स्थानीय निर्वाचन अगाडि मधेसी दल छोड्नेहरूको लर्को

अनिल तिवारी

पर्सामा होली पर्वको रौनकैसँगै राजनीतिक दल र नेताले चुनाव केन्द्रित रणनीतिका सक्रिय हुन थालेका छन्। नाकाबन्दी बेला मधेस आन्दोलनको केन्द्र बनेको वीरगन्जलगायत पर्सा जिल्लामा मधेसी दलको पकड कमजोर बन्दै गएको छ। गएको एक महिनाभीत्र पर्साका आधादर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरू मधेसी दल त्यागेर एमाले र नेपाली कांग्रेसमा छिरका छन्।लोसपाका संघीय र प्रदेशका कतिपय सांसदहरू केपि ओलीको प्रत्यक्ष सम्पर्कमा रहेर राजनीतिक सौदाबाजीमा तागत बढाउन आफ्ना कार्यकर्ताहरूलाई एमाले पार्टी प्रवेश समेत गराएका छन्।

मधेसी मुद्दा सम्बोधन गराउन असफल भएका कारण मधेसी दलको जनाधार ‍कमजोर भएपछि नेताहरूको बहिर्गमन बढेको तर्क गर्नुहुन्छ हालै लोसपा त्याग गरी एमालेमा प्रवशे गरेका शिव पटेल।मधेस प्रदेश सरकारमा देखिएको भ्रष्टाचार, आन्दोलनका बेला उठाइएका माग पूरा गराउनुभन्दा पनि सरकारमा जसरी पनि टासिरहने प्रवृतिले मधेसी दलसँग धेरैको मोहभंग भएको पटेलको भनाई छ। शिव पटेल भन्नुहुन्छ, ‘फुटको राजनीतिले तराईमा मधेसी दल कमजोर भएको हो, नेताहरूलाई मधेसभन्दा पनि मन्त्री पद बढी प्यारो रहेछ।’

दल फेर्न खुट्टा उचाल्नेमा पर्साका क्षेत्र २ का  लोसपाका संघीय सांसद विमल श्रीवास्तवको नाम चर्चामा छ। विमल निरन्तर ओलीको सम्पर्कमा रहेको उहाँका कार्यकर्ताहरूको भनाइ छ।कानुनी अप्ठयाराका कारण अहिले नै विमलले एमाले प्रवशे नगरे पनि आफ्ना स्वकिय सचिव लगायतका कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराइसक्नुभएको छ।

लोसपाकै प्रदेश सांसद प्रह्लाद गिरीले पनि एमाले अध्यक्षसँग फोटो खिचाएर आफ्नो राजनीतिक भविष्यका बारेमा शंकेत दिइसक्नु भएको छ।  प्रह्लादले मधेसी दलमा संगठन सृदिढिकरण गर्दै पार्टी बलियो बनाउनुभन्दा पसल थपे जस्तो गरेकाले आफू पुरानै ठाउँमा फर्किने तरखरमा रहेको बताउनु भएको छ।पार्टी विभाजनका कारण खाली खाली भएको एमाले सबैलाई स्वागत गर्न तयारजस्तो देखिन्छ। विगतको चुनावमा पर्साका चारवटा संसदीय क्षेत्र, आठ वटा प्रदेश सभा क्षेत्रमध्ये २ वटा नेपाली कांग्रेस तिने पनि बाँकी सबै  मधेसी दलको कब्जामा आएको थियो।सिद्धात र विचार भन्दा जसरी पनि चुनाव जित्ने नाराका साथ अगाडि बढेको  नेकपा एमालेमा सजिलै  टिकट पाउन सक्ने भएकाले पनि मधेसी नेताहरूको  पहिलो रोजाइमा परेको हो।

दलबदलका क्रममा मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जका मेयर विजय सरावगीएमालेमा प्रवेश गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) त्यागेका राजेशमान सिंह श्रेष्ठको भने बिचल्ली भएको छ। वीरगञ्ज महानगरपालिका मेयरको टिकट पाउने विश्वासमा लोसपा परित्याग गरेका सिंहले पनि एमाले रोज्नु भएको थियो। दुई हप्ता अगाडि वीरगन्जमा पत्रकार सम्मेलन गरेर नै मधेसी दल मधेसको माग पूरा गराउन असफल भएकोले आफु एमालेमा प्रवेश गर्न लागेको राजेशमानले जानकारी गराउनु भएको थियो।
तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयर सरावगीलाई भित्र्याए पछि सिंह असुरक्षित महसुस गर्दै पार्टी परित्याग गर्न लाग्नु भएको हो। गत चुनावमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयरमा चुनाव लड्नु भएको थियो राजेशमानले।तत्कालिन मधेसी जनअधिकार फोरमबाट मेयरमा विजय सरावगी चुनाव जित्नु भएको थियो भन्ने नेपाली कांग्रेसका अजय द्ववेदी दोश्रो र  सिंह तेस्रो हुनुभएको थियो। एमालेका अध्यक्ष ओली निवासमा काठमाडौँ पुगेर मेयरको टिकट पाउने वचन लिएर खादा आडेर फर्केका राजेशमानले औपचारिक रुपमा चैत्र ८ गते  वीरगञ्जमा पार्टी प्रवेश गर्ने तयारी थियो।
तर राजेशमानलाई सरावगीले उछिन्दै नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक तथा एमालेका नेता बसुरुद्दिन अंसारीको छोरी बिहेमा आएको मौका छोपेर फागुन २८ गते मेयर सरावगी एमालेमा प्रवेश गरे पछि सिह निराश भएको बताइन्छ। आफूलाई मेयर सरावगीको प्रतिस्पर्धीको रुपमा ‍स्थापित गर्न खोजेका राजेशमानले सरावगीसँग एउटै पार्टीमा बस्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा जनतासँग सल्लाह माग्दै भन्नुभएको छ, ‘जनताको हक अधिकारका लागि लड्ने हामी र भगवानले दिएको सबै छ भनी भ्रष्टचार गर्ने मेयरसँग एकै ठाउँमा बस्ने वातावरण कसरी बन्छ ? कसरी काम गर्न सकिन्छ ? त्यसकारण म मेरा सम्पूर्ण वीरगञ्ज महानगरवासीसँग सल्लाह चाहन्छु। अब मैले के गर्दा उपयुक्त हुन्छ ? म यहाँहरूको सल्लाह अनुसारको निर्णयमा जान चाहन्छु।’

एमाले भित्रै केहीले सरावगीलाई पार्टीमा प्रवेश गराउनु उपयुक्त भएको तर्क गरिरहेका छन्।तर अर्को पक्षले भने सरावगीको प्रवेशले पार्टी नै खतरामा पर्न सक्ने चेतावनी दिँदै प्रवेशको विरोध गरेका छन्।
एमाले प्रवेश गर्ने क्रममा राजेशमानले लोसपा र जनता समाजवादी पार्टी( जसपा)लाई सराप्दै जातीय स्वार्थमा लिप्त रहेको आरोप लगाउनु भएको थियो।अब भने मधेस प्रदेशका मुख्यमन्त्री एवम  जसपाका कार्यकारिणी सदस्य महमद लालबाबु राउत गदी तथा संघीय सांसद प्रदीप यादवको सक्रियतामा सिंह मेयरको टिकट पाउने आशमा हुनुहुन्छ उहाँ। त्यसैले चाँडै एमाले परित्याग गरेको घोषणा गर्दै जसपामा प्रवेश गर्ने तयारी थालेको बताइन्छ।जनताको आलोचनाबाट बच्न सामाजिक संजालबाट वीरगन्ज महानगवासिसँग राजेशमान सुझाव मागिएको पनि बुझिन्छ।
उता वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टीका नेताहरूबाट पटक पटक आफूमाथि दुर्व्यहार हुने गरेकाले मघेसी दल त्यागेको वताउनु भएको छ।आफू व्यापारिक क्षेत्रबाट आए पनि पार्टीका नेताहरूबाट कालोमोसो लगाइदिने समेतका घम्कीहरू अनेकौ पटक खेप्नु परेको भनाइ छ। मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई पर्साको अधिकांस क्षेत्रबाट मधेसी दलहरूलाई जिताउने अहम् भूमिका निर्वाह गरेपनि  पार्टीभित्र दुर्व्यहार हुने गरेकाले एमाले प्रवेश गरेको बताउनु भयो।

विगतमा आफूले जसपा छोड्न राजीनामा दिए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेर आफ्नो कार्यकाल जसोतसो बिताएको मेयर सरावगीले बताउनुभएको छ। ‍आफू राजनीतिक नभएर आर्थिक तथा सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति भएकोले जनताले माया गरेर  मेयरमा चुनाव  जिताएको वताउने मेयर सरावगी सुरुमा  कांग्रेस प्रवेश प्रयास गर्नु भएको हो। तर त्यहाँ टिकटको ग्यारेन्टी नभएपछि ‍ एमाले रोज्नु भएको हो।मेयर सरावगी भन्नुहुन्छ, ‘मेरो कांग्रेसमा जाने विकल्प  अलिकति कमजोर किन भयो भने त्यहां पहिलादेखिनै नेताको भीड छ।’

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
स्थानीय निर्वाचन अगाडि मधेसी दल छोड्नेहरूको लर्को
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link