‘चक्रसंवर’ चित्र बौद्ध धर्म मान्नेहरूले तन्त्र विद्या अभ्यासका लागि अति आवश्यक चित्र हो। यसमा बज्रबाराही र संवरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ जसलाई ‘चक्रसंवर’ भनिन्छ। वास्तवमा चक्रसंवरको अर्थ सहनशीलताको मण्डल हो। बज्रबाराही र संवरको संयोजन भएर चक्रसंवर हुन्छ। चक्रसंवरको दर्शन भन्नु ज्ञान र आनन्दको चक्रमा रमाउने प्रयत्न हो। जसले यो चित्र बुझेका छैनन्, उनीहरूले यसलाई यौनसँग जोडेर गलत व्याख्या गर्ने डरले यो लामो समय गुह्य चित्रका रूपमा रह्यो। हुन सक्छ यही सम्भावित भयले यो चित्र गोप्य रहँदै आएको थियो।
यद्यपि समयले फड्को मारिसकेको छ। अझै पनि यस्ता चित्रहरू गोप्य रूपमै राखिराख्ने हो भने ती कला कुनै पनि दिन हराएर, सडेर वा अन्य कुनै पनि किसिमले लोप भएर जाने सम्भावना अवश्य रहन्छ।
ललितपुरको बखुम्बहालस्थित सत्यमोहन जोशी लोकसाहित्य सङ्ग्रहालयमा ‘चक्रसंवर’ पौभाचित्रको अभिलेखन कार्य बितेको छ महिनादेखि निरन्तर भइरहेको छ। जोशीको अन्तिम इच्छानुसार लोक चित्रकारको नेतृत्वमा सो चित्रकला बनिरहेको छ। यो ऐतिहासिक र प्राचीन कलाकृतिले नेपाली कलाको मौलिक पहिचान र पृष्ठभूमिलाई भविष्यमा अझ विस्तार गर्नुका साथै खोजअनुसन्धानमा थप टेवा पुग्ने निश्चित छ। मूर्त, अमूर्त कलासम्पदा संरक्षणको अभियानमा यो अनुकरणीय कामको थालनीसमेत हो।
उक्त सङ्ग्रहालय भवनमा उहाँले सङ्कलन गरेका विभिन्न कालखण्डका मुद्रा, टिकट, किताब उहाँलाई प्रदान गरिएका सम्मानपत्रलगायत सामग्री सजाएर राखिएका छन्। मौलिक नेपाली सामग्री, साहित्य, कला, संस्कृतिको जीवित सङ्ग्रहालय बनाउने उहाँको सपना पूरा हुँदै छ। जोशीका विषयमा अध्ययन, अनुसन्धान गर्नेहरूका लागि सुलभ हुनुका साथै नेपाली साहित्य, कला र संस्कृतिका अध्येताका निम्ति पनि सो सङ्ग्रहालय महत्त्वपूर्ण स्थान हुने छ।
बज्रबाराही र संवरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ जसलाई ‘चक्रसंवर’ भनिन्छ। वास्तवमा चक्रसंवरको अर्थ सहनशीलताको मण्डल हो। बज्रबाराही र संवरको संयोजन भएर चक्रसंवर हुन्छ। चक्रसंवरको दर्शन भन्नु ज्ञान र आनन्दको चक्रमा रमाउने प्रयत्न हो।
लोक चित्रकार भन्नुहुन्छ– “यो कला बौद्ध धर्मावलम्बीहरूको तान्त्रिक अभ्यास मात्र नभई जीवन बाँच्ने यौटा अलग्गै दर्शन पनि हो। साथै यो खुसी र आनन्दको चक्र हो। यति गहन महत्त्व र विशेषता बोकेको कलालाई मानिसले गलत अर्थ र अभिप्रायले बुझ्लान् भनी आजको जमानामा पनि त्यसलाई लुकाएर गोप्य राख्नु हुँदैन। यसरी नदेखाई राख्दा मान्छेले हेर्ने र बुझ्ने अवसर पनि पाउँदैनन्। साथै उनीहरूको धारणा पनि सधैँ पुरानै हुन्छ।”
