छोराको आसमा कर्णालीमा गैरकानुनी गर्भपतन भयावह

कानुन अनुसार वर्षमा करिब पाँच हजारले सुरक्षित गर्भपतन गर्ने गरेका छन् । 

जितेन्द्र थापा/सुर्खेत

सुर्खेत । कालिकोटकी मनमाया बुढा (परिर्वतित नाम) यहीँ चैत्र २० गते भारतबाट नेपाल फर्किनुभयो  । केही समय अघि मनमाया र उनका श्रीमान् रोजगारीका लागि भारत जानुभएको थियो । तर, उहाँ नेपाल फर्किदा एक्लै हुनुहुन्थ्यो ।
स्वदेश एक्लै फर्कनुमा उहाँको उद्देश्य थियो पेटमा भएको सन्तानको लिङ्ग पहिचान गर्ने । उहाँको सोच थियो छोरा भए सन्तानको जन्मदिने र छोरी भए गर्भपतन गर्ने ।

भारतबाट नेपालगन्ज पुग्नुभएकी बुढाले छोरा वा छोरी भनेर जाँच्नका लागि डाक्टर कहाँ जानुभयो । डाक्टरले जाँच्नका लागि श्रीमान् सँगै हुनुपर्ने बताएपछि उहाँले श्रीमान साथमा नभएको बताउनुभयो । श्रीमानसँगै नभए केही गर्न नमिल्ने भन्दै डाक्टरले उहाँलाई फर्काइदियो । त्यसपछि पेटमा भएको बच्चाको पहिचानको लागि मनमाया सुर्खेत पुग्नुभयो ।

सुर्खेतमा रहेका दिदी भिनाजुलाई नेपालगन्जको सम्पूर्ण घटना सुनाएपछि आफ्नै भिनाजुलाई श्रीमान् बनाएर सुर्खेतस्थित नर्सिङ होममा पुग्नुभयो मनमाया । पहिलो सन्तान छोरी भएकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिनुपर्ने घरपरिवारको चाहना थियो ।

नर्सिङ होममा मनमायाको गर्भ जाँच भयो । गर्भमा छोरी रहेको जानकारी मनमायालाई दिएपछि निराश हुँदै त्यो दिन दिदीभिनाजुको घर फर्किएको मनमायाले बताउनुभयो । अर्को दिन उहाँले गर्भपतन गराउनुभयो । मनमायाले भन्नुभयो – ‘श्रीमान र परिवारलाई छोरी चाहिएको छैन । एक छोरी एक छोरा बनाउने इच्छा घर परिवारको छ । भारतमा चेक गर्न नपाएपछि यसकै लागि नेपाल आएकी हुँ ।’
परिवारको मन्जुरी बिना गर्भपतनका लागि केही आमाहरू यस्ता नर्सिङ होम जान डराउँछन् ।  केही आमाहरू भने छोराकै अभिलाषाले छोरी त्याग्न बाध्य हुन्छन् । केही आमाहरू परिवारको निर्देशन भएको भन्दै चुपचाप छोराको आशामा गर्भपतन गराउन आउने गरेको चिकित्सकहरूको भनाई छ ।

आफ्नो पहिचान दिन नचाहने एक चिकित्सकका अनुसार– ‘कर्णालीका ग्रामीण भेगमा दुई तीनवटा सन्तानकोरुपमा छोरी पाउने आमाहरूको दुःखको कुनै लेखाजोखा हुँदैन, परिवारको निर्देशन नमाने वैवाहिक जीवनसमेत प्रभावित हुनसक्ने खतराले पनि छोराको आशमा चुपचाप गर्भपतन गराउन आमाहरू बाध्य हुने गरेका छन् ।

छोराकै आशमा सात छोरी

छोराकै आशामा छोरीहरू जन्माइदिनुपर्ने अवस्था कर्णालीमा प्रशस्त भेटिन्छ । छोराकै आसमा आठ देखि दश वटा छोरीसम्मलाई जन्मदिनुपरेको घटना कर्णालीमा निकै छ । जसले गर्दा छोरीहरू कुपोषित हुने, जन्मजात अपाङ्ग हुने समस्या हुने गरेको छ ।’

छोरो मोह कतिसम्म छ भने, आठविसकोट नगरपालिका– ७ की एक महिलालाई चौथो छोरी जन्मिएपछि घरपरिवारले दुहुनु भैंसी बेचेर पाँचौं गर्भको लिङ्ग पहिचान गर्न नेपालगञ्ज पुर्याए । छोरी नै देखिएपछि भारतको रुपैडिया लगेर गर्भपतन गराएको उहाँले सुनाउनुभयो  ।

छोरो नजन्माउने आमाले कस्तोसम्म हैरानी खेप्नुपर्छ भन्ने उदाहरण हुन्, दैलेखको ठाटीकाँध गाउँपालिका- २ कि ४५ वर्षीया पानसरा (परिवर्तित नाम)  । लगातार सात वटी छोरीलाई जन्म दिनुभएकी पानसरा र उनका श्रीमानको छोरा पाउने धोको मरेन । छोरी जन्माइ रहिनन् ।  आठौँमा छोरा पाएपछि अहिले यो दम्पतीले अन्य सातवटा छोरीलाई खासै वास्ता नगरेको स्थानीय लालवीर बिक बताउनुहुन्छ ।

पहिले छोरा नपाउँदा छोराकै आसमा सात वटा छोरी जन्माएको लालवीरे भन्नुभयो । छोरा नपाउँदा साँझ बिहान मानसिंहकी श्रीमतीले दुर्व्यवहार सहनुभयो । छोरा पाउने आशमा सात जना छोरी जन्माइसकेपछि अहिले एउटा छोरो भएको छ  ।

माथिका यी दुई घटना प्रतिनिधि घटना मात्र हुन् । कर्णाली क्षेत्रमा छोरालाई जन्मदिन नसकेको भन्दै बहुविवाह गर्ने घटना पनि बढ्दो अवस्थामा छ ।
कर्णालीका दुर्गम ग्रामीण भेगहरूमा छोरा जन्माउन नसके विभिन्न दुर्व्यवहार सहँदै आउनुपर्ने कालिकोट कि जसु ( परिवर्तित नाम) बताउनुहुन्छ । पहिले दुई छोरी जन्माए । तर, पनि गाउँमा छोरालाई जन्मदिन नसकेको भन्दै विभिन्न किसिमका दुर्व्यवहार सहनु परेको थियो । सोही कारण श्रीमानले दोस्रो विवाह गरे । अर्कीबाट अहिले एउटा छोरा भएको छ । ‘छोरा जन्माउन नसक्ने भन्दै अहिले पनि श्रीमानसँग मेरो सम्बन्ध राम्रो छैन’ उहाँले भन्नुभयो  ।

जाजरकोटको नलगाड नगरपालिका– ८ की  ४५ वर्षीया महिलाले पनि छोराको चाहनामा पटकपटक गर्भपतन गराउनुभयो । चार छोरीलाई जन्म दिएपछि उहाँले छोरा जन्माउने चाहनामा लिङ्ग पहिचान गर्नुभयो ।  छोरी भएको थाहा पाएपछि गर्भपतन गराउनुभयो  ।

गाउँमा साहुबाट ऋण काढेर सुर्खेतमा गर्भपतन गराएकी उहाँको झण्डै ज्यान गएन । गर्भपतनपछि अत्यधिक रक्तस्राव हुँदा नेपालगञ्ज लगेर उहाँको उपचार गरियो । उहाँले भन्नुभयो– ‘मेरो श्रीमान एउटै छोरा हुन् । वंश बचाउन छोरा नै चाहिन्छ भन्ने सासूससुराको दबाब थियो । सासूको दबाबमा श्रीमानले पनि छोरा चाहिन्छ भन्नुभयो ।’

लिङ्ग पहिचान गरेर छोरीलाई विभेद गर्ने समाज दोषी रहेको अधिकारकर्मी शाही बताउँनुहुन्छ । उहाँका अनुसार अहिले पनि महिलाले छोरा नजन्माए घरपरिवार र समाजबाट अपहेलित हुनुपर्छ, तिरस्कृत बन्नुपर्छ ।

छोरो मोह कतिसम्म छ भने, आठविसकोट नगरपालिका– ७ की एक महिलालाई चौथो छोरी जन्मिएपछि घरपरिवारले दुहुनु भैंसी बेचेर पाँचौं गर्भको लिङ्ग पहिचान गर्न नेपालगञ्ज पुर्याए । छोरी नै देखिएपछि भारतको रुपैडिया लगेर गर्भपतन गराएको उहाँले सुनाउनुभयो  ।

‘छोरो नभए समाजले विभिन्न आरोप लगाउँछ । वंश जोगाउन पनि छोरो चाहिन्छ भन्छन्, तर यो पटक जँचाउँदा पनि गर्भमा छोरी रहिछ अनि गर्भपतन गराएर आएँ’, उहाँले भन्नुभयो ।

लिङ्ग पहिचान गरेर गर्भपतन गराउनुको मुख्य कारण समाजको सोच रहेको मानवअधिकारकर्मी टीका विष्ट बताउनुहुन्छ  । गर्भमा छोरा वा छोरी भएकै कारण पतन गर्नु गैरकानूनी र असामाजिक कार्य हो’, उहाँले भन्नुभयो, । खासमा अधिकांश आमालाई नै छोराको मोह हुन्छ । पितृसत्तात्मक सोच यतिविघ्न हावी छ कि समाजलाई छोरा नभई भएको छैन । अनि आमाहरू पनि छोरा चाहन्छन् ।’

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ सातासम्मको गर्भपतन पनि गर्न सकिने कानुनी व्यवस्था छ । गर्भपतनले कानुनी मान्यता पाएकै कारण पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्या समाजमा बढ्दै गएको छ ।

कर्णाली प्रदेशमा आर्थिक अवस्था मजबुत हुने महिलाले नेपालगञ्ज र भारतका निजी अस्पतालहरूमा पुगेर लिङ्ग पहिचान गर्ने र गर्भपतन गराउने गर्छन् । भारतको रुपैडिया, नेपालगञ्ज र सुर्खेतका केही निजी अस्पताल र नर्सिङ होमहरूमा लिङ्ग पहिचान र गर्भपतन गराउने गरिन्छ ।

सामान्यतया कर्णालीका मानिसहरू सुर्खेतमा गर्भपतन गराउँदैनन् । तर, नेपालगञ्ज र भारतका विभिन्न निजी अस्पतालहरूमा पुगेर लिङ्ग परीक्षण गरी छोरी भए गर्भपतन गराउने क्रम बढ्दो रहेको कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ललितजंग शाही बताउँनुहुन्छ ।

महिला अधिकारकर्मी पवित्रा शाही यसलाई कहालीलाग्दो अवस्था मान्नुहुन्छ । उहाँका  अनुसार– ‘छोरा नभए सौता बेहोर्नुपर्ने, घरपरिवार र समाजबाट अपहेलित हुनुपर्ने लगायत बाध्यताले कर्णालीका महिलाहरूलाई गर्भपतन गर्न बाध्य पार्ने गरेको छ ।’

यस बाहेक महिला र बच्चाको स्वास्थ्य अवस्था ख्याल गरेर कानुनतः अनुमति प्राप्त सुरक्षित गर्भपतन गराउनेहरूको संख्या पनि यहाँ बढ्दो छ । कर्णालीमा आर्थिक वर्ष २०७६/७७ मा ५ हजार २३५, २०७७/७८ मा ४ हजार ८८८ र २०७८/ ७९ मा ४ हजार ८६० जनाले सुरक्षित गर्भपतन गराएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । सुर्खेतमा सबैभन्दा धेरै गर्भपतन गराउने गरिएको तथ्यांकमा देखिन्छ । 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link