तस्करीको बाटो यसरी नेपाल भित्रिन्छ माछाः स्वास्थ्यका लागि खतरनाक

अनिल तिवारी

बजारमा यतिखेर उपलब्ध आयातित मध्ये ७० प्रतिशत माछा तस्करी भएर भित्र्याइएको भन्ने तथ्य फेला परेको छ। माछा तस्करी अचानक दिन दुई गुना राती चार गुना बढ्दै गएको तथ्यांकले देखाएको हो। भन्सार प्रक्रिया छलेर भित्र्याइएका माछाको क्वारेन्टाइन पनि नहुने भएकोले राजश्व चुहावटसँगै जनस्वास्थ्यको दृष्टीकोणले पनि यसरी भित्रिने माछा खतरनाक छ।

भारतबाट तस्करी गरी माछा भारी मात्रामा नेपाली बजारमा भित्र्याउने क्रम गत वर्ष भन्दा यो वर्षमा बढेको छ। माछाको आयात बितेको आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतमा झरेको भन्सारको तथ्यांकले देखाएको छ। करिब ७० प्रतिशत माछा अहिले तस्करी मार्फत आउन थालेको हुनाले वैध आयात घटेको आयातकर्ताहरूले बताएका छन्।

आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ६ सय ९३ टन विभिन्न प्रकारका माछा जातिका वस्तु नेपालले आयात गरेको भन्सारको रेकर्ड छ। यसबाट १६ करोड ५७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। तथ्यांक अनुसार गत वर्ष महिनाको औसत १४१.१४ टन माछा बाहिरबाट आयात भएको रहेछ भने यसपालि महिनाको ४२.५१ टन मात्र आयात भएको छ। यसरी चालु आर्थिक वर्षमा माछाको आयात करिब ७० प्रतिशतले ह्वातै घटेको देखिन्छ। यो वर्ष साउन र भदौ २ महिना गरी ८४.०२३ टन विभिन्न प्रकारका माछा जातिका बस्तु आएको छ।

‘माछाको आयात बढ्नुको ठाउँमा घट्नु आश्चर्यजनक छ,’ एक जना माछा आयातकर्ता व्यापारी अजय साह भन्नुहुन्छ, ‘देशभित्रै माछाको उत्पादन बढेर यस्तो भएको होइन, तस्करीको कारण भएको हाम्रो बुझाई छ। वैध तरिकाले माछाको व्यापार गर्ने कारोबारीहरू तस्करीका कारण समस्यामा परेका छन्।’ आयात घटेसँगै माछाबाट आउने राजश्व पनि घटेको छ। भारतबाट अवैध रुपमा आउने माछा रोक्नुपर्ने भन्दै चितवनको भरतपुरमा असोज ६ मा नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समितिले पत्रकार सम्मेलन नै गर्‍यो। ‘फर्मालिन’ भनिने केमिकल हालिएको माछा भारतबाट दैनिक ५० टनभन्दा बढी नेपाल आउने गरेको बताउँदै संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले स्वास्थ्यको लागि घातक र भन्सार छली ल्याउने माछा भित्रिन रोक्न आवश्यक रहेको बताउनुभएको थियो।

क्वारेन्टाइन परीक्षणबिना भित्रिने यस्ता माछा रासायनिक र जैविक रुपमा स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्। बागमती प्रदेशमा प्रहरीले अवैध माछा नियन्त्रणको प्रयास गरेको पनि देखिन्छ। साउनयता ३ हजार ७० किलो माछा बरामद गरी विधि पुर्‍याएर र सरोकारवालाहरूको उपस्थितमा मुचुल्का उठाएर नष्ट गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभएको छ। प्रतीतपत्र (एलसी) मा शतप्रतिशत रकम जम्मा गरेर मात्रै सामान आयात गर्नुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधानले अवैध रुपमा विभिन्न वस्तुहरु भित्रिने क्रममा माछाको पनि तस्करी बढेको हो। चोरी निकासी पैठारी रोक्न सुरक्षा निकाय अपेक्षित रुपमा सफल हुन नसकेको देखिन्छ। बाक्सामा माछा हालेको माछा साइकलमा राखेर सिमापारीका भारतीय बजारहरूबाट सिमावारी ल्याउने गरिएको छ। त्यहाँबाट काठमाडौं सहित नेपालका विभिन्न सहरमा साना तथा मझौला गाडीमा राखेर तस्करीको माछा पुर्‌याउने गरिएको छ। अनुगमन र नियन्त्रण नहुँदा स्वास्थ्यको लागि जोखिमपूर्ण माछा नेपालीहरुको भान्सामा पुगिरहेको छ।

तस्बि‍रः  नेपालतिर साइकल र मोटरसाइकलमा भारतबाट भइरहेको माछा तस्करी। 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
तस्करीको बाटो यसरी नेपाल भित्रिन्छ माछाः स्वास्थ्यका लागि खतरनाक
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link