समसामयिक नेपाली चित्रकला क्षेत्रमा अत्यधिक चर्चित कलाकार हुनुहुन्छ– किरण मानन्धर। कलाकार किरण मानन्धर विविध शीर्षक र विषयवस्तुमा कूची चलाउनुहुन्छ। त्यस्तै उहाँ निकै द्रूत गतिमा काम गर्नुहुन्छ। स्वतस्फूर्त ढङ्गले रङलेपन तथा तुलिका सञ्चालन गर्ने कलाकर्ममा पनि उहाँ सशक्त हुनुहुन्छ। उहाँको रङको चयन र संयोजन निकै आक्रामक हुने गर्छन्।
कलारचनाको प्रारम्भमा उहाँका क्यानभासहरू आकृतिविहीन जस्ता लाग्छन् तर कामले पूर्णता लिने बेलासम्ममा अनायास तिनमा मानव वा अन्य जैविक आकृतिहरू देखापर्छन्। यो नै कलाकार मानन्धरको शैलीगत विशेषता हो। उहाँले प्रत्यक्ष अवलोकन गरिरहेका दर्शकलाई कति छिटो त्यति सुन्दर चित्र बनाएका होलान् भन्ने खुल्दुली जगाउनुहुन्छ।
यही साउन ८ गतेदेखि उहाँको पछिल्लो एकल कलाप्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा सुरू भएको छ। ‘समर्पण’ नाम दिइएको प्रदर्शनीमा मानन्धरको परिचित शैली र माध्यम उही भए तापनि विषय र प्रस्तुति भने पृथक रहेको छ। यसपालिको प्रदर्शनीमा उहाँले हिन्दू देवीदेवताहरूका आकृतिलाई क्यानभासमा उतार्नुभएको छ। वास्तवमा नेपाली जात्रापर्व, सांस्कृतिक अनुष्ठान तथा हरेक साँझबिहान पुजित पवित्रताका प्रतीक हुन् उहाँले बनाएका देवताहरू। उहाँले तिनमा शक्ति, सौन्दर्य, साधना र सिर्जनाका अजस्र भेल देख्नुभएको छ। तिनैका प्रभाव र प्रेरणाले कलामार्फत साकार स्वरूप वरण गर्न पाएका चित्रहरूमा त्यसको महसुस पनि गर्न सकिन्छ।
कलाकार किरण मानन्धरको जन्म वि.सं. २०१३ सालमा काठमाडौंको नयाँबजारमा भएको हो। उहाँका बुबाआमा पूर्णमान मानन्धर र विष्णुदेवी मानन्धर हुनुहुन्छ। बाल्यकाल सम्झिँदै कलाकार किरण भन्नुहुन्छ– “स्कुलमा पढाइका हिसाबले म कमजोर विद्यार्थी थिएँ। गणित, अङ्ग्रेजी आदिका पाठ बुझाउन नसकेर हातेछडी खानुपथ्र्यो। पढाइमा कमजोर हुनुको एउटै कारण थियो– चित्रकलाप्रति मेरो अभिरूचि। सिसाकलम, चक, गोल आदि जे भेटिन्थे, ती मेरा लागि कलासिर्जनाका सामान हुन्थे। चित्रकलाका क्षेत्रमा लाग्न मलाई परिवारबाट खास प्रेरणा प्राप्त भएन। दिनभरि बालाजुको रानीवन गई चित्र बनाएर बस्थें।”
उहाँ अगाडि भन्नुहुन्छ– “चित्रकला सिक्ने आकाङ्क्षा लिई म कलाकार चन्द्रमानसिंह मास्के कहाँ पुगें। मास्केसँग दुई वर्ष (वि.सं. २०१९–२०) कला अध्ययन गरें। त्यसपछि उहाँले मलाई रामानन्द जोशीको रत्नपार्कमा रहेको ‘इभिनिङ आर्ट क्लास’ मा लिएर जानुभयो। जोशीसँग मैले तीन वर्ष चित्रकला सिकें। चित्रकलाको सिकाइपछि उहाँलाई मैले जुडो सिकाउँथें।”
