मधेस प्रदेशका मुख्यमन्त्रीकी श्रीमती र स्वकीय सचिव पनि उम्मेदवार

अनिल तिवारी

‘घरमा श्रीमती र कार्यालयमा पिएले जेगरे पनि नेतालाई ठिकै छ’ भन्ने उखानलाई मधेस प्रदेशका मुख्य मन्त्रीले चरितार्थ गरेका छन् । मधेस आन्दोलनका सहिद परिवार बिचल्लीमा परे पनि मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफन्तलाई उम्मेदवार बनाउनुभएको छ । पर्साको स्थानीय निकायबाट मुख्यमन्त्रीले श्रीमती र स्वकीय सचिवलाई उम्मेदवार बनाउनुभएको हो । मुख्यमन्त्री लालबाबु राउत गद्दीको पैत्रिक थलो जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा श्रीमती जुलेखा खातुनले उम्मेदवारी दिनुभएको छ । खातुनले जसपाबाट उम्मेदवारी दिनुभएको हो । मुख्यमन्त्री राउतकी श्रीमती उपाध्यक्षको उम्मेदवार बन्ने हल्ला चलेपछि उपाध्यक्ष बीसमिला खातुन जनता समाजवादी पार्टी (जसपा) पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नुभएको थियो । जगरनाथपुर गाउँपालिकामा मुख्यमन्त्री राउतकी श्रीमती जुलेखा खातुन सरकारी गाडीमा चढेर उपाध्यक्ष पदको भोट माग्दै हिड्न थालेपछि जसपा छोडेर माओवादीमा प्रवेश गर्न बाध्य भएको आरोप बीसमिला खातुनको छ ।

मुख्यमन्त्री राउतकी श्रीमती जुलेखा खातुनले सोमबार गाँउपालिकाको उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराउनु भएको हो । उहाँले जसपाबाट पालिका उपाध्यक्षमा उम्मेदवारी दिनुभएको हो । मधेस आन्दोलनका सहिद परिवारलाई टिकट नदिएको आरोप लागेका बेला जसपाले मुख्यमन्त्रीकै जोडबलमा  पत्नी खातुनलाई उपाध्यक्षमा उम्मेदवार बनाएको आरोप असन्तुष्ट कार्यकर्ताहरूको छ । मधेस आन्दोलनका सहिद सोहन साह कलवारकी पत्नी विनिता साह कलवारलाई जसपाले टिकट नदिएपछि सोमबार उनले विवेकशील साझा पार्टीबाट वीरगञ्ज १६ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी छन् । राजनीति र पार्टीमा खासै सक्रिय नरहनुभएकी खातुन मुख्य मन्त्रीकी पत्नी भएकाले उपाध्यक्षको उम्मेदवार बनाइएको चर्चा छ ।

उपाध्यक्षमा कांग्रेसबाट बबीता सिंह, नेकपा एमालेबाट मीरा देवी कुर्मी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अनिता देवीले पनि उम्मेदवारी दिनुभएको छ । जगरनाथपुर गाँउपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष जालीम मियाका भाइ महम्मद सलीम मन्सुरले एमालेबाट उम्मेदवारी दिनुभएको छ । कांग्रेसबाट श्रीकान्त यादव, माओवादी केन्द्रबाट मालती उपाध्याय, जसपाबाट कृष्णमोहन यादव, लोसपाबाट महम्मद अफताब मियाँ, जनमत पार्टीबाट चन्दन चौहानको पनि उम्मेदवारी परेको छ ।

मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले पनि गाउँपालिका प्रमुखको पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष पदमा यादवले उम्मदेवारी दिनुभएको जानकारी निर्वाचन अधिकृत गौतम भण्डारीले दिनुभएको छ । जनता समाजवादी पार्टीका तर्फबाट गाउपालिका अध्यक्षमा दिपक यादव र उपाध्यक्षमा आस्मोहनी चौधरीले उम्मेदवारी दिनुभएको छ ।

पाँच महिना अगाडि साइकल वितरणको घोटालामा मुछिएका मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवलाई उम्मेदवार बनाइएकोमा पार्टी भित्र व्यापक असतुष्टि रहेको एक कार्यकर्ताले बताए । दीपक यादवलाई विद्यालयसँग भरपाइ लिएर साइकल वितरण नगरेको आरोप लागेको छ ।

कागजी प्रक्रिया मिलान गर्नुपर्ने भन्दै यादवले विद्यालयको आधिकारिक लेटर प्याडमा साइकल वितरण भइसकेको भन्दै भरपाइ गराएर साइकल वितरण नगरेको स्थानीयको आरोप छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
मधेस प्रदेशका मुख्यमन्त्रीकी श्रीमती र स्वकीय सचिव पनि उम्मेदवार
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link