वीरगन्जमा मेयर  उपमेयर पक्ष बिच हानाहान

अनिल तिवारी

गैरकानुनी नियुक्ति, भ्रष्ट्राचार र कमिसनको खेलमा डुबेको आरोप लागेको मधेस प्रदेशको एक मात्र  वीरगन्ज महानगरपालिकामा मङ्गलवार दिउसो  हानाहान भएको छ। यो कुटाकुट महानगरप्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलम पक्षबिच  भएको हो। दुवै पक्षका मसलधारीको घम्साघम्सी बढ्दै गएपछि नायब प्रहरी उपरीक्षक कुमार थापाको नेतृत्वमा वीरगन्ज महानगरपालिकामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नगरप्रमुखको कार्यकक्षको नजिक सारिएपछि विवाद बढेको हो। अर्को भवनमा प्रमुख प्रशासकीय अधिकृत सरेपछि पुरानो कोठामा उपमेयरको सचिवालयका लागि  भनेर ताल्चा लगायो। खासमा उक्त कोठामा मेयरले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने आदेश दिए। तर अर्को पक्षले उपमेयरको सचिवालय राख्ने कब्जा गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

विवाद ‘कार्यकक्ष’ लाई लिएर भनिए पनि खासमा प्रमुख प्रशासकीय अधिकृतलाई आफूतिर ‘तान्ने’ रणनीतिका कारण झगडा भएको कर्मचारीहरू बताउँछन्। महानगरका एक कर्मचारीले भने,‘ उपमेयरको कार्यकक्षसँगै प्रशासकीय अधिकृतको कार्यकक्ष राखेमा धेरै कुरा उपमेयरलाई थाहा हुने र उनलाई धेरै कुरामा हिस्सेदारीलाई दिनु पर्ने भएकाले मेयर साहबले अधिकृतलाई आफूतिर तानेका हुन।  मेयर र नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष सँगै भएपछि आफूलाई पन्छाइने हो कि  भन्ने डर उपमेयर पक्षलाई छ।  झगडाको चुरो कुरा पनि यही हो।’‍

महानगर प्रमुख सिंहले तला थपेर कार्यकक्ष माथि सारे पछि आफू बस्दै आएको कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतको सारेका हुन। प्रमुख प्रशासकीय अधिकृतको पुरानो कार्यकक्षमा वीरगन्ज महानगरले पञ्जिकरण शाखा राख्ने तीन दिनदेखि तयारी गर्दै आएको थियो। सामान सार्दै गर्दा उपप्रमुखको सचिवालयले त्यो कोठा ताल्चा लगाए पछि विवाद बल्झिएको हो।

नगर प्रमुख राजेशमान सिंहको अनुरोधमा उपमेयरले लगाएको ताल्चा खोल्न केही वडाध्यक्षको टोली सहितले मङ्गलवार बिहान प्रयास गरेपछि दोहोरो हानाहान भएको हो। विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए। सुरुमा अवस्था उग्र भए पनि प्रहरीको सहयोगमा सामान्य भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताउनु भयो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link