मध्य तथा सुदूर पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका आदिबासी थारू समुदायले थारू लोकचित्रकला अर्थात् ‘अष्टिम्की’ चित्रकला र ‘सख्या’ बनाउने गर्छन्। यसरी बनाइने र पाइने थारू चित्रकला र हस्तकलाका सिर्जनाहरू स्थानीय लोकजीवनका परम्परागत लोककलाका साक्षी सिर्जना हुन् । यी चित्र तथा मूर्तिहरूले थारू समाज र संस्कृतिमा कलाको के कति महत्व रहेछ र तिनको प्रयोग र प्रचलनका बारेमा पनि थप जानकारी हासिल गर्न सकिन्छ । उनीहरूका यी कलाले स्थानीय जीवन र प्रकृति तथा समाज र प्राचीन संस्कृतिको पनि चित्रात्मक अभिव्यक्ति दिँदै आइरहेको पाउन सकिन्छ ।
वास्तवमा यी कला स्थानीय जीवनका शाश्वत सिर्जना हुन् । यी कला स्थानीय लोकजीवनका स्पन्दन हुन् । यिनमा उनीहरूका आशा, अपेक्षा, दु:ख, सुखका साथै दैनिक जीवनका अनेक पक्ष उतारिएको पाइन्छ । त्यस्तै यिनै चित्रका माध्यमबाट थारू समाज र संस्कृतिका विविध रूपसमेत कलामा प्रकट गर्ने गरिएको पाइन्छ । त्यसैले यी कला उनीहरूका जीवनसापेक्ष सिर्जनाका स्वरूप हुन् । त्यसैले यी कला उनीहरूका लोककलाका सनातन सुन्दर सिर्जना हुन् । अनि यी कलासिर्जना शक्तिका सशक्त प्रमाण पनि हुन् ।
लोककलाका कलामा अभिव्यक्त भएका स्थानीय जीवन र परम्परागत संस्कृतिका विम्बहरू तथा समाजसँग तिनको अन्तर्सम्बन्ध र त्यसले दिने सन्देश तथा पार्ने प्रभावका विषयगत पक्षमा पनि हामीलाई जिज्ञासा जागृत पार्न निश्चय पनि सघाएको हुनुपर्छ । समाजभित्रका यी सिर्जनाहरू समाजभित्रै लुकेर बस्न अझै पनि बाध्य अवस्थामा छन् । अब तिनले सार्वजनिक हुने अवसर पाउनुपर्ने अनुरोध र आग्रह स्थानीय कलाकारहरू गर्नुहुन्छ ।
स्मरणीय के छ भने थारू समुदायका यी कला प्राय: ग्रामीण घरका भित्तामा मात्रै सीमित छन् । तिनले कागजका माध्यमबाट सार्वजनिक हुने अवसर पाएको धेरै समय भएको छैन । यही कारणले पनि यो कलाका बारेमा कमैलाई मात्र जानकारी उपलब्ध छ । एकप्रकारले यो कला आज लोपोन्मुख अवस्थामा पुगिसकेको छ । यसको संरक्षणका साथै यस कलाका विषयमा व्यापक प्रचार–प्रसारको पनि त्यत्तिकै आवश्यकता छ । यसको महत्व, प्रचार नभएकाले पनि यो कला गाउँघरकै भित्तामा रहिरहेका छन् । यसतर्फ तत्काल कलानुरागी तथा कला अध्येताको ध्यान जानु वाञ्छनीय देखिन्छ ।
भनिन्छ, थारू लोकचित्रकला अष्टिम्की चित्रकला मात्रै होइन कि यो एक भक्तियोगको परिणाम पनि हो । यसमा सिर्जनात्मक समर्पणका साथै त्यसप्रति ठूलो आस्था, विश्वास र श्रद्धा हुने यसै कलामा काम गर्ने स्थानीय कलाकारहरूले मात्र बताउँछन् । त्यसैले यो चित्रकला सिर्जना गरिसकेपछि त्यसलाई पूजाआजा गरिन्छ । त्यसपछि नाच्ने, गाउने कार्यसहित लोककला रचनामा लोक मनोरञ्जनको अत्यन्त भिन्न सुन्दर र सुमधुर मनोरम वातावरण पनि बन्दछ ।
