“होटल उद्योग हैन र?”

अनिल तिवारी

होटल व्यवसायीले होटल–व्यवसायलाई उद्योगसरह मान्यता दिनुपर्ने माग राखेका छन् । होटेल तथा पर्यटन व्यवसाय संघ, वीरगन्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतको नेतृत्वमा पुगेको टोलीले उद्योग तथा वाणिज्यमन्त्री रमेश रिजाललाई भेटी ज्ञापनपत्र बुझाउँदै सो माग राखेको हो ।

मन्त्री रिजालकै गृहनगर वीरगन्जबाट आएको टोलीले देशैभरका होटेल तथा पर्यटन व्यवसायीले पछिल्लो एक दशकदेखि विभिन्न आर्थिक समस्या झेल्दै आएको र त्यसको परिणामस्वरूप होटल व्यवसाय धराशायी बन्दै गएको दुखेसो मन्त्री रिजालसमक्ष राखेका थिए ।

मुलुकमा करिब ८० हजारको संख्यामा रहेका होटल तथा पर्यटन व्यवसायलाई  सरकारले उद्योगसरहको मान्यता दिँदै  होटल तथा पर्यटनमा लाग्ने बिजुलीको महसुलदर पनि उद्योगसरह नै लिनुपर्ने उनीहरूको माग थियो ।

२०७२ मा आएको विनाशकारी भूकम्प, त्यसपछि नयाँ संविधान घोषणापश्चात्  तराइ– मधेसको  साढे चार महिने नाकाबन्दीसहित झन्डै ६ महिना चलेको आन्दोलनको नकारात्मक प्रभावले होटल तथा पर्यटन व्यवसायलाई थला परेको ज्ञापनपत्रमा उल्लेख छ ।

यी समस्याबाट उठ्न नपाउँदै कोरोना महामारीको पहिलो र दोस्रो लहरले कतिपय होटेल तथा रेस्टुरेन्ट बन्द भएका, कतिपय ऋणमा डुबेका, होटेलमा रोजगारी संकुचनमा पर्नुका साथै लिजमा जग्गा तथा संरचना लिएर सञ्चालित होटेल भाडा बक्यौतामा डुबेको र होटेल तथा पर्यटन व्यवसाय क्षेत्रले सामना गरिरहँदा तत्कालीन सरकारले सहुलियत र राहतको मलम लगाउने काम नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

होटेल तथा पर्यटन व्यवसाय संघ, वीरगन्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतको नेतृत्वमा पुगेको टोलीलाई मन्त्री रिजालले  छिट्टै  नीतिगत प्रक्रिया र देखा परेका कानुनी अड्चनलाई सच्याएर उद्योगसरह मान्यता दिने आश्वासन दिनुभयो । मन्त्री रिजालले यस क्षेत्रप्रतिको समस्या समाधानका लागि सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link