भारतका सीमा क्षेत्र यसअघि पनि टेकेको थिएँ। ०६१ सालमा सर्लाही क्याम्पस मलङ्वामा शिक्षण गर्दा भारतको सीतामढी जिल्लाको सोनवर्षा बजार घुम्न गएको थिएँ, दुई पटक स्थानीय एक साना व्यापारीसँग। यसपछि विराटनगरबाट साथी मीनकुमार श्रेष्ठ लगायतसँग। यस्तै रौतहटको वैरगनिया पारी साथी सुब्बा कार्कीसँग र भैरहवा बेलहियाबाट सुनौली र धनगढीबाट यसो पारी पट्टी टेकेकोसम्म थिएँ। तर दुई बिसे पार भइसक्दा पनि राहदानी साहदनी पनि नचाहिने भारतको यात्रा चाहिँ गरेको थिइनँ। जाऊ जाऊँ लाग्यालागै तर समय भएर पनि स्रोत जहिले उस्तै। निस्फिक्री समय उपलब्ध थियो तर स्रोत पुगेस् नपुगेस् । तैपनि भारत जाने निधो गरेँ। यसको चाँजोपाँजो मिलाउनु भयो, दुर्गानाथ गौतमले। गौतमसँग दोस्ती जमेको …