आज आ–आफ्नो जातीय तथा सांस्कृतिक पहिचानको खोजी र चर्चाको सिलसिला चलिरहेको सन्दर्भमा पनि राजधानीबाट टाढाको दूरदराजमा हराइरहेको उपेक्षित अवस्थामा रहेको स्थानीय कलासम्पदाको संरक्षण र सम्बर्द्धन कार्यमा अब पनि हाम्रो ध्यान गएन भने हामीले हाम्रै महत्त्वपूर्ण सम्पदा गुमाउने छौँ ।
सामान्य कागजमा उतारिएका र साधारण जीवन बाँच्ने लगभग अशिक्षित समुदायका पुरूष तथा गृहिणी महिलाका हातबाट सिर्जित यी लोककलामा कलात्मकपन वा दक्षता देख्न, भेट्न नसकिएला तथापि परम्परागत लोककलाको जीवन्त झलक भने यिनले अवश्यमेव दिँदै आएका छन् । यद्यपि यस कलामा प्रमुख भूमिका भने महिला वर्गको नै हुने गर्छ । माटो र फाइवर कलामा महिला सदस्यहरूले सक्रियता देखाउने गर्छन् ।
यसप्रकारका कलारचनामा रङ संयोजनको कुशलता वा अथवा एकान्तर र दूरान्तरको भेद तथा आकृति–अनुपातको संरचनागत सन्तुलन नहोला तर यिनलाई कलाको व्याकरणमा राखेर हेर्नु हुँदैन र सकिँदैन पनि । त्यसो त लोककला भनेको कुनै गुरूसँग सिकेर वा शिक्षालयमा नगई शिक्षादीक्षा बिना नै हेर्दै, सिक्दै स्वत: सिर्जना हुने कला हुन् । आफ्ना बाबुबाजेले गर्दै आएका कामकै निरन्तरताकै रूपमा यी कलालाई लिन सकिन्छ। सानैदेखिको बस–उठ तथा सधैँ त्यही कामको अभ्यासले पनि यस किसिमको कलामा निपूणता स्वत: विकसित हुने गर्दछ ।
थारू समुदायका सदस्यहरूमा पनि यही क्रमको अभ्यास भएको हो । त्यसैले उनीहरूका कलामा उनीहरूकै जीवन–संसारका सन्दर्भहरू अङ्कित भएको पाइन्छ । आकृतिहरूको अनुपात मिल्नु र नमिल्नुसँग अथवा रङ र रेखाको सन्तुलनमा सुन्दरता देखिनु र नदेखिनुले उनीहरूका कलालाई कुनै असर पार्दैन । उनीहरूले आफ्नो मनका अभिव्यक्तिलाई आकार दिने साथै पुर्ख्यौली कर्मलाई बचाएर निरन्तरता दिने चेष्टासम्म मात्रै गरेका हुन् ।
थारू लोकचित्रकला अर्थात् अष्टिम्की चित्रकला र सख्या थारू समुदायको मुख्य कला हुन् । यसको माध्यम पहिले त भुँइ र भित्तामा मात्रै थिए । तिनमा महिला र पुरूष मिलेर चित्र बनाउने गर्दथे । मूलत: यो काम आज पनि कृष्णाष्टमीका दिन थारू समुदायका घर–घरमा हुने गर्छ। यस दिन उनीहरूले ब्रत बसेर अर्थात् पानीसमेत नखाई मुख जुठो नपारी चोखो बसेर थारू लोकचित्रकला अर्थात् अष्टिम्की बनाउने गर्छन् । यतिबेला घरका अरू सदस्यहरू पनि आ–आफ्नै काममा व्यस्त हुन्छन् । सिँगारपटार गर्दै घर र आफैँलाई सजाउने गर्छन् । थारू लोक चित्रकलाको यो एक अभिन्न अङ्ग हो ।