कलाप्रदर्शनीका क्रममा पेरिस जाँदा सुरूमा केही ग्यालरीले उहाँका कलाकति प्रदर्शनी गर्न अस्वीकार गरेका र पछि प्रतियोगितामा तिनै चित्र पुरस्कृत भएपछि ग्यालरीहरूले प्रदर्शनीका लागि उहाँलाई अनुनय गर्दाको क्षणलाई सम्झिँदै कलाकारले धैर्य गर्नुपर्छ, समय आउँदो रहेछ भन्ने बोध आफूलाई भएको उहाँ बताउनुहुन्छ।
विगत सम्झिँदै कलाकार मानन्धर भन्नुहुन्छ– “वि.सं. २०२७ ताकाको कुरा हो, ‘नेपाल–भारत सांस्कृतिक केन्द्र’ मा भारतका ख्यातिप्राप्त कलाकार रामचन्द्र शुक्लाको कलाप्रदर्शनी भइरहेको थियो। प्रदर्शित चित्रहरू आधुनिक शैलीका थिए। मैले कलाकार शुक्लालाई ‘ती चित्र आफूलाई चित्र जस्ता लागेनन्’ भन्ने प्रतिक्रिया दिएँ। मेरो प्रतिक्रिया सुनेर शुक्ला रिसाउनुभएन। त्यसताका कलाकार बन्ने सपना लिएर नेपाली विद्यार्थीहरू भारतका मुम्बई, बनारस आदि सहरमा अध्ययन गर्न जान्थे। मेरा लागि शुक्लासँगको साक्षात्कार फलदायी साबित भयो। उहाँले मलाई फाराम भर्न लगाउनुभयो र तुरून्त नाम निकालिदिने आश्वासनसमेत दिनुभयो। फलत: केही समयपश्चात् मेरो नाम बनारस हिन्दू विश्वविद्यालयमा निस्किएको सूचना आयो। त्यसताका उक्त विश्वविद्यालयको फाइन आर्टस् फ्याकल्टीका प्रमुख पनि रामचन्द्र शुक्ला नै हुनुहुन्थ्यो। बनारसमा छ वर्ष अध्ययन गरी म स्वदेश फर्कें।”
उहाँले वि.सं. २०३७ सालमा काठमाडौंको जमलमा ‘पल्पसा आर्ट ग्यालरी’ को पनि स्थापना गर्नुभयो। सोही ग्यालरीमा उहाँले उदीयमान युवा कलाकारहरूलाई चित्रकला सिकाउने काम पनि गर्नुभयो। सो ग्यालरी उहाँले निरन्तर दस वर्षसम्म सञ्चालन गर्नुभएको थियो। त्यसपछि स्वयम्भू रिङरोडमा ‘किरणज अटेलिय्’ खोल्नुभएको थियो। उहाँले नेपाल ललितकला संस्था (नाफा) मा पनि कला स्टुडियो लिएर काम गर्नुभयो।
हाल ताहाचलस्थित ककन्चो विनायक मार्गस्थित आफ्नै निवासको स्टुडियोमा कलासिर्जनामा व्यस्त हुनुहुन्छ। कलाकार किरण मानन्धरको पहिलो एकल कलाप्रदर्शनी पार्क ग्यालरी काठमाडौं (वि.सं. २०२९) मा भएको हो। त्यसपछि उहाँले देश र विदेशमा अनेकौं पटक एकल कलाप्रदर्शनी गरिसक्नुभएको छ। उहाँ विभिन्न आर्ट ग्यालरी तथा कलाकार समूहसँग आबद्ध हुनुहुन्छ। अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट उहाँ सम्मानित भइसक्नुभएको छ।
वि.सं. २०६२/६३ को जनआन्दोलनमा कलाकारको अगुवाई गर्दै उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँले ‘नेपाल कलाकार समाज’ का अध्यक्ष र ‘ललितकला लोकतान्त्रिक अभियान’ का संयोजकका जिम्मेवारी पनि बहन गरिसक्नुभएको छ। प्रस्तावित ललितकला प्रज्ञा–प्रतिष्ठानको ‘विधान मस्यौदा निर्माण’ मा पनि उहाँको योगदान रहेको छ। निकै अगाडिदेखि कलाकार किरण मानन्धरले कलासिर्जनाका क्रममा फ्रान्स आवत–जावत गर्दै आउनुभएको छ। विदेशमा गई आफ्नो सिर्जन क्षमता प्रस्तुत गर्ने अवसर पाएका भाग्यमानी कलाकारमध्ये पर्नुहुन्छ– उहाँ। उहाँका अनुसार फ्रान्समा राज्यस्तरबाट नै कलाको विकासका लागि ठूलो लगानी गरिएको हुन्छ। उहाँ भन्नुहुन्छ– “त्यहाँ कुनै जाति, भाषा र राष्ट्रियता हेरिँदैन। कलाकारको एउटै जात र भाषा हुन्छ, र कलाकारको एउटै काम ‘सिर्जना’ हो भन्ने मान्यता त्यहाँ स्थापित छ। त्यसैले पेरिस विश्वकलाकै राजधानी बन्न पुगेको छ।”
कलाप्रदर्शनीका क्रममा पेरिस जाँदा सुरूमा केही ग्यालरीले उहाँका कलाकति प्रदर्शनी गर्न अस्वीकार गरेका र पछि प्रतियोगितामा तिनै चित्र पुरस्कृत भएपछि ग्यालरीहरूले प्रदर्शनीका लागि उहाँलाई अनुनय गर्दाको क्षणलाई सम्झिँदै कलाकारले धैर्य गर्नुपर्छ, समय आउँदो रहेछ भन्ने बोध आफूलाई भएको उहाँ बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ– “मेरो दृष्टिकोणमा वास्तवमा युरोपेलीहरू एसिया क्षेत्रका कलाबाट प्रभावित छन्। यस यथार्थलाई नबुझेर हामीले हामी उनीहरूबाट प्रभावित छौं वा आधुनिक कला हामी कहाँ पश्चिमबाट भित्रिएको हो भन्ने गछौं। वास्तवमा हाम्रा अधिकांश आधुनिक कलाकारका सिर्जनाहरू हाम्रै धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदामा आधारित छन्। कलारचनाका लागि विषयवस्तु खोज्न हामीलाई अन्त जाने आवश्यक्ता छैन। कलामा अमूर्तताको अवधारणा युरोपभन्दा अगाडि एसिया क्षेत्रमा भएको हो भन्ने मेरो ठहर छ। पूर्वीय देशहरूको कला साङ्केतिक एवम् अमूर्त रहेको छ। त्यसैले ती रहस्यमय प्रतीत हुन्छन्। जन्मदेखि मृत्युसम्म गरिने हाम्रा रीतिरिवाज एवम् संस्कारहरू पश्चिमाहरूका लागि अमूर्त नै हुन्। परन्तु हामीले ती परम्परालाई जगेर्ना गर्न सकेनौं, र तिनलाई ढङ्ग पुर्याएर अन्तर्राष्ट्रियकरण पनि गर्न सकेनौं।”
कलाकार किरण मानन्धर अगाडि भन्नुहुन्छ– “मेरो जीवनको एकमात्र ध्येय कलासिर्जना हो। सिर्जनाविना मेरो जीवनको अस्तित्व रहन सक्दैन। चित्रकला मेरा लागि जीवनलाई इमानदारीपूर्वक अभिव्यक्त गर्ने माध्यम रहिआएकाले त्यसको आत्मा आफ्ना रङ तथा रेखाहरूमा रहेको म पाउँछु। साथै त्यसैबाट सन्तुष्टि र आनन्द पनि प्राप्त गर्छु। म काम नगरी बस्न सक्दिनँ।”
वि.सं. २०६५ सालमा कलाकार किरण मानन्धरले सूर्योदयदेखि सूर्योस्तसम्म दिनभरि काठमाडौंको ऐतिहासिक धरहराको टुप्पोमा बसी १२६ मिटर लामो चित्र बनाएर नेपाली कलाजगत्मा कीर्तिमान कायम गर्नुभएको छ। नेपाली कलाकारहरूको लामो आन्दोलन र सङ्घर्षपश्चात् नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापनासँगै कलाकार किरण मानन्धर सो प्रतिष्ठानको प्रथम कुलपति (वि.सं. २०६७–२०७०) जस्तो गरिमामय पदमा नियुक्त हुनुभएको छ।
किरण मानन्धरका केही चित्रहरू
(सबै तस्बिर लेखक स्वयम्।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता