कलासमीक्षा, अनुवाद र अन्वेषण : कला र कलाकारको प्रसिद्धिका लागि

ज्ञानेन्द्र विवश

अरूले गरेको सिर्जनात्मक कर्ममाथिको उत्खनन कार्य समीक्षा हो। त्यस उत्खननमा सबल र दुर्बल पक्षका साथै त्यसमा निहित मौलिक सिर्जनात्मक पक्षको स्वविवेकले गरिने निष्पक्ष मूल्याङ्कन पनि हो। यसबाट एकातिर कलाकारको कामको सही विश्लेषण हुन्छ भने अर्कोतिर समीक्षक स्वयम्को पनि मूल्याङ्कन हुन्छ। सही समीक्षा लेखनले नै कुनै पनि कला र त्यसका सर्जक कलाकारको चर्चा–परिचर्चाले उचाइ–यात्रा वरण गर्छ। यही कारण सामान्य सिर्जनाले पनि विश्व प्रसिद्धि कमाउन सक्छ, सकिरहेको छ। जस्तो कि शताब्दिऔँअघि रचना गरिएका साहित्य तथा कलाको चर्चा र तिनको विषयमा अद्यापि विश्वका धेरै बौद्धिक समुदाय अनभिज्ञ छैनन्। किनभने तिनको समीक्षा, समालोचना यथेष्ट मात्रामा भएका छन्।
त्यसर्थ कुनै पनि सिर्जनाका लागि त्यसको सही समीक्षा वा मूल्याङ्कन भयो भने स्वत: त्यो सिर्जना अमर रहिरहन सक्छ। कलाकारका नाम र तिनका कामले पनि ख्याति आर्जन गर्नुसँगै सधैँ जीवन्तता हासिल गरिरहन सक्छ। त्यसैले कला समीक्षक र कलासमीक्षाको अहम् भूमिकालाई कदापि पनि कमजोर मान्न सकिँदैन। यसैगरी कलासमीक्षाले सल्लाह र सुझाव दिँदै कमीकमजोरी औँल्याउँछ। सुधार्न सहयोग गर्छ। सुध्रिसकेको कलाको विश्लेषण गरी प्रसिद्धिको चुलीमा पुर्‍याउन मदत गर्छ।
हुन त समीक्षा सजिलो र सहज काम होइन। यस्तो काम ‘जस कमाउने’ भन्दा पनि ‘अपजस पाउने’ प्रकृतिको हो। अझ कलासमीक्षा त झन् रुखो विधा हो। यसमा कलाकार स्वयम्को पनि चासो कम हुने हुँदा यसमा लेख्ने समीक्षकहरू पनि कम छन्। कला र कलाकारको जति बढी चर्चा र चिनारी हुन सक्यो त्यति नै बढी कलाको मूल्य वृद्धि हुने गर्छ। ललितकलाका कुनै पनि विधा सामान्यभन्दा पनि अभिजात वर्गका लागि हुन्। तिनले कुन कलाकारका कस्ता काम हुँदै छन् र त्यसको समीक्षा कसरी समीक्षकहरूले गरिरहेका छन् भन्ने कुरा गम्भीरतापूर्वक हेरिरहेका हुन्छन्। अत: सही समीक्षाले सही कलाकारको प्रगतिमा ठूलो सहायता पुग्छ। अनि त्यो कला सीमित परिवेशबाट फराकिलो क्षितिज पार गरी विश्वप्रसिद्ध हुन सक्छ।
कलाकार तथा कलालेखक मदन चित्रकारका अनुसार आज हामी जुन युगमा छौँ र आज जसरी कलालाई परिभाषित गरिन्छ, त्यसको आधार स्रोत नै पाश्चात्य कलाभन्दा फरक पर्दैन। आजका कलाप्रतिको सोच, शैलीगत प्रस्तुति र उदार आयामहरू सबै पाश्चात्य कलाको इतिहासको क्रमले दिएका सिद्धान्त र सिर्जनाका नमुनाहरूमा आधारित छन्। उहाँको अनुभवमा पाश्चात्य कलामा भएको प्रगतिको मुख्य कारण नै अभिलेखनको बलियो परम्परा हो। त्यही अभिलेखनले पाश्चात्य कलाको जग निर्माण भएको छ। वरिष्ठ कलाकार किरण मानन्धर तथा कृष्ण मानन्धरका अनुसार पाश्चात्य मुलुकमा कलामा अनेक प्रयोग, अनेक शैली, अनेक माध्यमका साथै तिनको उचित संरक्षणले पनि अन्तत: प्राचीन कला सुरक्षित रहिआएको छ। फलत: कला र साहित्यको पनि उत्तिकै सम्मान छ।


ललितकलाका कुनै पनि विधा सामान्यभन्दा पनि अभिजात वर्गका लागि हुन्। तिनले कुन कलाकारका कस्ता काम हुँदै छन् र त्यसको समीक्षा कसरी समीक्षकहरूले गरिरहेका छन् भन्ने कुरा गम्भीरतापूर्वक हेरिरहेका हुन्छन्। अत: सही समीक्षाले सही कलाकारको प्रगतिमा ठूलो सहायता पुग्छ। अनि त्यो कला सीमित परिवेशबाट फराकिलो क्षितिज पार गरी विश्वप्रसिद्ध हुन सक्छ।


पाश्चात्य कलाको इतिहासका कलालेखक तथा कलाकार नवीन्द्रमान राजभण्डारी भन्नुहुन्छ– “मानव सभ्यताको इतिहासमा लेखाइ पद्धतिको विकास सर्वप्रथम प्राचीन मध्यपूर्व (करिब ९००–३०० इ.पू.) का मानिसहरूले गरेका थिए। लेखाइको विकाससँगै विभिन्न तथ्य एवम् घटनाहरूको अभिलेख राख्नु र साहित्य रचना गर्न मानव समुदाय सक्षम भएको थियो। चौथो सहस्राब्दी इस्वी संवत् पूर्व मध्यपूर्व एसियामा विकसित सभ्यताका मानिसहरूले अति समुन्नत तथा संगठित सामाजिक व्यवस्था एवम् कलात्मक संस्कृतिको पूर्वाधार निर्माण गरेका थिए।”
राजभण्डारीका अनुसार कलाअन्वेषकहरूको खोजले सन् १८७० को दशकमा पहिलो प्रागैतिहासिक गुफाचित्रहरू पत्ता लागेको थियो। यता हामीकहाँ पनि गुफाचित्रहरू प्रशस्तै थिए। मठमन्दिर, दरबार तथा निजी घरहरूमा अनेक भित्तेचित्रहरू थिए। तर तिनको न संरक्षण गरियो, न समीक्षा लेखियो। यसरी अभिलेखनको कुनै पहलै नभएपछि समयक्रमसँगै ती अमूल्य सम्पदाहरू अतीतकै गर्वमा विलाएर गए। तिनका कृति र कृतिकारको नाम ‘अमर’ रहनुपर्ने हो, तर ‘गुमनाम’ भएर गएका छन्। समयमा कला र कलाकारको विषयमा केही न केही अभिलेख, समीक्षा, संरक्षणको आवश्यक व्यवस्था गर्न सकिएको भए हाम्रा कला, संस्कृति, साहित्यले पनि आज विश्वप्रसिद्धिको अवसर पाउने थियो।
सेक्सपियर र उनका साहित्य अनि पाब्लो पिकासो, माइकेल एञ्जेलो, साल्भाडोर डालीका कलाले पनि ख्याति त्यत्तिकै कमाएको होइन। यिनका कलाकृतिमाथि अनेकौँ समीक्षा, विश्लेषण, व्याख्या, विवेचनाले भरिएका ठेली किताबहरू धेरै छन्। त्यसको पछाडि राज्यको संरक्षण नीति, कलासमीक्षकको कलासमीक्षा जस्ता सुरक्षित अभिलेखन कार्यले पाश्चात्य कलाको समृद्धि शताब्दिऔँदेखि अद्यापि उत्तिकै जीवित छ। तिनका प्रति मानिसको आकर्षण जति छ त्यत्तिकै तिनका बारे लेखिएका दस्तावेजहरू पनि अनेकौँ छन्। स्रष्टा–सर्जकको अवसानको वर्षौँ कालखण्डपश्चात पनि तिनका सिर्जना झन नयाँ, झन चाखलाग्दो र रहस्यमय भएर आएको देख्न सकिन्छ। वरिष्ठ कलाकार दुर्गा बरालका विचारमा तर हामीकहाँ कलाकारको कामको खोजी गरिने परिपाटी नै छैन।
यसैबीच अङ्ग्रेजी भाषामा लिखित दुईवटा महत्वपूर्ण कलाकिताबका लेखक मदन चित्रकार भन्नुहुन्छ– “विश्वकला इतिहासमा १७ औं शताब्दीले महत्वपूर्ण स्थान ओगटेको पाइन्छ। यो शताब्दी युरोपेली कलाइतिहासमा मात्र सीमित रहेको छैन। यसै कालखण्डमा भारतीय उपमहाद्वीपमा मुगल शैली र हाम्रै देश नेपालमा पनि पौभाकला चरम उत्कर्षमा पुगेको थियो।”
यद्यपि भारतमा मुगल शैलीले आफ्नो सिर्जनात्मक गति प्रसिद्धिको शिखरमा पुर्‍याइसकेको छ। तर नेपाली मौलिकताको सुगन्धले ओत्प्रोत पौभाकलाले देशभित्रै पनि परिचयको नाता जोड्न नसकिरहेको अवस्था विद्यमान छ। यसको मुख्य कारण हो राज्यको अनुदार कला नीति। कलाअन्वेषक, कलासमीक्षकहरूप्रति बेवास्ताका कारणले पनि नेपाली भूमिको कलाले सर्वत्र फैलिन सकिरहेको छैन। फलत: कलाकारहरूले जतिसुकै शास्त्रीय मूल्यमान्यता, दक्षता, शिल्पसौन्दर्यले भरिभराउ कलाकर्म गरे तापनि त्यसले अन्तर्राष्ट्रिय ख्याति पाउन र त्यो कला विश्वव्यापी रूपमा लोकप्रिय हुन त्यस कलाको विविध पक्षमाथि समीक्षा हुनु अति आवश्यक छ। हाम्रा पौभाकला र कलाकारहरूको कलात्मक पक्ष र त्यसमा सम्प्रेषित कलाकारी चेतना र चिन्तनको प्रयोग विश्वकला सिर्जनाको हाराहारीमै हुँदै आइरहेका छन्।
हाम्रा प्राचीन मठमन्दिर, दरबार, ढुङ्गेधारा आदिका वास्तुकला तथा तिनमा कुँदिएका अनेकौँ फूलबुट्टा, पशुपक्षीका आकृति तथा देवीदेवता र मानिसका मूर्तिकलामा सन्निहित कलात्मक उचाईका सिर्जनाको लेखन, विश्लेषण आदि कति र कहाँ भएको छ ? यो गम्भीर प्रश्न हो। टुटीफुटी, हराई, चोरी भई बाँकी रहेका जीर्ण सम्पदाहरूमा देखिने कलाकारी शिल्पको परिपक्व पहिचानलाई हामीले कत्ति पनि आत्मसात् गर्न नसक्दा नेपाली कला विश्वव्यापी हुन मुस्किल भएको सत्य हो। अर्को कुरा नेपाली भाषामा लेखिएका सामग्रीका तुलनामा अङ्ग्रेजीमा लेखन वा अनुवाद शून्यप्राय: छ।
यसैबीच नेपाली कलाको अभिलेखन कार्यलाई व्यवस्थित गर्न नारायणबहादुर सिंहले गर्नुभएको प्रयत्न प्रशंसनीय रहेको छ। कतै कहिल्यै चर्चामै नआएका, कसैले नामै नसुनेका, कलाकारहरूका घरदैलो चहार्दै तिनका नाम र कामका बारेमा अलिकति भए पनि चासो राखेर उहाँले चर्चा गरिदिनुभयो, अभिलेख राख्नुभयो। एक दर्जन बढी कलाकिताबका लेखक द्वय रमेश खनाल र मुकेश मल्लको पनि यसमा सहमति छ। उहाँहरूका अनुसार त्यो नेपाली कलाइतिहास लेखन साथै विश्वलाई नेपाली कलाको बारेमा थोरै भए पनि देखाउने आधार भयो।
३० को दशकमा कलासमीक्षक सिंहले आफूले सकेको जेजति समीक्षा, समालोचना, विवेचनाको काम गर्नुभयो त्यो महत्वपूर्ण दस्तावेज बनेर रहेको छ। तर त्यहाँदेखि आज ८० को दशक निकट पुग्दै गर्दा पनि नेपाली कलासमीक्षा, समालोचना वा अभिलेखन तथा अनुवादले गतिशीलताको बाटो समात्न सकिरहेको छैन। हाम्रा कति कलाकारहरू अझै ओझेलमै छन्। तिनको उचित सम्मान छैन। वरिष्ठ कलाकारहरू दुर्गा बराल, विजय थापा, किरण मानन्धर, कृष्ण मानन्धरलगायतको अनुभवमा पनि नेपाली कलाको समीक्षा अझै हुन सकेको छैन। कलासमीक्षकहरूको सङ्ख्यामा पनि वृद्धि हुन सकिरहेको छैन। उहाँहरूका अनुसार कलाकारहरूका कामलाई समाज र राष्ट्रमा चिनाउने काम हुनु अति आवश्यक छ।
(सबै तस्बिर लेखक स्वयम्)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
कलासमीक्षा, अनुवाद र अन्वेषण : कला र कलाकारको प्रसिद्धिका लागि
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link