डाक्टरको लापरबाहीको कारण युवकको हात काटिएको परिवारको आरोप

अनिल तिवारी

डाक्टरको लापरबाहीले एक युवकको हात कटिएको परिवारले आरोप लगाएका छन् । दुर्घटना हुँदा भाँचिएको हात डाक्टरको गलत निर्णयले काट्नु परेको पीडित परिवारको आरोप छ ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने सुदामा साहका  १७ वर्षीय छोरा भोलाकुमार साहको हात काटिएको पीडित परिवारले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका हुन् ।
भारतबाट नेपाल आउने क्रममा रक्सौलमा रिक्सा पल्टिदा भोला कुमारको हात भाँचिएको थियो । दुर्घटना पछि सीमावर्ती सहर रक्सौलको एसआरपिएम मेमोरियल ट्रस्ट सुपर स्पेसियलिटि हस्पिटलमा अपरेसन गरी हातमा स्टिल जडान गरी उपचार भइरहेको थियो ।
सोही क्रममा वीरगन्जमा रहेको आशाराम हस्पिटल छ, त्यहीँबाट उपचार गराउन आउनु भनेर डाक्टर अलोक दासले सुझाव दिएको पीडित परिवारकी सदस्यले पत्रकार सम्मेलनमार्फत घटनाको जानकारी गराएका हुन् । दुर्घटनामा हात भाँचिएकोमा उपचारमा संलग्नता भएका डाक्टर अलोक दासको लापरबाहीका कारण हात काट्नु परेको आमा उषा देवीको आरोप छ । 

उषा देवीको अनुसार– ‘भारतीय अस्पतालबाट डिस्चार्ज गरी आसाराम हस्पिटलमा उपचार गर्ने क्रममा मेरो छोराले अस्पताल र डाक्टरको लापरबाहीले बायाँ हात गुमाउनु परेको हो ।’

छोराको अवस्था बिग्रिँदै गएपछि काठमाडौँ उपत्यकाको बि एन्ड बि अस्पतालमा लगेर उपचार गरेको आमा उषादेवीले बताउनुभयो । हात काटिए पनि छोराको ज्यान भने बचाउन सकिएको परिवार जनको भनाइ छ ।

आसाराम हस्पिटलको लापरबाहीले जवानीमै हात काटिएकोले सम्बन्धित अस्पताल, डाक्टर दासलाई कानुनी कारबाही गर्नुपर्ने माग परिवारजनको रहेको छ ।अस्पतालको लापरबाहीले गर्दा आफूहरू बिचल्लीमा परेकोले आफूहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत पत्रकार सम्मेलनमार्फत परिवारजनेले माग गरेका छन् ।

यो घटना आज मेरो माथि भएको छ, भोलि अरूसँग यस्तै नहोला भन्न सकिन्न त्यसैले लापरबाही गर्ने डाक्टर र अस्पताललाई कानुनी दायरामा ल्याउन पीडित परिवारले सरोकारवाला निकायसँग सम्मेलनमार्फत ध्यानाकर्षण गराएको छ ।

पीडित परिवारले आवश्यक कारबाही लागी जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिए पनि  कुनै सुनुवाइ नभए पछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको गुनासो गरेका छन् ।

पटक पटक छलफल मात्र भयो तर प्रहरीले केही सहयोग नगरेको पीडित परिवारको आरोप छ । घाइते भोलाकुमारको अवस्था अहिले पनि असामान्य रहेको छ । वीरगन्ज देखि काठमाडौँसम्म गरी करिब १३ लाख खर्च भइसकेको परिवारले जनाएको छ । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
डाक्टरको लापरबाहीको कारण युवकको हात काटिएको परिवारको आरोप
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link