विगत दुई वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित डा. रामकुमार भौकाजीको अस्ति श्रावण ५ गते बिहीबार बिहान दुखद निधन भयो। अविवाहित भौकाजी नेपाली कलामा अलग धारका कलाकार हुनुहुन्थ्यो। नेपाली चित्रकला र कलालेखनमा उहाँको विशेष योगदान रहेको छ। “मेरो नेपाल” शीर्षक नै राष्ट्रिय भावनाले भरिएको अर्थात् आफ्नो जन्मभूमिप्रतिको हार्दिक भावनाले ओतप्रोतले अभिव्यक्त चित्रकला आफैँ एक अनुपम सिर्जनात्मक कर्म हो भन्ने उहाँको भनाइ थियो। यस कलाकर्ममा आफू लामो समयदेखि संलग्न रहँदै आएको बताउँदै केही चित्रहरू सङ्कलन गरेर सिर्जित ‘मेरो नेपाल’ शीर्षक श्रृङ्खलाहरू वि.सं. २०३८ सालमा मस्कोमा एकल कलाप्रदर्शनी गर्नुभएको थियो। त्यहाँदेखि यहाँसम्म आइपुग्दा उहाँले गत २०७६ सालमा आफ्नो जन्मथलो रामेछाप, साँघुटार बजारमा ग्राफिक चित्रहरूको प्रदर्शनी सम्पन्न गर्नुभयो। उहाँका अनुसार सो जन्मस्थानमा २०२९ मा पहिलो एकल चित्रकला प्रदर्शनी उहाँले गर्नुभएको थियो।
कलालेखन र कला सिर्जनामा संलग्न रहेता पनि नेपाली कला संसारबाट एक प्रकारले टाढा र भिन्न किन हुनुहुन्छ उहाँले स्पष्ट जवाफ यसरी दिनुभएको थियो– “समकालीनले विकास गरेको कला सिर्जना र शैलीको नक्कल गर्ने परम्परामा लीन हुने कार्य शैली र भविष्यविहीन जटिल जीवन शैलीबाट ग्रसित समकालीन कलाकर्मीहरूबाट टाढा रहँदै कला सिर्जना र नेपाली कलाक्षेत्रको विगत र वर्तमान गतिविधिको इतिहासबारे खोज अनुसन्धान गर्न मैले एकल साधनाको बाटोमा हिँड्न आवश्यक थियो। यस सन्दर्भमा समकालीन कलाकर्मीहरूबाट टाढा तर तिनका प्रत्येक कला गतिविधिलाई नजिकबाट नियाल्न मात्र होइन कि नेपाली कलाको समग्र इतिहास सुरक्षित राख्न तीन दशक भन्दाबढी समय त्यसको सूक्ष्म अध्ययन, अनुसन्धान गर्न सक्षम भएँ।”
उहाँको विचारमा आजको नेपाली कलाले आफ्नो मौलिकता स्थापित गर्न सकिरहेको छैन। सबैका आ–आफ्नै गुट, उप–गुटहरूले विसङ्गति नजानिँदो किसिमले विकृति भित्र्याउँदै छ। यो खराब प्रवृत्ति हो। यसले कलाको संस्थागत विकास गर्न कदापि नसक्ने दाबी उहाँले सोही भेटमा दिनुभएको थियो। आज फर्किएर हेर्दा के अझै पनि हामीले नेपाली कलाको समकालीन कला संसारमा आफ्नो मौलिकता स्थापित गर्न नसकेकै हौँ ?