लोकसाहित्य, संस्कृति, रङ्गमञ्च आदि क्षेत्रमा गहन योगदान दिनुभएका सत्यमोहन जोशी अहिले १०३ वर्ष पुग्नुभएको छ। ‘वाङ्मय शताब्दी पुरुष’ का रूपमा राज्यबाटै सम्मानित उहाँको अनुभवमा चक्रसंवरको दर्शन भनेको हाम्रो समग्र जीवन हो। परम्परागत यस कलामा गहिरो दर्शन र उत्कृष्ट कलाको सुन्दर संयोजन हुन्छ। उहाँका अनुसार यही संयोजन नै वास्तवमा नेपाली कलाको मौलिकपन हो। हाम्रो कलाको मौलिकता र सुन्दरता तथा यसमा सन्निहित जीवन–दर्शनका शाश्वत पक्ष पनि त्यत्तिकै रोचक छ।
जोशी भन्नुहुन्छ– “यो परम्परागत शैलीमा रहेको कला यति रोचक र यति कलात्मक छ कि यसमा रहेका विविध देवदेवीहरूका विषय र तिनका सम्बन्ध अर्को खोजको विषय हुन सक्छ। त्यसै भएर यो कला प्राय: गोप्य नै रहने गरेको छ। यसरी गुह्य भएकाले नै मान्छेले यस कलाका विषयमा खासै थाहा पाएका छैनन्। त्यसैले यो चित्र रहस्यमय रहिआएको छ। अहिलेसम्म सजिलै किसिमले यो कला हेर्ने अवसर छैन। त्यसैले सार्वजनिक रूपमा सबैले सजिलै हेर्ने, बुझ्ने तथा अध्ययन, अनुसन्धान गर्ने सुविधा केही पनि छैन। त्यही भएर अनुसन्धाताका लागि पनि सजिलो होस् भनी मैले मेरो नाममा स्थापना भएको सङ्ग्रहालयमा ‘चक्रसंवर’ कला बनाउने इच्छा राखेको हुँ।”
युनेस्कोको मापदण्ड र स्वीकृतिअनुसार चक्रसंवर पौभा निर्माण भइरहेको बताउँदै वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् जोशी तथा कलाकार लोक चित्रकार यो नेपालको मात्र नभई विश्वकै सम्पदा रहेको बताउनुहुन्छ। आफूले यस किसिमको कलामा काम गर्ने अवसर र जिम्मेवारी पाउनु ठूलो कुरा भएको लोक चित्रकार बताउनुहुन्छ। आफ्नो नेतृत्वमा आफूले सिकाएका चेला कलाकारहरूबाट उक्त ऐतिहासिक काम उहाँले पूरा गर्दै हुनुहुन्छ। उहाँका अनुसार वर्षौंसम्म गोप्य राखिएको यो कलाको महत्व, रहस्य र यसको उपयोगिता आदि अब विस्तारै सबैले थाहा पाउने छन्। २२ फिट चौडाइ र साढे पाँच फिट लम्बाइको यो भित्तेचित्रमा शास्त्रीय मान्यतानुसार पनि मूलत: प्राकृतिक रङ नै प्रयोग गरी बनाइँदै छ। यस कार्यमा संलग्न अन्य कलाकारहरू लक्ष्मी शाक्य, रीना शाक्य, राजन घटुवा, मनिष कायस्थ, रविन महर्जन हुनुहुन्छ।
