मधेश पहाड सबैतिर डेंगु, लुम्बिनीमा ३ को मृत्यु, २७०८ मा संक्रमण

चन्द्रकान्त खनाल/रूपन्देही

रूपन्देहीमा पछिल्लो दुई तीन महिनायता डेंगुको संक्रमण महामारीका रूपमा फैलिन थालेको छ। सङ्क्रमितको संख्या बढिरहँदा मृत्यु हुनेको संख्या पनि त्यतिकै सङ्ख्यामा बढिरहेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटाले असोज र कार्तिक महिनासम्म डेंगुको प्रकोप रहने बताउनु भयो।

लुम्बिनीमा साउनयता डेंगु संक्रमणबाट ३ जनाले ज्यान गुमाएको र २ हजार ७ सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य सचिव डा विकास देवकोटाले बताउनु भयो।  उहाँले अझै २ महिना सचेत रहन आग्रह गर्नु भयो ।

अहिले संक्रमणको दर केही घटे पनि डेंगुको प्रकोप रहने भएकाले डेंगु रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु नै हो । मन्त्रालयले महामारी रोग नियन्त्रणको लागि केही रकम विनियोजन गरेको छ र स्वास्थ्य कार्यालयबाट खर्च हुँदै आएको डा. देवकोटाले बताउनु भयो। डा देवकोटाले लुम्बिनीमा डेंगुका बिरामीका लागि उपचार गर्ने अस्पतालमा बेड अभाव नरहेको बताउनुभयो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले प्रदेशमा यो वर्ष अहिलेसम्म २ हजार ७०८ जना डेंगु संक्रमित रहेको बताउनु भयो। दाङमा १ हजार १८०, रूपन्देहीमा ७०० , अर्घाखाँची १३८ , गुल्मीमा २९२, पाल्पामा ९८,  नवलपरासी पश्चिममा ६२, बाँकेमा ४४ , कपिलवस्तुमा ४९ ,बर्दियामा ८६, प्युठानमा ३६, रूकुम पूर्वमा १६,  रोल्पामा ७ , प्यूठानमा ३६  जना सङ्क्रमित रहेको बताउनु भयो।

अहिले दैनिक रुपमा  ४० जना नयाँ  संक्रमित थपिदै गएको र १३ जना प्रदेशका विभिन्न अस्पतालमा उपचार भइरहेको बताउनु भयो। प्रवक्ता पौडेलले पछिल्लो दिनमा सङ्क्रमितको संख्या घट्दै गएको बताउनु भयो ।  उहाँले पाल्पा, दाङ र बर्दियामा एक/एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको वताउनु भयो।

मृत्यु हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका –१ का ख्याहाका ५८ वर्षीय पुरूषको त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका –१४ का ४० वर्षीया महिलाको र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु भएको प्रवक्ता डा पौडेलले बताउनु भयो।

डेंगु संक्रमितसम्बन्धी सरकारले दिएको तथ्याङ्क अधुरो छ किनकी यसमा सरकारी अस्पतालको तथ्याङ्क मात्र समावेश छ । निजी क्लिनिकमा उपचार गर्नेहरूको तथ्याङ्क पाउन नसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलको भनाई छ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले खोज र नष्ट अभियान पालिकाहरूमा चलाएको बताउनु भयो । उनले रूपन्देहीमा ७ सय डेंगुबाट संक्रमित रहेको बताउनु भयो । उहाँका अनुसार बुटबल उपमहानगर, तिलोत्तमा, देबदह, सैनामैना, सिदार्थनगर, तथा अन्य गाउँपालिकामा खोज नष्ट अभियान चलाएको बताउनु भयो। उहाँले बुटबलका केही बढी डेंगु देखिएका ठाउँमा स्प्रेसमेत गरिएको बताउनु भयो। पानी परिरहेकोले लामखुट्टेको वृद्धि हुने मौसम अझैपनि बाँकी रहेको उहाँले बताउनु भयो।

प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारूले डेंगु रोग नियन्त्रणमा सबै नागरिकको दायित्व रहेको बताउँदै उपचारमा औषधीको कमी आउन नदिने बताउनु भयो । डेंगु नियन्त्रणको लागि सामुदायिक स्तरमा नै खोज र नष्ट गर्नेसँगै जनचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो।

चिकित्सक के भन्छन्

लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन चिकित्सक नन्दु पाठकले असार महिनादेखि नै अस्पतालमा संक्रमित आउने गरेको बताउनु भयो। साउन र भदौको दोश्रो साता पछिका दिनमा संक्रमित थपिएको बताउनु भयो। डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो। उहाँले यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो। यसभन्दा बाहेक पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने, राती र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउने– झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने गर्नु पर्ने डा पाठकले बताउनु भयो।

सरकारीमा निःशुल्क परिक्षण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी अस्पताललाई डेँगुको किट उपलब्ध गराउने स्वास्थ्य कार्यलय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले  सरकारी स्वास्थ्य संस्थामा किट सरकारले उपलब्ध गराउने बताउनु भयो । प्रदेशका सबै सरकारी अस्पतालमा यो निशुल्क परिक्षण हुने शाहले बताउनु भयो।  बुटबलमा निजी अस्पताल तथा स्वास्थ्य संस्थाले १५ सय रुपैयाँसम्म डेंगु  परिक्षण गरेको शुल्क लिएको बताईएको छ। भेक्टर कन्ट्रोल निरीक्षक शाहका अनुसार डेंगु परिक्षणको किट किन्न कम्पनी अनुसार मूल्य पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई कसैले उजुरी गरेको छैन तर निजी क्लिनिकले १५ सयदेखि २ हजार सम्म लिएको भन्ने हल्ला छ।”

नेपालमा  सुरुमा २००५ मा प्रारम्भिक केसहरू पत्ता लागेको थियो त्यसपछि २००६ र २०१० मा पनि छिटपुट प्रकोप देखा परेको सरकारको तत्याकमा उल्लेख गरिएको छ।  सुरुमा रिपोर्ट गरिएका धेरैजसो केसहरू छिमेकी देश भारतको यात्रा इतिहास भएका छन्, तर  नेपालमा २०१२मा १८३ जनामा पुष्टि डेंगु पुष्टि भएको सरकारको तथ्याङ्क रहेको छ।

डेंगु ज्वरोका लक्षण

– ज्वरो आउने

– बेस्सरी टाउको दुख्ने

– आँखाको गेडी दुख्ने

– शरीरमा डाबरहरू आउने

– अरुचि हुने

– जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने

– पेट तथा आन्द्रामा गडबडी हुने

केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ।

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link