समावेशी प्रावधान नेता पत्नीलाई फलिफाप

अनिल तिवारी

स्थानिय निकायमा समावेशी जनप्रतिनिधित्व हुनुपर्ने अनिवार्य संवैधानिक व्यवस्था पर्सा जिल्लाका नेता पत्नीका लागि भने राम्रै फापेको छ । ठुलो एवम् सबैभन्दा पुरानो इतिहास बोकेको नेपाली काँग्रेस, कम्युनिष्टदेखि मधेसी दलहरूका नेताले उपमेयरको उम्मेदवारमा आफ्नै श्रीमतीलाई अगाडि सारेका छन्।

मुख्यमन्त्री लालबाबु राउत गद्दीको आफ्नै पैतृक गाउँ जगनाथपुर गाउँपालिकाकी उपाध्यक्ष दुई हप्ता अगाडि नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । उपाध्यक्ष बिसमिल्ला खातुन जसपा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नु पछाडीको कारण मुख्यमन्त्री नै भएको आरोप लगाउनु भएको छ। जगरनाथपुर गाउँपालिकामा मुख्यमन्त्रीको श्रीमती जुलेखा खातुन उपाध्यक्ष पदको उमेदवार बनी सरकारी गाडी चढेर भोट माग्दै हिड्न थाले पछि  बिसमिल्ला जसपा छोडेर माओवादीमा प्रवेश गर्न बाध्य भएको उहाँको आरोप छ ।

तर मुख्यमन्त्री लालबाबु राउतको भनाइ भने अर्कै छ। राउतका अनुसार पार्टीका स्थानिय कार्यकर्ताले उचालेर श्रीमतीलाई उपाध्यक्षमा उम्मेदवार बनाएका हुन। ‘मधेसीले पाउने ठुल्लै ओहदा मुख्यमन्त्रीमा आफु पुगी सकेकोले उनले(श्रीमतीले) चुनाव नलडे पनि हुन्थ्यो‘ मुख्यमन्त्री राउत भन्नुहुन्छ, ‘राजनितिमा त्यही न हो, सबै मिलेर अगाडि बढाइ दिएका छन् , फर्क पनि कसरी भन्ने? घरबार हेर्ने भनेको उहाँले नै हो ।‘

नेताभन्दा बढी समाजसेवी भनेर चिनिने नाम हो डा. सुष्मा तिवारी । नेपाली काँग्रेसबाट उपपप्रमुखको लागि टिकट पाउन सक्ने योग्य उम्मेदवारको नामभित्र डा. तिवारीको नाम अग्रस्थानमा आउँछ । विद्यावारिधी गरेर समाजसेवी र महिला अधिकारकर्मीको रुपमा परिचित  डा. तिवारी नेपाली काँग्रेस पर्साका निवर्तमान सभापति एवम् वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्यासी अजय कुमार द्विवेदीकी श्रीमती हुनुहुन्छ।   खास गरेर  महिला नेतृत्व विकास गर्ने नेपाली काँग्रेसको भातृसंगठनको रुपमा रहेको नेपाल महिला संघको गतिविधि शिथिल भएको कारणले पनि महिला नेतृत्वको कमि देखिएको छ ।मधेस प्रदेशको एक महानगरपालिकाको रुपमा रहेको वीरगञ्ज महानगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका पूर्व सभासद् एवम सभापति अजय द्विवेदीकी श्रीमती शुषमा तिवारी द्विवेदी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारको प्रवल दावेदार हुनुहुनछ।