बौद्धधर्मीहरूले यो चित्र बनाउँदा अभिषेक लिएर मात्र बनाउँछन्। सङ्ग्रहालयमा सो चित्र बनाउनुअघिको पूजाविधि पनि पूरा गरिएको थियो। चित्र पूरा भइसकेपछि पनि यसमा जीवन्यास र पूजा गरिन्छ। यसबाट यस चित्रको महत्त्व झन् बढाउने विश्वास छ। हुन त यो कलालाई बुझ्न र हेर्न बाह्य र भित्री दुई आँखा चाहिन्छ। अर्थात् गहिराइमा पुगेर हेर्दा मात्रै यसको सारभूत तथ्य थाहा हुन्छ। चित्रमा उतारिएका स्वरूपको वर्णन शब्दबाट गर्न सकिँदैन। बौद्ध धर्मको मुख्य दर्शन शून्यता हो। बौद्ध धर्मसँगै जोडिएको यो चित्र पनि शून्यतातर्फ नै उन्मुख भएको हुन्छ।
थप जानकारी दिँदै लोक चित्रकार भन्नुहुन्छ– “यो चित्र शास्त्र अध्ययन गरी नियमभित्र बसेर बनाउनुपर्छ। झट्ट हेर्दा यी चित्रमा रातो रङ बढी देख्न सक्छौं। वास्तवमा यो शैलीको चित्र विभत्स रसमा बनेको हुन्छ। चित्रको पृष्ठभूमिमा हामीले आगो बनाउनुपर्ने थियो। तथापि यसमा सौन्दर्य रस पनि मिश्रित हुने भएकाले आगोको गति र स्वरूपलाई विभिन्न किसिमका बुट्टाहरूमा परिणत गरेर बनाइएको छ। रातो र पहेँलो बढी हुनु नेपाली कलाको विशेषता हो। हामीले पुराना कलाहरू हेर्ने हो भने त्यसमा पनि रातो रङ नै बढी पाउँछौं।”
यस किसिमका परम्परागत चित्र बनाउँदा शास्त्रीय नियममा बसेर बनाउनुपर्छ। कुन देवीदेवताका कतिवटा हात र ती हातमा के के लिएको हुनुपर्छ भन्ने कुराको ज्ञान आवश्यक हुन्छ। साथै ती देवताका कस्ता गरगहना, कुन रङको कस्तो स्वरूप हुनुपर्छ ? तिनका आसन, बाहन तथा बाजा के कस्तो हुनुपर्छ, आदि कुरालाई समेत शास्त्रले नै निर्देशित गरेको हुन्छ। सोही अनुसार कलाकारले आफ्नो शिल्प–दक्षताले जीवन्तता दिनुपर्छ।
यो चित्र कति पुरानो हो भन्न सकिँदैन। जोशीका अनुसार बज्रयान र तन्त्रयान प्रारम्भ हुनुअघि सुरू भएको मानिने अत्यन्त प्राचीन चित्रकला हो। यस कलामा कला, साहित्य, गीत सङ्गीतको संयोजन भएको हुन्छ। अर्थात् चर्या नृत्यको दर्शन र चर्या गीतसमेत यही चक्रसंवर चित्रमा पाइन्छ। त्यसैले पनि यो चित्र पुरानो चित्र हो।
सत्यमोहन जोशी पछिल्लोचोटि अस्पताल भर्ना हुँदा ‘चक्रसंवर’ पौभाकला आफ्नो निवासमा निर्माण गर्ने जीवनको अन्तिम इच्छा उहाँले व्यक्त गर्नुभएको थियो। अन्तत: बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले उहाँको सो इच्छालाई ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएर पूरा गरिदिनुभएको छ। यसमा अन्य संस्था र व्यक्तिहरूको पनि चासो रहेको जोशी बताउनुहुन्छ। नेपालबाटै लोप हुन लागेको चक्रसंवर पौभा (प्राचीन भित्तेचित्र) को संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रारम्भ गरिएको यो अभिलेखन कार्य भावी पुस्ताका साथै देशकै लागि ठूलो प्राप्ति हुने छ।
(तस्बिरहरू लेखक स्वयम्)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता