तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि ५ वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्कनुभयो। विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उहाँको सोच थियो। सोचअनुरूप उहाँले स्वदेश फर्किएपछि केही गरौं भनेर साथीहरूसँग सल्लाह गर्नुभयो।
यस्तै, शुक्लागण्डकी नगरपालिका–८ का रूपबहादुर गोतामे पनि १ वर्ष कतार र ८ वर्ष दुबईमा काम गर्नुभयो। उहाँ पनि पाँच वर्ष अगाडि नेपाल फर्कनुभयो। नेपालमै केही गरौं भन्ने भावना थियो दुवैमा। पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग पनि सरसल्लाह भयो। शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका अन्य पाँच युवा र स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभस्टक एग्रो प्रालि सञ्चालन गरे। …
