकम प्रदेशको रातो किताबमा पनि समावेश गरिएको छ । यद्यपि कार्की नेतृत्वको सरकारले बजेट प्रतिस्थापनका लागि अहिले प्रदेश सभामा टेबुलपछि बजेट माथिको छलफल जारी छ ।

स्वास्थ्य मन्त्रालय कोसी प्रदेशकी सचिव डा. सुधा देवकोटाले प्रदेश सरकारको आफै स्वामित्वमा रहने गरी मुटु रोग उपचारका लागि अस्पताल खोल्ने तयारीका साथ आवश्यक रकम विनियोजन गरिएको जानकारी दिनुभयो ।  

कोसी प्रदेशमा मुटु रोगको उपचारको लागि सरकारी स्तरमा छुटै अस्पताल नभएको अवस्थामा प्रदेश सरकारले ६ महिना भित्र पूर्ण सञ्चालनका ल्याउने गरी मुटु रोग अस्पतालको लागि आवश्यक तयारी थालेको बताउनुभयो । त्यसका लागि सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रलाई रूपान्तरण गरिने लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड नियन्त्रणमा आएसँगै तत्कालीन कोसी  कोभिड उपचार केन्द्रलाई प्रदेश सरकारले सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रका रूपमा रूपान्तरण गरी स्वास्थ्य सेवा प्रदान गदै आएको छ। 

‘प्रदेश सरकारको बजेट प्रदेश सभामा टेबुल भई बजेट माथिको छलफल जारी छ’ देवकोटाले भन्नुभयो– ‘बजेट पास हुने बित्तिकै मुटु रोगको अस्पतालका लागि प्रारम्भिक तयारीमा मन्त्रालय जुट्नेछ । प्रदेशका नागरिकले मुटु रोगको उपचारका लागि अब अन्यत्र धाउनु पर्ने अवस्थाको अन्त्य गर्ने प्रदेश सरकारको योजना छ ।’

प्रादेशिक अस्पताल मुटु रोगको सबै प्रकारको उपचारका लागि  पर्याप्त उपकरण र विशेषज्ञ डाक्टरसहितको हुने सचिव देवकोटाले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले अस्पताल सञ्चालनको लागि बजेटको व्यवस्था गरेको र जग्गाको विषयमा पनि चाडै सहमति हुने बताउनुभयो ।

विराटनगर महानगरपालिका– १० स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्वामित्वमा रहेको जग्गामा सङ्क्रमण रोग तथा सघन उपचार केन्द्र रहेको छ । सरकारले सोही जग्गामा रहेको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रको भवन प्रयोगमा ल्याएर मुटु रोग उपचार केन्द्र बनाउन लागको हो ।

यद्यपि पछिल्लो समय भने जग्गाको भाडाको विषयलाई लिएर प्रदेश सरकार र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच लफडा रहेको छ ।तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले तत्कालीन समयमा कोभिड अस्पताल सञ्चालनका लागि भाडामा नेशनल ट्रेडिङको जग्गा लिएको थियो ।

 नेशनल ट्रेडिङको ५ बिघा ७ कट्ठा जग्गा उपभोग गदै आए पनि प्रदेश सरकारले भाडा तिर्न आनाकानी गरेपछि सहमति अनुसार भाडा तिर्न प्रदेश सरकारलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ताकेता गदै आएको छ । तर, प्रदेश सरकारले भने भाडा तिर्न आनाकानी गदै आएको छ ।

प्रदेश सरकारले २०७६ कार्तिक १८ गतेदेखि उपभोग गदै आएको जग्गाको मासिक १० लाख रुपैयाँका दरले तीन आर्थिक वर्षको ३६ करोड रुपैयाँ तिर्न पत्र काटेको थियो ।

सरकारले दुई सरकारी स्वामित्वको संस्था तत्कालीन नेशनल टेड्रिङ र खाद्य संस्थान २०७६ साउन २८ गते मर्ज भएर हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बनाइएको थियो ।

स्वास्थ्य सचिव देवकोटाका अनुसार मुटु रोग अस्पताल खोल्ने  प्रदेश सरकारको तयारीसँगै प्रदेश सरकारले जग्गा उपभोगका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग आवश्यक छलफल गरिरहेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्वामित्वमा रहेको जग्गामा प्रदेश सरकारको कोभिड अस्पताललाई सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रका रूपमा रूपान्तरण गरी प्राथमिक तहको स्वास्थ्य सेवा केन्द्र सञ्चालन गदै आएको छ ।

अत्याधुनिक उपकरणसहितको दुई सय शय्याको तत्कालीन कोभिड अस्पताललाई तत्कालीन स्वास्थ्य मन्त्री जयराम यादव रहँदा २०७९ ज्येष्ठ १८ गतेदेखि प्रदेश सरकारले सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रको रूपमा नाम परिवर्तन गरेको थियो ।

हाल सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा कोभिड अस्पताल समेत रहे पनि कोसी अस्पताल कोभिड– १९ उपचार केन्द्र पूर्ण रूपमा सञ्चालनमा छैन ।

कोभिड सङ्क्रमितको सङ्ख्यामा आएको कमीसँगै लामो समयदेखि प्रयोगमा आउन नसक्दा दुई वटा भवनमा रहेका कोसी कोभिड अस्पतालमा रहेका अत्याधुनिक र मूल्यवान उपकरण प्रयोगमा नआउँदै बिग्रिने अवस्थामा पुगेका छन् ।

तत्कालीन समयमा नागरिक स्तर, निजी क्षेत्र, प्रदेश सरकार र दातृ निकायको सहयोगमा १० दिनमा सञ्चालनमा ल्याइएको यो अस्पताल स्थापना र सञ्चालनका लागि त्यस बेला एक अर्बभन्दा बढी लगानी भएको थियो।

हाल कोसी प्रदेश सरकारको मातहतमा रहेको यो उपचार केन्द्रलाई एक वर्ष अघि सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रका रूपमा रूपान्तरण गरिएको थियो ।

लामो समयदेखि प्रयोगमा आउन नसक्दा सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रको दुई वटा भवनमा रहेका अत्याधुनिक र मूल्यवान उपकरण प्रयोगमा नआउँदै बिग्रिने अवस्थामा पुगेका छन् । नागरिक स्तर र दातृ निकायले तत्कालीन समयमा ती स्वास्थ्य उपकरण प्रदेश सरकारलाई उपलब्ध गराएको थियो । 

कोभिड सुरु भए लगत्तै विराटनगरमा जनस्तरबाट गठन गरेको नागरिक केयर सेन्टर र स्विस सरकारको सहयोगमा महानगर १० स्थित नेशनल ट्रेडिङको पुरानो भवन र गोदामलाई अस्पतालका रूपमा सञ्चालन गरिएको थियो ।

सो भवन र गोदामलाई पुन निर्माण गरेर प्रदेश सरकार मातहतमा दातृ निकाय, जनस्तर र सङ्घ संस्थाले उपलब्ध गराएका अत्याधुनिक उपकरणसहितको दुई सय शय्याको कोभिड अस्पतालका रूपमा सञ्चालन गरिएको थियो ।

सङ्क्रमण रोग तथा सघन उपचार केन्द्र हाता भित्र रहेको उत्तर पट्टीको भवनमा अस्पतालमा ३६ वटा भेन्टिलेटर, २१ वटा आइसियु, ४७ वटा एचडीयूको व्यवस्था छ । यसबाहेक स्विस सरकारले सोही समयमा ९६ शय्याका बेग्लै अस्पताल भवन निर्माण गरेर आवश्यक उपकरण उपलब्ध गराएको थियो । 

स्विस सरकारले निर्माण गरेको भवनमा २१ वटा आइसियु र ४७ वटा एचडीयूको व्यवस्था गरिएको छ  । यसका साथै अस्पताललाई आवश्यक पर्ने उपकरण, शय्या, १ सय ५० सिलिन्डर क्षमताका दुई वटा अक्सिजन प्लान्ट, फोहोर व्यवस्थापन, मर्चरी र दुई वटा वाटर ट्रिटमेन्ट प्लान्टको व्यवस्था गरेको थियो ।

स्विस सरकारले सो अस्पतालका लागि एबीजी मेसिन, वाई प्याप १० थान, सी प्याप १० थान, डेफी विलेट एक थान, भेन्टिलेटर २० थान, पेसेन्ट मनिटर ४० थान, जेनेरल बेड सय थान, अटो प्लेट दुई थान, अक्सिजन प्लान्ट दुई थान, वाटर ट्रिटमेन्ट प्लान्ट दुई थान र करिब दुई करोड रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र स्थापना गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

नागरिक स्तर र दातृ निकायको आर्थिक तथा भौतिक सहयोगमा कोभिड सङ्क्रमण केही नियन्त्रणमा आएपछि यो अस्पताललाई कुनै विशेषज्ञ अस्पतालको रूपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले यो अस्पताल स्थापना गरेको थियो । तर, लामो समयदेखि अस्पतालमा रहेका स्वास्थ्य उपकरणको सही प्रयोग हुन नसकेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।

हाल केन्द्र सरकार अन्तर्गत धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजी क्षेत्रमा सञ्चालित नोबेल र विराट मेडिकल कलेज साथै बिर्तामोडमा रहेको विएनसी अस्पतालमा छुट्टै मुटु रोग सम्बन्धी उपचार हुँदै आएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
विराटनगरमा प्रदेशस्तरीय मुटु रोग उपचार केन्द्र सञ्चालन हुने
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link