उहाँको विचारमा नेपाली कलाकर्मीहरूले सिर्जनाक्षेत्रमा स्वपहिचान नै राख्न नसकेको सन्दर्भमा समकालीन कलाजगत्मा मौलिकता स्थापित गर्न सक्ने सम्भावना अझै देखिएको छैन। जबसम्म नेपाली कलाकर्मीहरूले परायाले विकास गरेको कला सिर्जना र कला शैलीलाई पछ्याउने र नक्कल गरी त्यसैको आधारमा आफ्नो पहिचान बनाएर स्थापित हुने सपना देखिरहन्छन्, तबसम्म नेपाली कला क्षेत्रमा मौलिकता स्थापित गर्ने कुरो थाँति नै रही रहने उहाँको विचार थियो। हाम्रा कलाकर्मीले कला सिर्जना क्षेत्रमा स्वःपहिचान स्थापित गर्ने प्रयास आफैँले जबसम्म गर्दैनन्, तबसम्म तिनको कला सिर्जनामा मौलिकताको प्रश्न उठाउनुको कुनै अर्थ नै नरहने पनि उहाँको ठोकुवा थियो।
रामेछापस्थित सानीटार बजारमा उहाँको जन्म वि.सं. २००८ सालमा भएको थियो। २०१८ सालमा काठमाडौं आएपछि उहाँको प्रारम्भिक शिक्षा पद्मोदयबाट भएको थियो। उहाँले सोही विद्यालयबाट २०२५ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेपछिको परीक्षाहरूमा आफू कहिल्यै दोस्रो नभएको उहाँ बताउनुहुन्थ्यो। उहाँका अनुसार ललितकला क्याम्पसमा छात्रवृत्ति पाएर पढ्दा रसियामा कला विषय पढ्न सरकारी छात्रवृत्ति पनि पाउनुभयो। अन्ततः मास्को स्टेट आर्ट इन्स्टिच्युटमा उहाँले चित्रकलाको अध्ययन गर्ने अवसर पाउनुभयो।
डा. भौकाजीले आफ्नो पूरै जिन्दगी चित्रकलाको उत्थान तथा सम्वर्ध्दनमा बिताउनुभएको उहाँका भाइ साहित्यकार बिमल भौकाजी बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– “कलासिर्जनाका लागि उहाँले विकास गरेको नाप पद्धति युरोपियन शैलीमा विद्यार्थीलाई चित्रकला सिकाउँदै आउनुभएको थियो। द राइजिङ क्रियटर र नेपाल–रसिया भी. आई. सरिकोभ आर्ट क्लबको संयोजनमा २० हजार बालबालिकालाई उहाँले चित्रकला सिकाइ सक्नुभएको थियो। दाइ भन्नुहुन्थ्यो, मैले बनाउने अधिकांश चित्रमा राष्ट्रियताको झल्को हुन्छ। जुनसुकै विषयवस्तु भए पनि मेरो रङ र चित्र संरचनामा राष्ट्रियता झल्किन्छ।”
कलाकार भौकाजीसँगको भेटमा उहाँले भन्नुभएको थियो ’जबसम्म नेपाली स्कूलिङमा कला विद्यार्थी तयार पारिन्न तबसम्म नेपाली कलाको मौलिकता भेटिन्न।’ जाति केन्द्रित गुरुकुल शिक्षाको रुपमा रहँदै आएको कलाले नेपाली कलालाई एक हदसम्मको उच्चतम् विन्दुमा पुर्याएको बताउँदै २० को दशकमा नेपालबाट गुरुकुल शिक्षा हट्दै गएको र नेपाली मौलिकपन हराएको धारणा उहाँको थियो। हरेक समाजसँग कलाको आफ्नै बिम्ब, प्रभाव हुन्छ। विषयवस्तु जे भए पनि रङ र चित्र संयोजनमा राष्ट्रिय पहिचान झल्किन्छ। नेपाली कलाको चारित्रिक विशेषता उज्यालो रङ र त्यसबाट उत्पन्न हुने न्यानोपन हो। त्यसभित्र विभिन्न व्यक्तिका शैली झल्किन सक्छ भन्ने डा. भौकाजीको निर्क्यौल थियो।
उहाँले भन्नुभएको थियो– “नेपाली कलाक्षेत्रमा कैयौँ प्रतिभाशाली कलाकर्मीहरू छन्, जसले स्वाभिमानका साथ सही बाटोबाट कला सिर्जनाको साधना गरे विश्व कला जगत्मा नेपालले खुम्चिएर बस्नुपर्ने अवस्था आउन दिने छैनन्। कला सिर्जनामा स्वपहिचान बिना कसैले पनि आफ्नो मौलिकता स्थापित गर्न सक्ने छैन भन्ने कुरालाई मनन गरेर प्रत्येक नेपाली कलाकर्मीले स्रष्टा बन्ने कोसिस गर्न आवश्यक छ।”