गत स्थानिय चुनावमा उपमेयरका आंकाक्षा राखेर ठाकुर क्याम्पसबाट राजिनामा दिए पनि शुश्री शान्ति कार्कीको पार्टी प्रतिको त्याग र बलिदानीको कदर गर्नका लागि आफु पछाडि फर्केको द्विवेदीको भनाइ छ। श्रीमान अजय द्विवेदीसँग जोडेर आफुलाई हेर्नु गलत रहेको, उहाँको तर्क छ ।द्विवेदी भन्नुहुन्छ,‘पार्टीमा मेरो आफ्नै लगानी छ, म पार्टीका हरेका कार्यक्रममा सक्रिय रहदै आएकी छु, मधेसको महिला भएपनि पढेलेखेको छु, उपमेयरमा जिते भने महानगरको विकासमा ठुलो परिवर्तन ल्याउने मेरो सोच छ।‘ सामाजिक अभियन्ताको रुपमा काम गर्दै आएकोले पनि आफ्नो दावेदारी पार्टीका लागि उचित भएको उहाँको तर्क छ । यसअघि मेयरमा पराजित भएपछि यसपाली श्रीमतीलाई उपमेयर बनाएर आफु संसदीय निर्वाचनमा जाने दाउमा द्विवेदी रहेको उनी निकटका नेताहरू बताउँछन् ।

नेपाली काँग्रेसबाट महानगरको उपमेयरको लागि जिल्ला सदस्य रुपा देवी श्रेष्ठ र किरण सरकारको नाम पनि चर्चित रहेको छ। महिलाहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका निम्ति आफु लगातार काम गर्दै आएको श्रेष्ठको दाबी छ ।किरण सरकार बिद्यार्थी आन्दोलनमा सक्रिय रहेकाले आफ्नो दाबी सहि रहेको सरकारको भनाइ छ ।

सत्ताधारी गठबन्धनकै अर्को दल नेपाल कम्युनिष्ट पार्टी समाजवादीको तर्फबाट पनि उपमेयरको उम्मेदवारमा अर्का  आकांक्षी चिरञ्जिवि आचार्यकी श्रीमती सोफिया आचार्यको नाम पार्टीले अगाडि सारेको छ। गत स्थानिय चुनावमा एमालेको तर्फबाट लडेकी सोफिया आचार्यले १० हजार ६ सय ६३ मत प्राप्त गरेर तेश्रो स्थानमा आउनु भएको थियो।

जनता समाजवादीको तर्फबाट पर्सा क्षेत्र नम्बर एकबाट जसपाका सांसद प्रदिप यादवकी श्रीमती पिंकी यादवको उपमेयरमा दावेदारीको चर्चा छ ।सांसद यादवको जेठी श्रीमती पिंकी यादव पनि गत स्थानिय निर्वाचनमा उपमेयरमा लड्नुभएको थियो। संघीय समाजवादी फोरम तर्फबाट मेयर पदमा बिजय कुमार सरावगी जितेपनि नेपाली काँग्रेसकी उपमेयर उम्मेदवार शान्ति कार्कीको लोकप्रियताको कारण पिंकी यादव पराजित हुनुभएको थियो।सताधारी दलबिच चलिरहेको गठबन्ध भंग भए जसपाले पुन यादवलाई नै चुनाव जिताउने चर्चा पार्टी भित्र रहेको एक कार्यकर्ताले बताए ।

जिल्ला सभापति पुरुषोत्तम झाकी श्रीमती पनि  लोसपाबाट वीरगन्जको उपमेयरमा उम्मेदवार हुने चर्चा छ।एमालेसँग गठबन्धन हुने चर्चा चलिरहेको बेला स्वयम जिल्ला सभापनि स्वयम् वा उहाँकी श्रीमती उपमेयरमा लड्ने वढी सम्भावना रहेको कार्यकर्ताहरू बताउछन् ।  तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट छोटो समयको तयारीले पनि राम्रै मत ल्याएकी  लोसपाकी नेतृ रम्भा मिश्रले यस पटक उपप्रमुखका लागि उम्मेदवारीको दावी गर्दै आउनुभएको छ।* मिश्रा भन्नुहुन्छ, ‘मेरा परिवारका सदस्य सबै काठमाडौँमा बस्नुहुन्छ।तर म वीरगञ्जमै बस्छु। मैले अहिले सम्म सबै जीवन नै वीरगञ्जलाई दिएकी छु ।  अब वीरगञ्जबासीबाटै  माया र साथ पाउँछु भन्नेमा पनि आशावादी छु ।‘

*तथ्यगत गल्ती भूलसुधार गरिएको।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
समावेशी प्रावधान नेता पत्नीलाई फलिफाप
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link