भनिन्छ, थारू लोकचित्रकला अष्टिम्की चित्रकला मात्रै होइन कि यो एक भक्तियोगको परिणाम पनि हो । यसमा सिर्जनात्मक समर्पणका साथै त्यसप्रति ठूलो आस्था, विश्वास र श्रद्धा हुने यसै कलामा काम गर्ने स्थानीय कलाकारहरूले मात्र बताउँछन् । त्यसैले यो चित्रकला सिर्जना गरिसकेपछि त्यसलाई पूजाआजा गरिन्छ । त्यसपछि नाच्ने, गाउने कार्यसहित लोककला रचनामा लोक मनोरञ्जनको अत्यन्त भिन्न सुन्दर र सुमधुर मनोरम वातावरण पनि बन्दछ । वास्तवमा यस कलामा ‘अष्टिम्की’ र ‘सख्या’ वा ‘नृत्यकला’ पनि जोडिएको हुन्छ । यसकै मूल रूप नै ‘अष्टिम्की लोककला’ हो । अर्थात् ‘थारू लोकचित्रकला’ हो । थारू समुदायको यति लोकप्रिय र पवित्र अनि यति महत्वपूर्ण यो लोकचित्रकला भएको थारूकलाका अध्येता अशोक थारू बताउनुहुन्छ ।
समग्र अष्टिम्की लोककला रामायण र महाभारतका कथामा आधारित रहेको पाइन्छ । सृष्टिचक्रको जीवनदर्शनमा आधारित भएर यो लोककला सिर्जना गर्ने गरिन्छ । थारू लोकचित्रकला प्रत्येकमा हामी माछा, पानी, जनावर, कीटपतङ्ग, मान्छे आदि देख्छौँ । यी सबै सृष्टिकै क्रम हुन् । यसरी कोरिएका आकृति बाहिर अर्को चित्रात्मक आवरण पनि बनाइएको हुन्छ । यसलाई कृष्णको विराट स्वरूपका रूपमा लिने गरिन्छ । अशोक थारूका अनुसार यी लोकचित्रकला वास्तवमा कृष्णको विराट स्वरूपमा आधारित हुन्छन् । समष्टिगत रूपमा यसलाई गुर्वाबाबाक जर्मौटी भनिन्छ । यसलाई नेपालीकरण गरिँदा थारू लोक ब्रह्माण पुराण, थारू लोक भागवतपुराण र थारू लोक महाभारतमा आधारित भएर ती भित्र लुकेका दर्शन यी थारू लोककला अष्टिम्कीमा उतारिएको हुन्छ ।
वि.सं. २००६ सालमा जन्मिएका दाङ सौडियारका रूपमान चौधरीका थारू लोकचित्रकलाका साथै मनराखु चौधरी (२००७), थारू लोकचित्रकलामा लाग्दै आउनुभएका स्थानीय कलाकार हुनुहुन्छ । त्यसैगरी थारू लोकचित्रकलामा दाङ र बाँकेका अन्य कलाकारहरूमा डम्बरबहादुर चौधरी (२००९), उरहरी, बेझलाल चौधरी, मन्सु चौधरी, जिउधन चौधरी, सुरतबहादुर चौधरी, टैंया चौधरी, ताराप्रसाद चौधरी, खगेश्वर भण्डारी, लालबहादुर चौधरी, सुनिताकुमारी चौधरी, चैलाही, रामनारायण चौधरी, सोनिका यादव, सरीता थारू चौधरी, जानकीकुमारी थारू, लाही चौधरी, प्रेमकुमारी पुन, बुढन्या चौधरी, रामपति चौधरी, जुग्री चौधरी, लालप्रसाद चौधरी, सुमित्रा चौधरी, सुध्री चौधरी आदि ।
यी सबै कलाकारका कला विषय र शैली उही हुन्छ तर प्रस्तुति मात्रै केही फरक देख्न सकिन्छ । कसैले कलमले रेखा र रङको प्रयोग गर्छन् । कसैले बाँसको टुप्पोमा कपास वा कपडा बेरेर त्यसले मसी चोब्दै चित्र बनाउने गर्छन् । यी चित्र बनाउने रङ पहिले प्राकृतिक रङकै प्रयोग गरिन्थ्यो । तर आजभोलि बजारिया सामग्रीहरू सजिलै उपलब्ध हुन थालेपछि त्यसकै प्रयोग गरेर चित्र बनाउने गरिन्छ । थारू हस्तकलाको माध्यम काठ र माटो कच्चा सामग्रीका रूपमा आउँछन् । यिनै माध्यमबाट थारू कूल देवीदेवताका साथै कृषि पेसा झल्किने तथा अन्य जातीय पहिचानका कलासिर्जना गर्ने गरिन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता