विद्यार्थीले दिएको लैंगिक हिंसा विरुद्धको शिक्षा प्रभावकारी

चन्द्रकान्त खनाल/रूपन्देही

रूपन्देही सधैँ कक्षाकोठामा शिक्षकले पढाएका कानून र अधिकारका कुरा सुन्ने कक्षा १२ कि सीता भुसालको लागि आईतबारको दिन भने विशेष थियो। यो दिन सीताले आफू पढ्ने भन्दा फरक विद्यालयमा गएर कक्षा ९ का विद्यार्थीलाई लैंगिक हिंसा र मानव अधिकारका विभिन्न पक्षको बारेमा पढाउनुभयो।

कक्षा कोठामा पढेको र अन्यत्र सिकेका कुराहरू आफूभन्दा साना विद्यार्थीलाई सिकाउन पाउँदा फरक अनुभूति भएको र लैंगिक मुद्दामा समुदायमा बोल्न सक्ने हिम्मत आएको उहाँले बताउनु भयो। स्कुले बालबालिकालाई लैंगिक हिंसा र मानव अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गर्नका लागि कालिका मानव ज्ञान मावि बुटवलमा कानून अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थी रूपन्देही र पश्चिम नवलपरासीका ३८ वटा विद्यालयमा पुगेका थिए। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न विद्यालयमा पुगेका विद्यार्थीहरूले आफूले सिकेका र समसामयिक कानूनी कुराहरू विद्यार्थीलाई सिकाएका थिए।

सुनवल नगरपालिका स्थित रमवापुर माविको टोली लिएर जानु भएका कक्षा १२ का विद्यार्थी आशिष पाण्डेले त्यस विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लैंगिक हिंसा र साइबर अपराधको बारेमा सिकाउनु भएको  थियो। आशिषलाई विद्यार्थीहरूले लैंगिक हिंसा भएमा कसरी र कहाँ उजुरी गर्ने ? साइबर अपराध अन्तर्गत कस्ताकस्ता अपराध पर्छन् ? साइबर अपराधबाट कसरी जोगिने भन्ने अनेकौँ प्रश्न गरेका थिए।

रमवापुर मावि सुनवलका प्राधानाध्यापक फनप्रसाद श्रेष्ठले स्कुले विद्यार्थीले अधिकार र कानून नबुझेर हिंसा सहिरहेका र अपराधमा समेत संलग्न भएको पाइएकोले उनीहरूलाई हिंसा, अपराध र अधिकारका कुराहरू बुझाउनु जरुरी रहेको बताउँदै कानून बुझेका विद्यार्थीहरूले स्कुलमा अध्ययन गरिरहेका अन्य विद्यार्थीहरूलाई उक्त कुराहरू प्रभावकारी ढंगले बुझाउन सक्दा रहेछन् भन्ने आफूले महसुस गर्न पाएको बताउनु भयो।

कालिका मानव ज्ञान माविले हरेक वर्ष मानव अधिकार दिवस र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विद्यालय र समुदायमा आधारित कानूनी सचेतना कार्यक्रमहरू गर्दै आएको छ। यसै अन्तर्गत आइतबार कक्षा ११ र १२ मा कानून अध्ययन गर्ने विद्यार्थी एकै समयमा ३८ विद्यालयका ५ हजार बढी स्कुले विद्यार्थीहरूलाई लैंगिक हिँसा र मानव अधिकार, नेपालको कानून तथा संविधान, नागरिक भूमिका र कर्तव्य, लागू औषध दुर्व्यसन सम्बन्धमा प्रशिक्षण दिएका थिए।

कानून पढ्ने विद्यार्थीहरू अन्य विद्यार्थीहरूको तुलनामा मानव अधिकार, कानून र समसामयिक मुद्दामा बढी जानकार हुने भएको र उनीहरूले बालबालिकाकै सिकाइ स्तर अनुसार कुरा बुझाउन सक्ने देखिएका छन्।

विद्यार्थीले सचेतना जगाउन र विद्यार्थीहरूमा नेतृत्व तथा प्रस्तुतीकरण क्षमता विकास गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने भएकोले विद्यालयले विद्यार्थीहरूलाई परिचालन गरेर कानूनी सचेतना कार्यक्रम संचालन गरेको कालिका मानव ज्ञान माविका प्रधानाध्यापक दिनेश थापा बताउनु हुन्छ।

उहाँ भन्नुहुन्छ–‘शहरका तारे होटेलमा अधिकारका बारेमा ठूला–ठूला बहसहरू हुन्छन, तर विद्यालयका बालबालिकालाई उनीहरूकै थलोमा गएर अधिकार र कानूनका कुरा सिकाउने कोही हुँदैनन्।’ कालिकाका कानूनका विद्यार्थीहरूले स्वयंसेवी रुपमा लामो समयदेखि यस्तो काम गर्दै आएको बताउँदै यसले कानून पढ्ने विद्यार्थी र अन्य विद्यालयका विद्यार्थीहरू दुबैलाई फाईदा पुगेको उहाले उल्लेख गर्नु भयो।

कालिका मानव ज्ञान माविले कानूनका विद्यार्थीहरूलाई ७० दिने व्यवहारिक अभ्यास गराउँदै आएको छ। यस अन्तर्गत नमूना संसद, अभ्यास अदालत, स्थानीय सरकारसँग कानूनका विद्यार्थी, प्रहरीसँग विद्यार्थीहरू, सामुदायिक कानूनी सचेतना कार्यक्रम र विद्यार्थीहरूको लागि कानूनी सचेतना जस्ता कार्यक्रम संचालन गर्दै आएको छ।

 कानून समूहतर्फ नेपालमै सर्वोत्कृष्ट नतिजा दिदै आएको कालिका मानव ज्ञान मावि कानून समुहमा २०० विद्यार्थी अध्ययन गरिरहेको बिद्यालय कानुन संकाय संयोजक युवराज कँडेलले बताउनु भयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link