डा. भौकाजीको विचारमा नेपाली कलाको सग्लो पहिचान त्यसबेलामात्र प्रस्तुत हुन सक्छ, जतिबेला कलाकर्मीहरू सिर्जनात्मक कार्य गरेर स्वपहिचान स्थापित गर्ने तर्फ लाग्छन्। नेपाली कलाक्षेत्रको निराशालाग्दो वर्तमान अवस्था कलाकर्मीहरूको स्वार्थले नै विकास गरेको समस्या हो भन्ने उहाँको निष्कर्ष थियो। प्रत्येक कलाकर्मीले निजी स्वार्थ र समकालीनको खुट्टा तान्ने प्रवृत्तिलाई त्यागेर इमान्दारिताका साथ सिर्जनात्मक कार्यमा लाग्ने हो भने नेपाली कलाकर्मीहरू विश्वका कुनै पनि मुलुकको कला स्रष्टाहरूभन्दा कला सिर्जनामा पछि नपर्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो। नेपाली कला र कलाकारको खुट्टा तान्ने प्रवृत्तिको उदाहरणका रुपमा सो घटनालाई उहाँ लिँदै उहाँले भन्नुभएको थियो– “म नेपाललाई माया गर्छु तर नेपालीलाई हैन।”
जलरङ माध्यममा सिर्जित कलाकृतिहरूलाई आफूले त्यतिकै थन्क्याएर राख्नुपरेको तीतो पनि उहाँसँग थियो। स्वदेश र विदेशमा गरी ४५ पटक एकल कलाप्रदर्शनी गरिसकेको बताउँदै “मेरो नेपाल” शृङ्खला मात्र ३ हजार थान बढी रहेको उहाँको दाबी थियो। आफूले सुगम, दुर्गम अनेक ठाउँमा पुगेर स्थलगत रुपमा ३० वर्ष लगाएर ती चित्रहरू बनाएको उहाँ बताउनुहुन्थ्यो।
कलामा महाविद्यावारिधि गर्ने तयारीमा रहेको बताउँदै नेपालमा आफूले सोचे अनुसारको काम गर्न नपाएको तीतो यथार्थ उहाँसँग थियो। सन् १९८८ मा मास्कोबाट कला विज्ञानमा पिएचडी गरेपछि नेपाल फर्किएर नेपाली कलाको उत्थानमा लाग्ने जमर्को गरेको तर कतैबाट सहयोग नपाएको गुनासो उहाँको थियो।
“मेरो नेपाल” चित्रकला यात्राका एक कलासाधक डा. रामकुमार भौकाजी आफूलाई प्राप्त भएको शैक्षिक उपाधि “चित्र–कलाकार” तथा “चित्र–कलाकार विशेषज्ञ” का रुपमा प्रस्तुत गर्न वा चिनाउन चाहनुहुन्थ्यो। उहाँका अनुसार सो उपाधि प्राप्तिका लागि आफूले जीवनभर अथक कलासाधना गरेको उहाँको भनाइ थियो। नेपाली जनजीवन, प्राकृतिक सौन्दर्यका विविध यथार्थ स्वरूपलाई विश्वसामु देखाउने ध्येयबाट प्रेरित भई आफूले नेपालका कैयौँ स्थानहरूको भ्रमण गरी चित्रकला सिर्जना गरेको उहाँ जानकारी दिनुहुन्थ्यो। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट उहाँका कला सम्बन्धी ‘जुद्धकला पाठशाला,’ ‘स्रस्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ नामक पुस्तकहरू हालसालै मात्र प्रकाशित छन्।
उहाँका अनुसार “मेरो नेपाल” विश्वको सबैभन्दा बृहत स्थलगत तयार गरिएका चित्रहरूको शृङ्खला हो। सो शीर्षक चित्रकला शृङ्खला तयार गर्ने क्रममा वि.सं. २०७२ सालमा नेपालमा गएको महाभूकम्पले पुर्याएको दृश्यलाई तत्काल स्थलगत बनाइएका लोकचित्रकला र रेखाचित्रहरू रहेका छन्। यसका साथै उदयपुरका थारु गाउँहरूका कला र संस्कृतिबारे अध्ययन गरी उहाँले कैयौँ स्थलगत चित्र र रेखाचित्र सिर्जना गर्नुभएको पनि यहाँ सम्झना हुन्छ।
यसबाहेक उहाँले पूर्ण लोप हुँदै गएको थारु लोक चित्रकलाको मूल रुपलाई पहिल्याउँदै लोककला अभिलेख तयार पार्नुभएको थियो। उहाँको भनाइमा आफैले थारु लोककलामा आधारित चित्रहरू सिर्जना गरी थारु लोककलाका जीवन्त दस्तावेजको रुपमा सुरक्षित राख्ने महत्वपूर्ण काम गर्न सकिएको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता