ओलीमय वीरगञ्ज

अनिल तिवारी

वीरगञ्ज महानगरपालिका सफाईकर्मीलाई मंगलबार बिहान भ्याइ न भ्याई थियो, वीरगञ्जको घन्टाघर आसपास क्षेत्रमा खटाएका सबै जना टुटेफुटेको मुख्य सडकलाई चम्काउन प्रयासरत थिए। सधैजसो लाग्ने तरकारी बजारले दुर्गन्धित बनाएको घन्टाघर नजिकैको विपि उद्यान क्षेत्रलाई पनि गन्धमुक्त गर्नु थियो। धुलोमय सडक तथा पार्कमा पानी हाल्न महानगरपालिकाका सबै बारुणयन्त्र परिचालन थिए।यो सब केपी ओलीका लागि हो। कुनै बेला वीरगञ्जमा एक हिसाबले निषेधित नाम थियो केपी शर्मा ओली तर आज वीरगञ्ज सहरमात्र होइन सहिद स्मारक अगाडि रहेको तराई कांग्रेस र सद्‍भावना पार्टीका संस्थापक नेता रामजनम तिवारीको सालिक समेत ओलीमय भएको छ।

नहोस् पनि कसरी यो सालिकका निर्माणकर्ता युवा नेता शिव पटेल नै दुई हप्ता अगाडि एमालेमा छिरिसक्नु भयो। वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी एमाले पार्टीमा प्रवेश गरेको पनि दुई हप्ता भयो। मंगलबार फेरि अरू छिर्दै थिए एमालेमा। त्यसैले पार्टी प्रवेश कार्यक्रमलाई उत्कृष्ट बनाउन महानगरपालिकालाई पनि चुनौती थपिएको वताउँदै एक कर्मचारीले भने, “मेयर साहबको केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री आउदै हुनुहुन्छ, हामी सबैको प्रतिष्ठाको कुरा हो।”

मधेस आन्दोलन र नाकाबन्दी पछि  वीरगञ्ज पहिलो पटक आयोजित केपी ओलीको कार्यक्रमलाई  भव्य बनाउन नगर प्रमुख सरावगी एक हप्ता देखि व्यस्त हुनुहुन्छ। राजनीतिमा पैसा र मिडिया प्रचारलाई प्राथमिकता राख्ने भनेर आरोपित सरावगी ओलीको आगमनमा हुने पार्टी प्रवेश कार्यक्रमलाई चुनावी शक्ति प्रर्दशनकै रुपमा लिएको बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, ‘विभिन्न पार्टीका एक हजार नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने गराइनेछ ।एमालेमा म प्रवश गरेपछि कार्यक्रम भव्य हुनु त स्वाभाविक नै हो ।”

सरावगी वीरगञ्ज महानगरको मेयरमा चुनाव फेरि जित्न १६ करोड रूपैयाँ बजेट छुट्याएको भनेर बजारभरि हल्ला चलिरहेकै छ। एक हप्तादेखि विभिन्न दलका वडाध्यक्षहरूलाई एमालेमा प्रवशे गराउन ‍साम–दामलगायतका सबै शक्ति उहाँले प्रयोग गरिरहनु भएको स्थानीय राजनीतिकर्मीहरू वताइरहेका छन्।

मंगलबारकै कार्यक्रमको भव्यता हेर्दा यहाँका कार्यक्रम व्यवस्थापकहरूको अनुमानमा कम्तिमा पनि २० लाख रुपैया खर्च भएको छ ।यसमा गाउँबाट मान्छे ल्याउन गरिने प्रति व्यक्ति ५ सय देखि १ हजार रूपैयाँको खर्च जोडिएको छैन। कार्यक्रमस्थलमा वडाध्यक्षहरूको पनि आआफ्नै तरिकाको खर्च थियो। वडाबाट आएका कार्यकर्ता तथा मतदातालाई कसैले जुस बाँडेका थिए त कसैले पानीका बोतल त कसैले विस्कुट।

वीरगञ्ज सम्पन्न भएको पहिलो कार्यक्रमलाई पार्टीका नेता तथा कार्यकर्ताले विशेष रुपमा लिएको कारण पनि वीरगञ्ज ओलीमय बनाइएको जिल्लाका सहसचिव संजिव मिश्राले बताउनु भयो। संजिव भन्नुहुन्छ, ‘मधेसमा एमाले प्रति आकर्षण बढको छ, मधेसी दलका अधिकांश नेताहरू पार्टी प्रवेश गरेकाले केन्द्रिय अध्यक्ष स्वयम् वीरगञ्ज आउदै हुनुहुन्छ।’

पार्टी प्रवेश कार्यक्रमसँगै हुने केपी ओलीको सम्बोधनमा सबैको उपस्थितिका लागि एक दर्जन इ–रिक्शामा बिहनैदेखि माइकिङ गरिएको थियो। अध्यक्ष कमरेडको भाषण सबैले सुन्नु पर्छ भनेर घन्टाघरदेखि मकालु होटल र मुर्ली चोकसम्म लाउस्पिकरहरू लगाइएको छ। बिहान ९बजे देखि सुरु भएको चुनावी प्रचारको गीत र लाल सलामको नाराले सुन्न बाध्य थिए व्यापारीहरू। पसल सामुन्ने राखिएको लाउडस्पिकरका ध्वनि प्रदुषणले कतिपय ग्राहकहरू फर्केको आदर्शनगरका व्यापारी राकेश अग्रवालले वताउँदै हुनुहुन्थ्यो। राकेश भन्नुहुन्छ,,‘दुई बर्ष अगाडि ध्वनि प्रदुषणलाई नियन्त्रण गर्न महानगरबाट मेयर विजय कुमार सरावगी अभियान चलाउनु  भएको थियो ।तर अहिले मेयरकै अगुवाइमा भएको कार्यक्रमको प्रचारका लागि बजार भरी ध्वनि प्रदुषण फैलाउने काम भइरहेको छ। ‍चुनाव जित्न बजार भरी लाउडस्पिकर लगाएर कार्यक्रमको प्रचार गरिदै छ ।समय समयको कुरा हो।‘

स्थानिय निर्वाचन नजिकिदै जाँदा एक  महिनामा अध्यक्ष ओलीको पर्सामा ओयोजित यो तेश्रो पार्टी प्रवेश कार्यक्रम हो । जिल्लामा दबंग नेताले प्रसिद्ध जालिम मियाँदेखि विद्यार्थीकालदेखि सद्‍भावनाको राजनीतिमा सक्रिय युवानेता शिव पटेल र वीरगञ्ज महानगरपालिकाका मेयर एवम उधोगपति विजय कुमार सरावगी समेत एमालेमा प्रवेश गरेका छन् ।  मधेस आन्दोलनको केन्द्रविन्दु पर्सालाई बलियो बनाउन केन्द्रिय अध्यक्ष ओली पटक पटक वीरगञ्ज आइराख्नु भएको पुर्व जिल्ला अध्यक्ष प्रभु साहले वताउनुभयो। प्रभु साह भन्नुहुन्छ, ‘पार्टी विभाजन पछि अध्यक्ष कमरेडले मधेसलाई विशेष प्राथमिकतामा राख्नु भएको छ,मधेस आन्दोलनको सबै माग केपि ओलीले मात्र पुरा गर्ने भने कुरा मधेसका जनता बुझिसकेका छन्।’

कार्यक्रममा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले पनि अबको वीरगञ्जलाई आधुनिक वीरगञ्ज बनाउने उद्धेश्य आफूले लिएको बताउनु भयो।

पार्टी प्रवेश तथा बृहत् आमसभा बोल्दै ओलीले भन्नुभयो,‘मेयर राम्रो हुनुहुन्थ्यो तर उहाँले जितेको पार्टी नराम्रो भएकोले वीरगञ्जको विकास हुन नसकेको हो।‘

‍तर कार्यक्रममा पार्टीको अपेक्षा अनुसार मानिस आएनन्। जिल्ला सहसचिव प्रद्युम्न सेढाइले पनि यसलाई स्वीकार गर्दै जिल्ला कार्यसमिति चयन भएको एक हप्ता नबित्दै कार्यक्रम आयोजना गरिएकोले तयारी नपुगेकोले उपस्थिती फितलो भएको हुनसक्ने वताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
ओलीमय वीरगञ्ज
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link