वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

अनिल तिवारी

वीरगन्जको आदर्श नगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारीका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । करिब डेढ सयभन्दा बढी बचतकर्ताको लगानी लिएर फरार भएको सानो पाइलाबाट बचत रकम पाउनको लागी बचतकर्ताहरूले प्रदर्शन गरेका हुन ।  वीरगन्जका बचतकर्ताहरूको १ अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार रहेका  सानो पाइला बचतका सञ्चालक जीवी (गितेन्द्रकाबु) राई सहित सञ्चालक र कर्मचारीहरूको पक्राउको माग गर्दै पीडित बचतकर्ताहरूले प्रदर्शन गरेका हुन ।

प्रचण्ड चिसोमा वीरगन्जको टिबडेवाला धर्मशालामा भेला भएका पीडित बचतकर्ताहरूले विरोध जुलुस निकालेर वीरगन्जमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले सानो पाइलाका सञ्चालक जीवीलाई पक्राउ गरी कारबाही गर, बचतकर्ताको रकम फिर्ता गर, बचतकर्ताको रकम टिभीमा लगानी गर्न पाइँदैन लगायतका नारा समेत लगाएका थिए । टिबडेवाला धर्मशाला परिसरबाट निस्किएको विरोध जुलुस नगर परिक्रमा गरी घण्टाघर चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

विरोध सभामा बोल्दै सहकारी पीडित सङ्घर्ष समितिका संयोजक सुशील अग्रवालले बचतकर्ताको रकम फिर्ता गराउन मुख्य सञ्चालक जीवी राईसहितलाई अविलम्ब पक्राउ गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आगामी माघ २ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउने समेत बताउनुभयो । आर्थिक मन्दीको समयमा  जनताको अर्बौँ डुबे पनि  जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूले खासै सहयोग नगरेकोमा दुखसमेत व्यक्त गर्नुभयो ।

अर्को तर्फ लगभग ६ महिना देखि बन्द रहेको सानो पाइलाको कार्यालयमा ताला बन्दी गरिएको छ । वीरगन्जको आदर्श नगर स्थित उक्त सहकारीको शाखा कार्यालयमा बिहीबार  वीरगन्ज महानगरपालिकाले छ महिना देखि बन्द रहेको सानो पाइलाको मूल ढोका शील गरेको  छ । महानगरपालिकाले उक्त सहकारीलाई पाँच महिना पहिला अर्थात् गत भदौ ४ मा नै समस्याग्रस्त सहकारी घोषणा गरेर त्यसका सञ्चालकहरूलाई पक्राउ गर्न नेपाल प्रहरी लगायतका सम्बन्धित  निकायमा पत्राचार गरेको थियो ।

त्यसको आधारमा अदालतले सानो पाइला सहकारीका संस्थापक एवं संरक्षक जीवी राई, वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्व सचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमार लगायत १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर अहिलेसम्म कोही पनि पक्राउ  परेका छैनन् । सङ्घर्ष समितिका संयोजक अग्रवालका अनुसार– ‘उक्त सहकारीमा वीरगन्जका करिब ८ सय साना तथा ठुला व्यापारिक घरानाको करिब १ सय ३५ करोड रुपैयाँ बचत छ ।’

वीरगन्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा सानो पाइलाको विरुद्ध एक सय १५ भन्दा बढी लिखित उजुरी परेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पनि ५२ वटा उजुरी परेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

ती सबै उजुरीमा सहकारीले १ अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको वीरगन्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखा प्रमुख सुनिल कर्णले जानकारी दिए । काठमाडौँको कालीमाटीमा केन्द्रीय कार्यालय भएको सानो पाइला सहकारीको वीरगन्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते पनि बचतकर्ता सदस्यहरूले प्रदर्शन गर्दै धर्ना दिएका थिए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link